२ कार्तिक २०८३, आईतवार

 

तीन दिन भारी वर्षाको सम्भावना

केही दिनदेखि निष्क्रिय रहेको मनसुन फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा देशको दक्षिणतिर छ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पनि मनसुनी गतिविधि पुनः सक्रिय हुने देखिएको हो ।

केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबारसम्म तीन दिन देशभर मौसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै मंगलबार पूर्व र मध्यका एक–दुई स्थान र बुधबार पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

पहाडी भू–भागमा पहिरो जान सक्ने, पहाड र चुरे क्षेत्रबाट बहने खोलामा जलसतह बढ्न सक्ने बताइएको छ । यसका साथै हवाई र सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung