२५ असार २०८२, बुधबार

 

मोदीको जितलाई यसरी हेर्छन् अन्तर्राष्ट्रिय मिडिया

भारतमा भारतीय जनता पार्टीको जितसँगै नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री बन्दै छन् । भारतीय पत्रिकाले उनको जितलाई स्तुतिगानको शैलीमा प्रस्तुत गरिहँदा वासिङ्टन पोस्ट, ग्लोबल टाइम्स, गार्जियनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आलोचनात्मक टिप्पणी गरेका छन् ।

मोदीको बिहीबार हुने शपथ ग्रहण समारोहमा छिमेकी पाकिस्तानका सरकारप्रमुखलाई नबोलाइएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान एकपटक फेरि उनीतिर तानिएको छ ।

वासिङ्टन पोस्ट

अमेरिकी अखबार वासिङ्टन पोस्टले ‘राष्ट्रवादको अपिल गर्दै मोदीले जिते फेरि चुनाव’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ । पोस्टका अनुसार सबैभन्दा ठूलो लोकतान्त्रिक देशमा मोदीको पार्टीले जित हासिल गर्नुको सन्देश हो– भारतीय मतदाताले शक्तिशाली र गौरवान्वित हिन्दु संस्कार र रुझानलाई अनुमोदन गरिदिएका छन् ।

पत्रिकाले लेखेको छ– चिया बेच्ने मोदी ५ वर्षअघि पहिलो पटक प्रधानमन्त्री बनिरहँदा उनलाई जनताले वंशवादको परिवर्तनका लागि मत दिएका थिए । उनीहरूलाई विश्वास थियो, एक अर्बभन्दा धेरै जनसंख्याको देशमा आर्थिक अवस्थामा सुधार हुनेछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ । धनी र गरिबबीचको खाडल कम हुनेछ । त्यही आशा र भरोसामा उनलाई पहिलोपटक मतदाताले मत दिए ।

अर्कातिर राष्ट्रवादको छवि उजागर गर्दै मोदी आकर्षित गर्न सफल रहे । यसपटक उनले आतंकवादविरुद्ध लड्न सक्ने एक मात्र निर्भीक नेताका रूपमा बनाएको छविले काम गर्‍यो । आगामी दिनमा पनि आतंकवादसँग लड्न सक्ने सामथ्र्य राख्नेछन् भन्ने विश्वासमा उनलाई मत दिइयो । पोस्टका अनुसार मोदीको जित धार्मिक राष्ट्रवादको जित हो जहाँ भारतको धर्मनिरपेक्षता आगामी दिन हिन्दू राष्ट्रमा परिणत हुने देखिँदै छ ।

न्युयोर्क टाइम्स

अमेरिकी अखबार न्युयोर्क टाइम्सले मोदीको जितबारे विशेष रिपोर्ट बनाएको छ । ‘भारतका चौकीदार नरेन्द्र मोदीको ऐतिहासिक जित । मोदी स्वयंले निर्वाचन प्रचार क्रममा आफूलाई चौकीदार बताउँदै मत मागिरहे । जबकि पहिलो कार्यकालमा अल्पसंख्यकलाई खुद असुरक्षित महसुस पनि गराए,’ टाइम्सले यसै रिपोर्टमा लेखेको छ ।

मोदीले आफ्नो कार्यकालमा अर्बपतिलाई प्रत्यक्ष फाइदा पुर्‍याए । कमजोर परिवारका सामु आफ्ना कामको बखान मात्र गरिरहे । उनले आर्थिक विकासका बारेमा एकदमै प्रचार गरे । तर देशका बेरोजगार युवालाई रोजगारी दिन असमर्थ रहे । यी सबै विषयका बावजुद मोदीको फेरि सत्तामा पुरागमनको कारण हिन्दु राष्ट्रवाद नै हो । पत्रिकाका अनुसार जितसँगै मोदी विवादित हिन्दु राष्ट्रवाद, गरिबलाई लक्षित गरी लाखौ परिवारलाई शौचालयजस्ता योजना अघि बढाउँदै छन् ।

