२३ आश्विन २०८३, शुक्रबार

 

बाढी पहिरो प्रभाव : ​बागलुङका ४ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बागलुङ । ​नेपाल सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट अपूरणीय धनजनको क्षति पुगेका बागलुङका विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्रु घोषणा गरेको छ।

​बाढीपहिरोले ठूलो क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माण र राहत वितरणलाई तीव्र बनाउने उद्देश्यले सरकारले जिल्लाका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

​घोषणा गरिएका क्षेत्रहरूमा निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ तथा ताराखोला गाउँपालिका रहेका छन्।

​१३ जनाको मानवीय क्षति :
गत असोज ११ गते आएको बाढीपहिरोमा परी बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए। मृत्यु हुनेमा निसीखोला गाउँपालिकाका ५ जना, तमानखोला गाउँपालिकाका ५ जना र ताराखोला गाउँपालिकाका ३ जना रहेका छन्।

​निसीखोलामा सबैभन्दा बढी क्षति :
बाढीपहिरोका कारण सबैभन्दा बढी क्षति निसीखोला गाउँपालिकामा भएको छ। प्रारम्भिक विवरण अनुसार यस पालिकामा मात्रै करिब ३९ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ।

​त्यसैगरी, बाढीले गाउँपालिकाभित्रका विद्युत आयोजना, नहर, पुल, विद्यालय भवन तथा आधारभूत अस्पतालमा समेत ठूलो क्षति पुर्‍याएको छ।

​सरकारले यी क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब प्रभावित क्षेत्रमा पुनरुत्थान, राहत वितरण र भौतिक संरचना पुनर्निर्माणको कामले गति लिने बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung