१६ बैशाख २०८१, आईतवार

 

‘नेपालमा हस्तक्षेप गर्न आउन भाजपालाई फुर्सद छैन’

भारतमा भाजपा सरकारको पुनरावृत्तिपछि नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुने सम्भावना कस्तो छ ?

भारतले नेपाललाई असल छिमेकी मान्दै आएको छ । पुरानो अभिव्यक्तिलाई नै सापट लिने हो भने एउटा सानो भाइ भन्ने गरिन्छ । नेपालप्रति सधैं सम्मान छ ।

दुई देशबीच धेरै कुराको समानता छ । संस्कृति, रहन–सहन, रीतिरिवाज, धर्म र पर्व आदिमा एकरूपता पाइन्छ । पारिवारिक सम्बन्ध पनि छ । भन्ने गरिन्छ– नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ ।

सन् २०१४ मा पहिलोपटक बहुमतको सरकार बनाउन भाजपा सफल रह्यो । यसै वर्ष भएको निर्वाचनले ०१४ मा भन्दा प्रचण्ड बहुमत पाएको छ । यही अवसर उपयोग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि मात्र भारतीय संविधानको धारा ३७० खारेज गर्नुभएको छ । त्यसले बल्ल भारत एउटै झन्डा, एउटै निसान र एउटै राष्ट्रियताको देश बन्न पुगेको छ ।

तर नेपाल र भारत सम्बन्धमा सदियौंदेखि रहँदै आएको मित्रताबारे कुनै शंका र सन्देह गर्नुपर्ने अवस्था छैन् । यहाँको सुखदुःखमा हामी छिमेकी सधैं साथमा छौं र रहन्छौं । केही मानिसले भारतले नेपालमा हस्तक्षेप गर्छ भन्ने अफवाह फैलाएको पनि पाएँ ।

तिनीहरूलाई भन्न चाहन्छु, भारतले नेपालप्रतिको सम्मानलाई हस्तक्षेप गर्ने सोच्न पनि सक्दैन । असमझदारीलाई आमने–सामने भएर छलफल र वार्तामार्फत समाधान गर्न सकिन्छ ।

तपाईंको यसपटकको नेपाल भ्रमण कश्मीर प्रकरणमा यहाँका नेतासँग छलफल गर्न त होइन ?
यहाँका केही जिम्मेवार नेतृत्वसँग भेट भएको छ । त्यसबारे पनि केही छलफल भयो । सबै भन्नुपर्छ भन्ने पनि छैन । भारतीय आयुष मन्त्रालयसँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी हुन आएको हुँ । त्यही कार्यक्रममा व्यस्त रहेँ ।

यहाँ को–कोसँग भेट्नुभयो, भन्न मिल्दैन ?
राजनीतिक भेटघाटबारे कहिले जानकारी गराउनुपर्छ, कहिले गोप्य पनि राख्नुपर्छ । छलफल भएको विषयबारे केही तपाईंलाई जानकारी पनि गराएँ । त्यसभन्दा बढी जिकिर नगर्नुस् । किनकि उहाँहरूले गरेको विश्वासलाई मैले अविश्वासमा बदल्न हुँदैन । यत्ति हो, तीन जनासँग भेट भएको छ । उहाँहरू राजनीतिक निर्णय गर्ने लेवलमा नै हुनुहुन्छ ।

नेपालले विकास परियोजनामा थप सहयोगको अपेक्षा राखे भारतको नयाँ सरकार सहयोग गर्न कति तयार रहला ?
देश विकासको कुरा गर्दा भारतमा पनि दुरवस्था नै थियो । जब भाजपा सरकार आयो, त्यसले अवश्य बदलाव ल्याएको छ । त्यसैले जनताले निरन्तर दोस्रोपटक भाजपालाई सत्तामा पु¥याएका छन् । देश विकासका लागि सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यको अवस्थामा ध्यान दिन आवश्यक छ ।

भौतिक संरचनाको विकासले मात्र जनता सुखी रहँदैनन् भन्ने हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले राम्रोसँग बुझ्नुभएको छ । यसबीच मोदीजीले देशका मल्टी नेसनल कम्पनीलाई सुरक्षाको ग्यारेन्टी गर्नुभयो । आर्थिक लगानीको वातावरण तयार गर्नुभयो । त्यसै कारण विदेशी लगानीकर्ता भारतमा लगानी गर्न आएका हुन् ।

त्यस्तै नेपालमा पनि जल, जमिन र जडीबुटीको भण्डार छ । तिनको उपयोग कसरी गर्ने भन्ने आफ्नै योजना बनाउन आवश्यक छ । ती चिजलाई उद्योग, कलकारखाना स्थापना गर्न भारतको आवश्यक पर्छ भने सरकारले औपचारिक प्रस्ताव त गर्नुप¥यो । त्यति बेला अवश्य पनि भारतले सोच्नेछ ।

तर आफ्नो विकासको योजना त बनाउन सक्नुप¥यो नि ! जसरी सामान्य पहिचान पनि नभएको योगलाई भारतले ब्रान्डिङ गर्न सफल रह्यो । मोदीजीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्नुभयो, त्यसलाई संघले स्वीकार पनि गर्‍यो । आज योग भन्नासाथ भारतको नाम आउँछ । भारतमा वार्षिक १० लाख मानिस योगको प्रशिक्षण लिन मात्र आउँछन् । त्यसै गरी लाखौं भारतीय योगप्रशिक्षकका रूपमा विदेश जाने गरेका छन् ।

नेचुरोपेथीलाई पनि भारतले विकास गरिरहेको छ । भौतिक विकास मात्र ठूलो होइन । सम्पदा र परम्पराको विकास गरेर अन्तर्राष्ट्रिय जगत्मा आफ्नो पहिचान कायम गर्न सक्नु पनि विकास हो । त्यसैले नेपालले त्यस्ता क्षेत्रमा पनि काम गर्न आवश्यक छ ।

भाजपा सरकारले विकासको नयाँ मोडलमा परम्परा र संस्कृतिलाई पनि ब्रान्डिङ गर्न खोजेको हो ?
अन्तर्राष्ट्रिय दिवस बनाएको छ । नेचुरोपेथी दिवस आन्तरिक रूपमा मनाउन सुरु गरेको छ । पर्यटकहरू कुनै पनि देशको इतिहास र मौलिकतालाई बुझ्न र स्पर्श गर्न आउँछन् । तर भारत आउनेहरूले परम्परागत ज्ञान र संस्कृतिलाई पनि बुझ्न सकून् भन्ने हो ।

त्यसका लागि आयुष (स्वास्थ्य) मन्त्रालयले १२ हजारभन्दा धेरै वेलनेस सेन्टर सञ्चालन गर्दै छ जहाँ देशका धेरैभन्दा धेरै युवा–युवतीले रोजगारी पाउन सकून् । स्वास्थ्यसेवाको अवस्थामा सुधार आओस् । योग, नेचुरोपेथी, मसाज, आयुर्वेद, जलनेति, प्राकृतिक चिकित्सा आदिलाई प्याकेज बनाएर उपयोग गर्ने तयारी भइरहेको छ । यस्तो सेवा विश्वका कुनै पनि देशमा छैन । यी सबै भारतका मौलिक पद्धति हुन् । जुन राष्ट्रको संस्कृति मजबुत रहन्छ, त्यहाँको राष्ट्रियता बलियो रहन्छ ।

नेपालले सन् २०२० लाई पर्यटनवर्ष मनाउन गइरहेको छ । यसलाई सफल बनाउन भारत सरकारले कस्तो सहयोग गर्न सक्छ ?
सबैभन्दा पहिला त नेपालको पर्यटनवर्षका लागि शुभकामना ! नेपाल अन्तर्राष्ट्रिय पर्यटनका लागि आफैंमा आकर्षणको केन्द्र हो । यहाँका प्राकृतिक दृश्य, हिमशृंखला, हिमतालसहित मौलिक संस्कृतिको आफ्नै महत्त्व छ । ती सबै अवलोकन गर्न भारतीय नागरिकसमेत आउने गरेका छन् ।

साथै नेपाल र भारत मात्र हिन्दू देश भएकाले भारतीय भक्तजन नेपालका मन्दिर र दर्शनीय स्थल पशुपतिनाथ, मुक्तिनाथ दर्शन गर्न आउँछन् । त्यसका अतिरिक्त विदेशबाट आउने पर्यटकका लागि नेपालको आतिथ्य आफैंमा प्रशंसनीय छ ।

यस्तोमा भारत आउने पर्यटकलाई नेपालबारे अवगत गराएर यहाँको पर्यटनलाई सफल बनाउन सरकार टु सरकार छलफल गर्न सकिन्छ । एकअर्का देशमा आउने पर्यटकलाई दुवै देशका बारेमा जानकारी गराएर उनीहरूको बसाइ अवधि लम्बाउन सकिए दुवै देशका लागि फाइदा हुने कुरामा आपत्ति प्रकट गर्नुपर्छजस्तो लाग्दैन ।

पर्यटनवर्ष घोषणा गर्दा दुवै देशका सरकारले छलफल बढाउन सकेको भए अझै फाइदा हुने थियो । किनकि भारतमा पनि पर्यटन उद्योगलाई महत्त्व दिएर सिक्किम, गोवा, द्वीप, दामनजस्ता स्थानको प्रचारप्रसार हुने सम्भावना रहन्थ्यो ।

नागरिक स्तरमा सम्बन्ध रहेकाले अझै पनि सहकार्य गरेर नेपालको पर्यटनवर्ष सफल बनाउन हामीलाई कुनै आपत्ति छैन । अझ नेपाल र भारत उदार प्रजातन्त्रमा विश्वास राख्ने देश भएकाले विदेशी पर्यटक आउँदा आपत्ति मान्नुपर्ने कुनै कारण नै छैन ।

नेपाल आफैंमा सानो देश हो । यहाँको भौगोलिक अवस्थाका कारण पनि विकासले गति लिन सकिरहेको छैन । यस्तोमा भारतले के सहयोग गर्न सक्छ ?
सबैभन्दा पहिले त नेपालीले नेपाल सानो देश हो भन्ने बुझाइ हटाउन आवश्यक छ । त्यसअतिरिक्त नेपालको विकास नेपाली आफैंले गर्ने हो ।

छिमेकी वा विदेशीले मार्ग मात्र देखाइदिने, सानोतिनो सहयोग उपलब्ध गराइदिने हो । विदेशीले ठूलो सहयोग गरिदियो भने देशको आर्थिक अस्तित्वमाथि संकट पैदा पनि हुन सक्छ । त्यसबारे नेपाल र नेपाली नागरिक आफैं सचेत रहन आवश्यक छ ।

अर्को कुरा, नेपालभन्दा साना देश पनि विश्वमा छन् । ती देशमा पनि विकास र समृद्धि भएको छ । नजिकै रहेको सिंगापुर त्यसको एउटा उदाहरण हो । त्यसैले देश विकासका लागि नेपालीले आफैंमा रहेको सम्भावनाको खोजी गर्न सक्नुपर्छ । नेपालको मौलिक कलासंस्कृति आफैंमा समृद्ध छ ।

यहाँका उत्पादनको आफ्नै बजार छ । यहाँका घरेलु सामग्री, कपडा विदेशीले मन पराएको मैले पाएको छु । कतिपय विदेशी भारतका सहरमा पुग्दा नेपालका विभिन्न हिमशृंखला अंकित कपडा, झोला लिएको देख्छु । त्यति बेला व्यक्तिगत रूपमा खुसी पनि हुन्छु ।

यहाँ योग, नेचुरोपेथी सेन्टर सञ्चालन गरेर मेडिकल पर्यटन बढाउन सकिने ठूलो सम्भावना छ । त्यसैले नेपालले आफैंलाई कमजोर सम्झिनुपर्ने आवश्यकता छैन । दीर्घकालिन योजना बनाएर काम गर्न आवश्यक छ । जसरी भारतमा आयुष मन्त्रालयले काम गरिरहेको छ, उक्त योजना अध्ययन गरेर नेपालले पनि अपनाउन सक्छ । देशको मौलिक संस्कृति संरक्षण गरेर रोजगारी अवसर सिर्जना गरे मात्र देश विकास हुन्छ भन्ने यहाँको सरकारलाई सुझाव पनि छ ।

नेपाली उत्पादनको बजार बढाउन भारत सरकारले सघाउन सक्छ ?
हर्बल गार्डेन, मेडिकल टुरिज्म, अर्गानिक खेती मात्र गर्न सक्ने हो भने यहाँको सम्भावना धेरै छ । त्यसका लागि हामी छिमेकी भएको नाताले के सहयोग गर्नुपर्छ, तयार छौं ।

यहाँका सरकारी अधिकारीले यस सम्भावनाबारे कहिल्यै योजना बनाएर द्विपक्षीय सहायताका लागि छलफल चलाएको मैले पाएको छैन । त्यस्तो योजना बनाएर नेपालले सहयोग चाहन्छ भने भारत सरकारलाई म आफैं नेपाल सरकारको योजनामा सघाउन लबिइङ गर्नेछु । अर्काे कुरा, नेपालमा जति अर्गानिक उत्पादन छ, तुलनात्मक रूपमा भारतमा त्यो कम छ ।

यहाँका अधिकांश पहाडी गाउँबस्तीमा उब्जने अन्न होस् वा जडीबुटी, पूर्ण अर्गानिक छन् । ती वस्तुको आयात भारतमै गर्न सकिन्छ । भारतमा त वार्षिक करोडौं टन रासायनिक मल खपत गरेर उब्जाउ गरिएको उत्पादन उपलब्ध छ । त्यसले रोग मात्र निम्त्याइरहेको अवस्था छ ।

पञ्जाब राज्य कृषि उत्पादनका लागि अग्रणी रहे पनि रासायनिक मलखाद प्रयोग गर्दा ख्याल नगरिएकाले आज सबैभन्दा धेरै क्यान्सर पेसेन्ट भएको राज्य भएको छ । त्यसैले नेपालले जनताको स्वास्थ्यलाई ध्यान दिएर आफ्नो पैत्रिक वस्तुको उत्पादनलाई संरक्षण गर्दै बजारीकरण गर्न सक्छ ।

सरकारले आम्दानी मात्र नभएर जनताको जीवनशैली र स्वास्थ्यलाई पनि ध्यान दिन सक्नुपर्छ । भारतमा आयुष मन्त्रालयले अहिले ती सबै पक्षलाई ध्यान दिएर विकासको स्वरूपमा परिवर्तनबारे छलफलसहितको परियोजना सञ्चालन गरिरहेको छ । पार्टीका तर्फबाट उक्त मन्त्रालयको निरीक्षण, अनुगमन र मूल्यांकनको जिम्मेवारी मैले नै सम्हालिरहेको छु ।

नेपालको नजिकको बजार भारत नै हो । तर त्यहाँ नेपाली श्रमलाई सस्तो मूल्य कायम गरिएको र उत्पादनलाई नियन्त्रण गरेर दुःख दिने गरिएको नेपाली अधिकारीहरूको गुनासो सुनिन्छ नि ?
मलाई लाग्दैन, भारतले नेपाली मजदुरको श्रमशोषण गर्छ वा कम ज्यालादारीमा कज्याउँछ । किनभने भारत आफैं रोजगारीको समस्या भएको देश हो । वार्षिक ५० लाख जनशक्ति श्रमबजारमा आउँछन् । अवसरका लागि खाडी, मलेसियासम्म पुग्ने गरेका छन् ।

अमेरिकामा मात्र वार्षिक १ लाखभन्दा धेरै भारतीय प्रवेश गर्ने गरेका छन् । अमेरिकामा अहिले पनि ६० लाखभन्दा धेरै भारतीय मूलका अमेरिकी रहेको तथ्यांक छ ।

त्यसैले हामीले नेपालीको श्रमशोषण वा सस्तो ज्यालामा काम लगायौं भने त्यसको प्रतिक्रियामा अन्तर्राष्ट्रिय बजारमा भारतीयलाई त्यसरी नै अवमूल्यन हुने सम्भावना रहन्छ । अहिले सूचना प्रविधिको युग हो । रह्यो, नेपाली उत्पादनको भारतीय बजारमा रोक वा बाधाको कुरा ।

मलाई त्यस्तो लाग्दैन । किनकि नेपालको टमाटर दिल्लीमा बिक्री हुने गरेको समाचार मैले यहीँ पढेको हुँ । अदुवा, चिया, अलैंची नेपालबाट भारतमा पर्याप्त मात्रामा निकासी हुने गरेको छ । समस्या छन् भने सरकारसँग कुरा गरेर समाधान गर्न सकिन्छ ।

समस्या कहाँ के हो, संयन्त्रमार्फत जानकारी त गराउन सक्नुप¥यो । दिल्लीमा नेपालको दूतावास पनि छ । काठमाडौंमा भारतीय दूतावास छ । यी संयन्त्र आखिर किन राखिएका हुन् त ? अझै हामी राजनीतिक नेतृत्वको व्यक्तिगत रूपमा एकअर्काे देशका नेतृत्वसँग पनि सम्बन्ध छ ।

अझै पनि त्यस्ता समस्या छन् भने समाधानका लागि आफ्नो तबरबाट आफ्नो देशमा पुगेर उठाउनेछु । हामीलाई पशुपतिको दर्शन प्रिय हुने, त्यहाँको उत्पादन अप्रिय किन भनेर । यो सम्बन्धलाई नागरिक स्तरमा सुविधा दिए मात्र प्रगाढता छाउँछ भन्नेमा भाजपा सरकार सचेत छ ।

नोटबन्दीपछि नेपालको केन्द्रीय बैंकमा रहेको करोडौं भारु भारत सरकारले सटही नगरिदिएको नमिठो अनुभव नेपालीसँग छ । त्यसलाई यहाँहरूको नयाँ सरकारले सम्बोधन गर्ने सम्भावना कस्तो छ ?

त्यसबारे म अवगत छैन । किन सटही नगरेको भन्नेबारे मैले बुझ्नै पर्छ । नेपाल सरकार र नेपाली जनता हाम्रो निर्णयको मारमा परेका छन् भने त्यसको क्षतिपूर्ति हुनुपर्छ । त्यसका लागि नेपाल सरकारले प्रक्रियागत तबरबाट जानकारी गराओस्, त्यसका लागि म भारतका प्रधानमन्त्रीलाई जानकारी गराउन तयार छु ।

भारतका पुराना पैसा नेपालको बैंकमा थुप्रिएका छन् भने सटही हुनपर्छ । मैले व्यक्तिगत तबरमा पार्टी र सरकारको बैठकमा यसबारे जानकारी गराउनेछु । मलाई नेपालका बारेमा यति जानकारी छ कि यहाँ भारतीय उत्पादनको बजार छ । पैसाको आदानप्रदान भइरहन्छ ।

त्यसैले हाम्रो देशको पैसा यहाँ नचल्ने अवस्थामा भण्डारण हुनुहुँदैन । बरु दिल्लीस्थित नेपाली दूतावासले पनि यसबारे अझै स्पष्ट रूपमा मलाई दिल्लीमै जानकारी गराओस् भन्ने चाहन्छु । ताकि मैले आफ्नो देशका प्रधानमन्त्री र अर्थमन्त्रीसँग समस्याबारे जानकारी गराउन सकूँ ।

बेलाबखत दुई देशका सरकारबीच राजनीतिक असमझदारी बढ्दा त्यसको असर नागरिक स्तरसम्मै पनि आएको देखिन्छ नि ?
भयो, मैले तपाईंले भन्न खोजेको बुझेँ । अन्य अर्थ नलागोस् । मेरो एउटा आग्रह छ, पशुपतिनाथले यहाँका केही नेतालाई सद्बुद्धि प्रदान गरून् । हामी स्वयं बेलाबखत पशुपति दर्शन गर्दा सद्बुद्धिको आशीर्वाद माग्छौं । देशको आवश्यकता बिर्सिएर अरूको स्वार्थमा परिचालित हुने यहाँका केही नेताको गुण छ ।

त्यसैले समस्या नागरिक स्तरमा होइन, राजनीतिक नेतृत्व स्तरमा छ । अझै यहाँ त अहिले भारतलाई गाली गरेर नेता बन्नुपर्छ भन्ने संस्कार विकास भएको छ । वास्तविकता मनन गर्न सक्ने हो भने त्यो पनि त्यति ठूलो समस्या होजस्तो लाग्दैन ।

कमीकमजोरी भारतका तर्फबाट पनि भए होलान्, नेपालका तर्फबाट पनि भए होलान् । विगतलाई पाठ मानेर अगाडि बढ्न सक्नु आजको आवश्यकता भन्छु । हाम्रा प्रम मोदीले ‘सबका साथ, सबका विकास’ भन्ने गरेको भाषालाई आत्मसात् गरेर अगाडि बढौं भन्न चाहन्छु ।

भारतमा भाजपा दोहोरिएर सरकारमा आएपछि नेपालको संविधानमा लेखिएको धर्मनिरपेक्ष हटाउन दबाब दिई आफूले मान्ने गरेको हिन्दू दर्शन वा हिन्दू देश बनाउन चाहन्छ भन्ने आशंका छ नि ?

