बागलुङ । अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर बागलुङको ताराखोलामा एक पुरुषको मृत्यु भएको छ ।
ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बिहीबार राति घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेर रोका सुत्ने कोठा पुरिएको थियो । पहिरोका कारण घरमा आंशिक क्षति पुगेको छ ।
पहिरोमा पुरिएका रोकाको शव स्थानीयवासीको सहयोगमा उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ ।
















































































































































































