१७ बैशाख २०८१, सोमबार

 

बहुदल ल्याउन लडेका हरिप्रसाद

हरि प्रसाद श्रेष्ठ ,पूर्व पार्टि सभापति नेपाली काँग्रेस बागलुङ

पूर्व अध्यक्ष बागलुङ  उद्योग वाणिज्य संघ

रहरले पत्रकार भए पनि नेता हुँदै पछिल्लो समय समाजसेवीको परिचय बनाउन सफल छन् हरि (काका) श्रेष्ठ । ७ दशक नाघेका उनी अहिले राजनीतिप्रति वितृष्णा मान्न थालेका छन् । पञ्चायतकालमा प्रजातन्त्रको पक्षमा लागे पनि प्रजातन्त्र र लोकतन्त्रमा जनताले वास्तविक परिवर्तन अनुभव गर्न नसकेको उनलाई लाग्छ ।

उनको आदर्श कांग्रेस संस्थापक बिपी कोइराला भए । दाजु गोविन्दलाल श्रेष्ठलाई उनले आफ्नो प्रेरणा माने । विसं २००७ सालको क्रान्तिपछि बागलुङमा गठन भएको ओम प्रसाद गौचनको नेतृत्वमा बनेको सरकारमा गोविन्दलाल श्रेष्ठ गृह सचिव थिए ।विद्यालय र क्याम्पसको युनियनमा उनी कांग्रेस समर्थित विद्यार्थी संगठनको अध्यक्ष बने । राजनीतिमा आफ्ना तर्फबाट योगदान पनि गरे ।

राजनीतिकै कारण पढाइ बीचमै छाडे । विद्यार्थी जीवनमा कम्युनिस्टहरूसँग संगत भए पनि आस्थामा विचलित भएनन् । पञ्चायत कालमा आफ्ना पक्षका सूचना, जानकारी र समाचार प्रकाशन गर्न उनले तत्कालीन माननीय ओमकार गौचनको सहयोगबाट पत्रिका दर्ता गरे ।

हामीले विसं २०३५ सालमा‘खबर कागज’ साप्ताहिक दर्ता गरेर नेपाली कांग्रेस आबद्ध विचार प्रवाह गर्न लागे ।अधिवक्ता पद्यनाथ शर्मा प्रधान सम्पादक ,सहसम्पादकमा मैले काम गरेको थिए भने प्रकाशकमा मेरो श्रीमती पार्वती श्रेष्ठ थियो । पत्रिका प्रकाशन गर्दाका तीता–मीठा दुवै अनुभव छन् । पत्रिकाले ०३७ सालको जनमतसंग्रहका बेला कांग्रेसका पक्षमा गरेको समर्थनका कारण ठूलो मूल्य चुकाउनुपर्‍यो ।

बिपी कोइरालाको हिन्दी पत्रिका ‘दिनमान’मा प्रकाशित ‘म चुनाव हारे त खेतमा जान्छु तर राजा हारे कहाँ जाने’ शीर्षक लेखको अनुवाद छापेबापत उनी गिरफ्तारीमा परे । तत्कालीन पञ्चायत समर्थक पत्रकार विदुर खड्काको सुझावमा यसै अन्तरवार्तालाई लिएर पंचायतको तत्कालिन पत्रकार संघका अध्यक्ष मन्जुरत्न शाक्यले विस २०३६ सालमा खबर कागज साप्ताहिकलाई प्रतिबन्द लगायो ।

विसं २०३६ सालमा बहुदलको पक्षमा प्रचार प्रसारमा धेरै सक्रिय हुँदा हरिप्रसाद रगत वाक्ने गरी बिरामी भए ।उनलाई दाजु गोविन्द लाल श्रेष्ठले लामो समय काठमाडौंमा उपचार गरेर हरिप्रसादले नयाँ जिवन पाए ।त्यति बेला दाजु गोविन्द लाल श्रेष्ठ पंचायतलाई रक्षा गर्ने सिडिओ थिए ।

हरिप्रसादलाई धेरैले बहुदल ल्याउँन लडेका योद्धाको रुपमा लिन्छन ।पंचायतको कठोर काल रात्रीमा बहुदलको पक्षमा लाग्नु चानेचुने कुरा थिएन ।बहुदललाई समर्थन गर्दा त्यस बेला बागलुङका धेरै  काँग्रेस ,कम्युनिष्ट नेता ,कार्यकता र समर्थकले ठुलो मूल्य चुकाउनु परेको थियो ।

०३९ सालमा बागलुङमा बन्न लागेको पेन्सन क्याम्प निर्माणको समाचारमा विश्लेषणसहितको अभिमतबारे लेख प्रकाशन गर्दा पनि उनी थुनिए ।

त्यति बेला कांग्रेस नेता गिरिजाप्रसाद कोइराला जेलमै भेट्न पुगेको क्षणले उनलाई पार्टीप्रति झनै बफादार बनायो । जेल पुग्दा गिरिजाप्रसादलाई प्रत्यक्ष भेट गर्न नदिइएको सुनाउँदै उनले भने, ‘भित्र बन्दी रहेको मलाई गिरिजाबाबुले ढोकाको चरबाट कुराकानी गरेर सान्त्वना दिनुभएको थियो ।’

त्यतिन्जेल पत्रकार हुँदा जेल परेका श्रेष्ठलाई ०४२ सालमा सत्याग्रहमा लागेकाले थुनियो । त्यति बेला उनी ७ महिना थुनिएका थिए । राजनीतिसँगै व्यापार, व्यवसायमा संलग्न श्रेष्ठ ०४६ सालको आन्दोलनका बखत उद्योग–वाणिज्य संघ बागलुङको अध्यक्ष भएर भूमिका निर्वाह गरे । त्यसपछि उनी फेरि दलमा क्रियाशीलताका आधारमा जिल्ला कार्यसमितिको सदस्य बन्न पुगे ।

सदस्य बनेको ६ वर्षपछि ०५३ देखि ०६७ सम्म कांग्रेस अध्यक्ष भएर जिल्लाको नेतृत्व सम्हालिरहे । माओवादी विद्रोहको जर्जर अवस्थामा पनि जिल्लामा रहेर पार्टीलाई जीवन दिएकोमा उनलाई गर्व लाग्छ । भने, ‘धेरै जिल्लाका सभापति केन्द्रमा शरणार्थी जीवनमा थिए, म भने आफ्नै जिल्लामा बसेर जिम्मेवारी निर्वाह गरिरहें ।’

त्यही अवधिमा भएको संविधानसभा–०६४ चुनावमा उनी बागलुङ–१ बाट उम्मेदवार बने । तर दुर्भाग्य परिणाम उनका पक्षमा आउन सकेन् ।

तर माओवादीलाई हराउन सकेकोमा आफूले जितेकोमा भन्दा खुसी लागेको उनी बताउँछन् । देशव्यापी रूपमा माओवादीले जितिरहेका बेला त्यहाँ एमाले विजयी भएको थियो । उनी एमाले उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए । ‘ओभर कन्फिडेन्स हुँदा हारेको हुँ,’ श्रेष्ठले भने ।

त्यसपछि केही समय राजनीतिमा सक्रिय रहे पनि पछिल्ला दिन त्यहाँको खानेपानी संस्थाको निर्वाचित अध्यक्ष भएर समाजसेवामा खटिइरहेका छन् ।

अहिलेको राजनीति दूषित भएको उनी बताउँछन् । केही दिनभन्दा पनि केही पाइन्छ कि भनेर लाग्नेहरूले आदर्शको राजनीतिलाई तिलाञ्जली दिएको उनको अनुभव छ । पटकपटकको जेल र नेल भोगेर ल्याएको लोकतन्त्र अहिले लुटतन्त्र भएको देख्दा उनलाई दुःख लाग्छ । तर कसलाई भन्ने, कहाँ भन्ने ? उनले कसैलाई अभिभावक मान्न सकेका छैनन् ।

कोइराला परिवारसँगको निकटता उनले अहिले पनि बिर्सिएका छैनन् । जेलमा गिरिजाबाबु भेट्न गएको प्रसंग होस् वा आफू जिल्ला सभापति हुँदा गिरिजाबाबु शिक्षण अस्पताल पुगेर दिएको सान्त्वना, उनी अझै सम्झिरहेका छन् । त्यति बेला उनी नसाको समस्याले अस्पताल भर्ना भएका थिए ।

अप्रेसन गर्ने तयारी थियो । तर गिरिजाबाबुले अप्रेसन गर्दा रिस्क हुन सक्ने भन्दै उनलाई वैकल्पिक उपचार सुझाएर त्यसका लागि व्यवस्था गरिदिएका थिए ।

