१८ बैशाख २०८१, मंगलवार

 

सदनमा शिक्षाका विकृति हटाउन माग

फाइल तस्बिर

शिक्षाका समस्या पहिचान गरेर समयमै उचित समाधान खोज्न सत्तापक्षकै सांसदले आग्रह गरेका छन् । शिक्षामा आमूल परिवर्तन नगरे ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामा मात्रै सीमित हुने उनीहरूले चिन्ता दर्साए ।

शिक्षा तथा प्रविधि मन्त्रालयका बारेमा सदनमा उठेका जिज्ञासाको जवाफ दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल उपस्थित सोमबारको संसद् बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले शिक्षाक्षेत्र विसंगति र विकृतिको थलो बनेकाले नियन्त्रण गर्न ध्यानाकृष्ट गराए ।

विश्वविद्यालयले लिने परीक्षा पदाधिकारीका परिवार सदस्यलाई जागिर खुवाउने अखडा बन्ने गरेको उनले आरोप लगाए । ‘आजै छापामा आएको छ, जम्मा ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्डमेडल वितरण गरिएको छ,’ सापकोटाले भने, ‘बारम्बार भ्रष्टाचार र मूल्यमान्यता स्थापित गर्ने बारेमा बोलिरहेको छु । यो सिस्टमलाई हामी भत्काउन तयार हुन्छौं कि हुँदैनौं ?’

सबै कुरा पैसाले घुमाइरहेको, सर्टिफिकेट किन्न पाइने अवस्था रहेको र भू–माफियादेखि बिचौलियाहरूले कब्जामा लिन सक्ने भन्दै उनले यसको अन्त्यका लागि सिस्टम बसाल्न सचेत हुनुपर्ने सुझाव दिए ।

समाज एवं अरूको सेवा, सुन्दर भविष्यका लागि काम गर्न सक्ने शिक्षाको खाँचो रहेको सापकोटाले बताए । मूल्य, मान्यता स्थापित गर्ने काम शिक्षाकै भएको बताउँदै उनले राजनीतिक, आर्थिक, सामाजिक हिसाबले सुशोभित हुनुपर्ने शिक्षा विकृति र विसंगतिको थलो बनेको दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस्