२० बैशाख २०८१, बिहीबार

 

बडिगाडमा न्वागीको रौनक

तीन सय वर्षअघि चौबीसे राजाको पालादेखि चलेका परम्परा र संस्कृति संरक्षणमा स्थानीय जुटेका छन् । बडिगाड गाउँपालिकाको अगुवाइमा पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले न्वागी पर्वलाई मेलाका रूपमा विकास गरेको हो ।

अघिल्लो वर्षदेखि थालिएको अभियानलाई निरन्तरता यसपालि पनि आइतबारदेखि मेला चलिरहेको छ । बागलुङका ग्वालीचौर, भीमगिठे, दगातुमडाँडा र जलजला, गुल्मीको पौंदी अमराई, नेटा दर्लिङ र इस्मासमेत मिलाएर मेला आयोजना गरिएको हो ।

पुरानो राज्यभित्रका सबै क्षेत्र समावेश गरेर बाली भित्र्याउने र नयाँ धानको न्वागी खाने परम्परा छ । एक सय मुरी धान उत्पादन हुने जग्गाको गुठीमार्फत तत्कालीन राज्यमा चलेको मेलालाई स्थानीयले संरक्षण गरेका हुन् । छत्रभूमिका रूपमा गुठीको नामकरण गरिएको छ ।

उक्त गुठीको चामलबाट न्वागी खाने, विभिन्न पूजाको अक्षता बनाउने र मेला आयोजनासमेत गरिन्छ । ‘छत्र गुठी’का रूपमा स्थापित भएपछि सिंगो राज्यभर एकै दिन न्वागी खाने चलन छ । साइत जुराएर धान काट्ने र न्वागी खाने दिन बन्दुक पड्काएर खुला गरिएको सूचना दिइन्छ ।

संरक्षण समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार विसं १८८९ देखि यो चलन नियमित छ । ‘एकैपटक धान काट्न थालेको सूचना दिन बन्दुक पड्काइन्थ्यो, अहिले फोनबाट पनि थाहा हुन्छ भनेर पड्काइँदैन,’ उनले भने, ‘तर एकै दिन धान काट्ने, एकै दिन न्वागी बनाएर गाउँभरिका मानिसले उत्सवसहित खान्छन् ।’ मेला आयोजनापछि सबै गाउँबासीले जानकारी पाउने र मिलेर खान पाउने व्यवस्था गरिएको उनले बताए । जारी मेला मंसिर ६ गतेसम्म चल्नेछ ।

यो संस्कृति संरक्षण गर्न गाउँपालिकाले राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि आयोजना गरेको छ । गाउँपालिकाले रकमसमेत विनियोजन गरेर खेल प्रतियोगिता आयोजना गरेको हो । गत वर्ष गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता राखिएकोमा यो वर्ष निरन्तरता दिँदै राष्ट्रिय कराते प्रतियोगिता पनि समावेश गरिएको छ ।

यो पर्वलाई तिहारको देउसीभैलो समापन गर्ने पर्वका रूपमा पनि चिनिने समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । मेलामा आयोजकले सांस्कृतिक झाँकी, लोकदोहोरी प्रतियोगिता, नृत्य, रस्साकस्सीलगायत आकर्षणसमेत राखिएको छ । ‘सबै जातजातिको सामूहिक अपनत्वको भावना विकास गर्न यो पर्वको महत्त्व छ,’ आचार्यले भने, ‘जातजातिको मात्र नभई आफ्नो क्षेत्रीय महत्त्वको चाड बनाउन खोजेका छौं ।’

न्वागीका लागि ‘जडान’ नामको स्थानीय धान प्रयोग गरिन्छ । किसानहरूले वर्षभरि खाने अन्न भित्र्याएपछिको खुसियालीसमेत भएको बताए । ‘कृषिमा आश्रित किसानको अन्न भित्र्याएको खुसियालीको पर्व हो,’ आचार्यले भने, ‘२०४६ को परिवर्तनपछि नेता र कार्यकताले पनि यो मेलालाई चासो दिन थालेका छन् ।’

बडिगाड गाउँपालिकाले पर्वलाई सबै जाति, धर्म र संस्कृतिको बनाउन बडिगाड न्वागी मेलाको नामकरण समेत गराएको छ । स्थानीय तहको पहिचानकै रूपमा लिन थालिएकाले मेलालाई पर्यटन भित्र्याउने मेलाका रूपमा लिएको गाउँपालिका प्रमुख मेयरसिंह पाइजाले बताए ।

प्रतिक्रिया दिनुहोस्