त्यसलाई उनी आफ्नो जीवनको सन्तोषको क्षण मान्छन् । राजनीतिमा केही पाउनभन्दा पनि योगदान गर्न पाएकोमा गर्व छ श्रेष्ठलाई । त्यसैले गिरिजा, गणेशमान र कृष्णप्रसादकोमा पुग्दा उनले कहिल्यै समय लिनुपरेन । जति व्यस्त भए पनि बागलुङबाट हरि आएका छन् भन्ने सुनेपछि तीनै नेताले समय दिन्थे ।

पञ्चायतविरुद्धको लडाइँमा ढाल बनेका श्रेष्ठ माओवादी द्न्द्कालमा पनि पार्टीका पक्षमा निर्भीक भएर लागिरहे । माओवादीले पनि आफूलाई आदर–सत्कार गर्ने गरेको उनले स्मरण गरे ।

तर, एकपटकको घटना उनले यसरी सम्झिए– विकट गाउँ पुगेर माओवादीसहित सात दलीय नेताहरूको बैठक बस्नु थियो । ०६१ माघ १९ थियो त्यो ।

माओवादीका जिल्ला सेक्रेटरीले आफ्नो मोबाइल खोसेर मनोनीत सभापति र मेयरलाई फोन गरी धम्की दिएपछि त्यसको भागीदार आफू हुनुपरेको र सेनाको नजरबाट बच्न भूमिगत हुनुपरेको घटनाले उनलाई दुःखी पनि बनायो । पछि सेनाको ब्यारेकमा गएर आफ्नो नियत त्यस्तो नभएको तर परिस्थितिवश त्यस्तो अवस्था सिर्जना भएकोमा क्षमा माग्दै सफाइ लिएको उनले बताए ।

मोबाइल खोसेर फोन गर्ने तिनै सेक्रेटरी यति बेला विप्लव समूहमा लाग्दा जेल परेका छन् । उनलाई भेट्न अहिले पनि जेल पुगेका श्रेष्ठले त्यो नमिठो विगत सुनाउँदै ‘हिजोको तिम्रो दबदबा कहाँ गयो ? आज आफैंले ल्याएको गणतन्त्रमा पनि जेल बस्नुपरिहेको छ’ भनेर विगत स्मरण गराएछन् ।

उनले भनेछन्, ‘समय–समयकी बात । समय सधैं एकतर्फी रहँदैन, समयअनुसार परिवर्तन हुन सिक ।’ उनको सुझाव तत्कालीन ती माओवादीले अहिले केही नभनी स्विकारेछन् । उनीप्रति श्रेष्ठले सहानुभूति प्रकट गरे । एउटा राजनीतिक लडाइँ लडेको मानिस आस्थाका आधारमा अहिले पनि बन्दी हुनु अवश्य नराम्रो हो भन्ने लाग्छ उनलाई

उनले भने, ‘गणतन्त्रमा राष्ट्रपति हुने प्रलोभनमा गिरिजाबाबु पर्दा कांग्रेसमा दुर्दिन सुरु भयो । अहिलेको अवस्था र परिणाम त्यही हो ।’

पछिल्ला दिन राजनीति कमाउधन्दा भएकोमा उनलाई दुःख लाग्छ । भन्छन्, ‘०४८ पछिका नेताका आम्दानी स्रोत र सम्पत्ति छानबिन गरेर स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’ हिजोसम्म खान नपुग्ने परिवारबाट राजनीति गरेकाहरू काठमाडौंमा करोडौंको पजेरो चढेको देख्दा राजनीतिमा वितृष्णा हुने गरेको उनले बताए ।

राजनीतिका शुभचिन्तक श्रेष्ठ अहिले पनि बागलुङको विकास निर्माण, कलासंस्कृति र उत्सव मनाउन क्रियाशील छन् ।आगामी अंग्रेजी नयाँ वर्षको अवसर पारेर मनाउन लागिएको बागलुङ महोत्सवको तयारीका लागि काठमाडौं आएका उनले राजनीतिबाट अलग भए पनि समाजसेवामा क्रियाशील रहेको बताए ।

जीवनमा सबै काम एउटैले मात्र गर्नुपर्छ भन्ने ठान्दैनन् श्रेष्ठ । त्यसैले केही समयपछि समाजसेवाको कामबाट पनि विश्राम लिने योजनामा छन् । आस्तिक भावमा विश्वास राख्ने श्रेष्ठले भने, ‘आखिर मरी लानु के नै छ र ?’

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्