४ जेष्ठ २०८१, शुक्रबार

 

दिउँसोमा कक्षा संचालन गर्न माग गर्दै विद्यार्थीको ज्ञापनपत्र

बागलुङ जिल्लामा क्रियाशिल विद्यार्थी संगठनले सबै विद्यालय दिउँसोमा संचालन गर्न माग गरेका छन् । उनीहरुले सोमबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै नेपाल सरकारले गरेको निर्णय अनिवार्य पालना गराउन आग्रह गरेका हुन् । पटकपटक पत्राचार गरेर विद्यालयका सबै कक्षा दिउँसोमा संचालन गर्न दिएको निर्देशन पालना नभएपछि नगरपालिकाको ध्यानाकर्षण गराएको समेत विद्यार्थीहरुले बताए ।

अनेरास्ववियुका अध्यक्ष शेखर खड्का, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्मा, नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, धौलागिरी बहुमुखी क्याम्पस स्ववियुका सचिव विष्णुराज पौडेल, अनेरास्ववियु छैठौंका अध्यक्ष दिलीप बुढाथोकी र प्रजातन्त्रिक विद्यार्थी संगठनका अध्यक्ष रमेश भण्डारीले हस्ताक्षर गरेर नगर प्रमुखलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

सबै विद्यार्थीहरुको संयुक्त संघर्ष समितिको बैठकले कक्षा १ देखि १२ सम्मको पढाई दिउँसोमा पढाउने गरी नेपाल सरकारले गरेको निर्णय सबै विद्यालयले अनिवार्य पालना गराउनु पर्ने निष्कर्ष निकालेपछि ज्ञापन पत्र बुझाइएको अनेरास्ववियुका अध्यक्ष झलक खड्काले बताए । उक्त निष्कर्षको आधारमा नगरपालिकालाई पुन ध्यानाकर्षण गराउनु परेको उनीहरुको भनाई छ ।

नगरपालिकाले पटकपटक ध्यानकर्षण गराएर दिउँसोमा कक्षा संचालन गर्न भनेपनि सदरमुकामकै विद्यामन्दिर मावि, कालिका कन्या मावि र केही निजी विद्यालयले अटेर गरिरहेका छन् । जिल्लाका अधिकांश विद्यालयले भने कक्षा दिउँसै संचालन गरिरहेका छन् । बागलुङ नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले गत जेठ १५ गते पत्र लेखेर सबै कक्षा अनिवार्य दिउँसोमा संचालन गर्न निर्देशन दिएका थिए । अटेर भएपछि विद्यामन्दिर माविलाई असार २९ गते पनि दोस्रो पत्र पठाइएको छ ।

नेपाल सरकारले २०७३ सालमै उच्च मावि नरहने निर्णय गरेपछि सबै कक्षा दिउँसोमै संचालन गर्ने तयारी गरेको थियो । धेरैजसो विद्यालयले यो निर्णय पालना गरेपनि नगरेकाहरुले विद्यालयमा कक्षा कोठा नपुगेको दावी गर्दै आएका थिए । दिउँसोमा पढाउने निर्णय पालना नगर्न बिहान पढाएका शिक्षक बढी सक्रिय थिए । बिहान पढाएर दोहोरो तलब भत्ता खाएका विद्यामन्दिर माविका शिक्षकहरुले नेकपाका अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य ईन्द्रलाल सापकोटासहित पदाधिकारीलाई दवाब दिएका थिए ।

विद्यामन्दिर माविका शिक्षकहरुले भने जस्तो भवन अभावले कक्षा संचालनमा कठिनाई नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्