१६ बैशाख २०८१, आईतवार

 

जब प्रधानमन्त्री प्रचण्ड छमछमी नाचे….

पोखरा । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए ।

फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो ।

समारोहको बिचबिचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा।।।’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत समर्पण गरे ।

धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि।।।’ सुनाए । गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा।।।’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे ।

औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्लिए ।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे । अरूलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए ।

पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर।।।’ र दोस्रो ‘बोलामाया।।।’ । देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै थिए ।

सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए । उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे ।

“प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु”, सपुतले भनेका थिए ।

उनको अनुरोधलाई सहज रूपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे ।

गायक सपुतको ‘बोलमाया।।।’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरूको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो ।

प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए ।

उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौँ पुरानो सपना पूरा भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक–पटक पहलले सार्थकता पाएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए ।

सो अवसरमा कास्कीको हेम्जामा जन्मेका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो ।

यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो । मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ।।।’ गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्