यो धर्मको विषय हो, राजनीतिको विषय होइन । त्यसैले नेपाली जनताको आस्था र विश्वाससँग कसैले खेलबाड गर्छ भने पशुपतिनाथले पक्कै पनि संरक्षण गर्नेछैनन् । नेपालको आन्तरिक विषयमा किन अरूलाई बढी चासो भइरहेको छ, त्यसमा बरु हामीलाई आश्चर्य हुने गरेको छ ।

त्यसबारे यति भन्न चाहन्छु, भारत ७० वर्षदेखि लोकतान्त्रिक अभ्यास गरिरहेको देश हो । लोकतन्त्र लोकमतका आधारमा चल्छ । नेपालको लोकमतको भावनालाई भारतको सरकारले कसरी दबाब दिन सक्छ ? दोस्रो संविधानमा के लेखियो भन्ने हाम्रो चासो होइन ।

नेपालको राष्ट्रिय पशु अहिले पनि गाई छ । त्यसलाई काट्न यहाँको संविधानले वर्जित गरेको छ । यहाँका मन्दिर, गुम्बा र धर्मशालामा पौराणिक मूल्य र मान्यता छन्, तिनको संरक्षण हुँदा यहाँका जनताको आस्थाको संरक्षण हुन्छ । त्यसैले अहिले पनि नेपालका बहुसंख्यक जनताको आस्था, धर्म हिन्दू हो भन्नेबारे हामी अवगत छौं । अझै भारतमा हामी अंग्रेजी संवत् चलाउन बाध्य छौं, नेपालमा विक्रम संवत् जारी छ । आखिर विक्रम संवत् चलाउने राजा विक्रमादित्य थिए ।

त्यस्तो अवस्थामा हामीले किन यहाँको सरकारलाई दबाब दिन्छौं ? मैले अघि नै भनेँ, केही नेतालाई भारतको डर देखाएर आफ्नो राजनीति बचाइराख्नु छ । त्यसैले यस्ता अफवाह हुने गरेका छन् । धर्मनिरपेक्ष देश हुँदैमा भारतका हिन्दू खेदिएका छन् ?

भारतमा के विकास भएको छैन ? त्यसैले ती सबै आशंका सम्बन्धमा दरार ल्याउन रचिएका अफवाह मात्र हुन् । नेपालमा सनातन संस्कृति थियो र भोलि पनि रहन्छ भन्ने हामीले विश्वास छ ।

त्यसबारे जनता जानकार पनि छन् । किनकि मोदी जनकपुर आउँदा होस् वा काठमाडौं आउँदा, दर्शनका लागि लाम लाग्ने गरेको हामीले देख्ने गरेका छौं । किन त, नेपालका मठमन्दिरमा मोदीको आस्था छ । त्यसैले यहाँका जनतालाई उहाँको दर्शनका लागि स्वस्फूर्त रूपमा सडकमा आउने गरेको देखेका छौं । त्यस्तो अवस्थामा किन दबाब दिनु ?

उत्तर प्रदेशमा तपाईंकै पार्टीका मुख्यमन्त्री योगी आदित्यनाथ बेलाबखत नेपाल हिन्दू देश हुनुपर्ने अभिव्यक्ति दिनुहुन्छ । कतिपय मञ्चमा यसलाई भारतको केन्द्र सरकारकै धारणा भनी चर्चा हुने गरेको छ नि ?
मैले पटक–पटक स्पष्ट पारिसकेको छु । यहाँका जनताको लोकमत र निर्णयबारे हामीलाई नमुछ्नुस । अर्काे कुरा, भारत नेपालभन्दा २२ गुणा ठूलो छ । जनसंख्या त झन् ४० गुणा धेरै छ । त्यहाँका जनताको भावनाको कदर गर्ने कि यहाँको राजनीतिमा अलमलिने ? त्यो फुर्सद हामीलाई छैन ।

किनकि पहिलोपटक बहुमतको सरकारको नेतृत्व गरेका हाम्रा प्रधानमन्त्रीले त्यस काललाई आधारवर्ष मानी दोस्रो कार्यकालमा परिणाम दिने भनेर मत माग्नुभएको हो । त्यो परिणाम भनेको भारतको विकास हो । विकासका योजना बृहत् छन् । अघिल्लो कार्यकालमा सुरु भएको स्वच्छ भारत अभियान आगामी अक्टोबर २ मा सम्पन्न गरिँदै छ । त्यस अवधिमा ११ करोड त शौचालय मात्र बनाइएको अवस्था छ ।

नागरिकसँग प्रतिबद्धता गरेको वाचा पूरा गर्ने वा हामी यहाँको राजनीतिमा अनावश्यक चासोमा अलमलिएर बस्ने ? यस अवधिमा आयुष मन्त्रालयबाट १२ हजार वेलनेस सेन्टर स्थापना गर्ने प्रधानमन्त्रीको योजना छ । त्यसको जिम्मेवारी पार्टीका तर्फबाट मलाई छ । म यहाँको राजनीतिमा अलमलिने वा त्यहाँको काम गर्न खटिने ?

अर्को कुरा योगीजीले कुन अर्थ वा प्रसंगमा भन्नुभयो, उहाँको व्यक्तिगत प्रसंगलाई महत्त्व दिन चाहन्नँ । योगीजीको प्रदेशको अवस्था पनि विकास र सुरक्षाका हिसाबले संवेदनशील छ । त्यहाँको जिम्मेवारी र संवेदनशीलता बिर्सिएर नेपालको संविधान परिवर्तन गर भन्ने दबाब दिन यहाँ आउनुहुन्छ भन्ने लाग्दैन । वैचारिक प्रसंग र आस्था सार्वजनिक गर्नु उहाँको अधिकार हो तर नेपालका बारेमा निर्णय गर्ने आखिर नेपाली जनताले नै हो । त्यसैले नेपाली जनताको आस्थामा हाम्रो कुनै हस्तक्षेप रहँदैन ।

नेपाल आफैंमा सनातन संस्कृति रहेको देश हो । यहाँ कसैले प्रलोभनमा पारेर त्यसलाई उबडखाबड गर्छन् भने साझा संस्कृति भएको हिसाबले त्यसलाई नजिकमा रहेका योगीजीले सहन नगर्न पाउनुहुन्छ । नेपालको सरकारले अमेरिका वा युरोपको धर्म–संस्कृति अपनाउछौं भनेर निर्णय नै गर्छ भने पनि हाम्रो आपत्ति छैन । तर नागरिकहरूले त्यहाँ पुगेर गुहार माग्न नपरोस् ।

नागरिकले गुहार माग्दा, त्यसबारे साझा संस्कृतिको पक्षपाती भएका नाताले दिन्छु भन्दा आपत्ति मान्नुपर्छ भन्ने लाग्दैन । किनकि राजनीतिक परिवर्तनका लागि त्यहाँको सहयोग स्वीकार्य हुने सांस्कृतिक संरक्षणका लागि सहयोग दिन्छौं भन्दा आशंका गर्नुपर्ने कुनै कारण छैन ।

तर आफ्नो देशमा विकास गर्न छाडेर नेपालको सत्ता वा राजनीतिमा आउन हामीलाई फुर्सद छैन । भाजपा यहाँको राजनीतिमा हस्तक्षेपकारी भएर आउँदैन । व्यक्ति आउनु र जानु व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले त्यसको जिम्मेवारी भने लिन सकिँदैन ।

भाजपाको भित्री चाहना नेपालको राजसंस्था पुनःस्थापना रहेको चर्चा पनि सुनिन्छ नि ?

हा…हा…। भारत आफैंमा ७ सय ६२ राज्य गाभिएर बनेको देश हो । त्यहाँ पनि त्यसरी नै पुनःस्थापित गर्न माग गरे हालत के हुन्छ ? पूर्वराजपरिवारका कतिपय सदस्य अझै भाजपाको राजनीतिमा छन् । उनीहरूले हामीलाई पनि पुनःस्थापित गरिदेऊ भने के होला ?

त्यसैले सम्बन्ध हुनु छुट्टै कुरा हो । तर जनचाहनाविरुद्ध कुनै पनि देशको लोकतान्त्रिक अभ्यासलाई विचलन गरेर अशान्ति मच्चाउने चाह भाजपा सरकारलाई छैन । नेपाली नागरिकको मतलाई हामीले समर्थन गर्ने मात्र हो, त्यो पनि लोकतान्त्रिक प्रक्रियासम्मत । त्यसैले अनावश्यक हल्ला चलाएर आफ्नो भान्सा चलाउने केही अति बुज्रुक नेपालीजनलाई देश विकासमा जुट्न सल्लाह दिन चाहन्छु । केही क्षेत्रमा नेपालको विकासको मोडल सिक्न हामी पनि लालायित छौं ।

प्रतिक्रिया दिनुहोस्