डन

पाकिस्तानबाट प्रकाशित हुने सबैभन्दा ठूलो अंग्रेजी पत्रिका डनले भारतको निर्वाचनलाई विशेष स्थान दिँदै समाचार लेखको छ । भारतमा यसपटक सबैभन्दा ठूलो मुद्दा राष्ट्रिय सुुरक्षा बन्यो । जनताले यही मुद्दामा आक्रामक भाषण दिने मोदीलाई अजेय जादुगर मानेर विश्वास गरे । बालाकोट एयरस्ट्राइकलाई कोरियोग्राफरका रूपमा प्रस्तुत गरी उनी आफैंलाई स्थापित गर्दै, विभाजित विपक्षीलाई कुल्चँदै आफूतर्फ आकर्षित गर्न सफल रहे ।

डनले मोदीको जितपछि सम्पादकीय पनि लेखेको छ । त्यसमा लेखिएको छ– ठूलाठूला पण्डितका दावा फेल भए । आर्थिक चुनौतीले घेरिएका मोदीको चमक यसपटक कमजोर साबित भइरहेको छ । निश्चित रूपमा यस्तो नतिजा आएको देखिइरहँदा निराश हुनु स्वाभाविक हो । मतदाता आकर्षित गर्न धार्मिक घृणा र सम्प्रदायको राजनीतिबाट कसरी फाइदा उठाउन सकिन्छ भन्ने उदाहरण यो निर्वाचनले पेस गरेको छ । पत्रिकाले सम्पादकीयमा लेखेको छ– मोदीको चुनाव प्रचार मुस्लिम र पाकिस्तानको विरोधमा केन्द्रित थियो । यस्तो प्रचारको सुरुवातमा भारत सरकारले राष्ट्रवादको भावना भड्काउनकै लागि पाकिस्तानभित्र हवाई आक्रमणसमेत गर्‍यो ।

ग्लोबल टाइम्स

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले भाजपाको जितलाई ऐतिहासिक बताउँदै मोदी १९८४ पछि पहिलोपटक कुनै एक दलको निरन्तर बहुमतको सरकार बनाउन सफल भएको जनाएको छ । टाइम्सका अनुसार मोदीको जितले भारतीय अर्थ बजारमा ठूलो उछाल आएको छ किनभने निवेशका क्षेत्रमा उनको सरकारले आर्थिक सुधार गर्दै अवसर पनि सिर्जना गर्नेछ । यो जितसँगै मोदीलाई चुनौती पनि छन् ।

आगामी दिन मोदी सरकारलाई सबैभन्दा ठूलो चुनौती भनेको रोजगारी, कृषि उत्पादन, बैकिंग सेक्टर हुनेछन् । ग्लोबल टाइम्सको बुझाइमा मोदीले सबैलाई समेटेर साथसाथ अघि बढ्ने प्रयास पनि गर्नेछन् । तर एकजुट बनाउन सहज छैन किनकि यसपटकको निर्वाचनमा भारतीय समाज सबैभन्दा बढी विभाजित भएको अवस्था छ । अल्पसंख्यक मुसलमान आफूलाई दोस्रो दर्जाको नागरिक महसुस गर्न बाध्य छन् ।

द गार्डियन

ब्रिटेनको प्रमुख पत्रिका ‘द गार्डियन’ ले भारतीय लोकसभा चुनावबारे लेखेको छ– मोदीको असाधारण लोकप्रियताले भारतको राजनीति अब हिन्दू राष्ट्रवादको नयाँ युगमा प्रवेश गरेको छ । गार्डियनले आफ्नो सम्पादकीयमा समेत नरेन्द्र मोदीको जितप्रति कडा टिप्पणी गरेको छ ।

पत्रिकाका अनुसार ब्रेक्जिट, डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको सफलताको जड स्थानीय नस्लवाद र असमानताको बीज हुन पुगेको छ । ‘द गार्डियन’ले आफ्नो अर्काे एक सम्पादकीयमा समेत भारतको आत्माका लागि मोदीको जित सुखद नभएको जनाएको छ । पत्रिकाले स्पष्ट भनेको छ– दुनियाँ एकातिर छ । यस्तो लोकप्रिय राष्ट्रवादी नेताको आवश्यकता छैन जसले अल्पसंख्यक नागरिकलाई दोस्रो दर्जाको नागरिक मान्दछ ।

अनुवाद : सञ्जय पन्थी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung