पाकिस्तानकी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईलाई संयुक्त राष्ट्रसंघले संसारकै सबभन्दा प्रख्यात किशोरी घोषणा गरेको छ । राष्ट्रसंघले आफ्नो ‘डिकेड इन रिभ्यु’ प्रतिवेदनमा यस्तो घोषणा गरेको हो ।
प्रतिवेदनको रिभ्यु सिरिजको पहिलो भागमा सन् २०१० देखि २०१३ सम्मका घटना समावेश गरिएका छन् । त्यसमा राष्ट्रसंघले सन् २०१० मा हाइटी भूकम्प, सन् २०११ मा सिरियाली द्वन्द्वको निरन्तरता तथा सन् २०११ मा मलालाले बालिका शिक्षाका लागि गरेको कामलाई प्राथमिकता दिएको छ ।
सन् २०१४ मा मलाला नोबेल शान्ति पुरस्कार जित्ने सबभन्दा कान्छी किशोरी भइन् । उनलाई तालिबान लडाकुहरूले टाउकोमा गोली प्रहार गरेका थिए ।

‘उक्त आक्रमणले संसारभरि तरंग ल्यायो र त्यसको व्यापक भर्त्सना गरियो । यस वर्षको मानवअधिकार दिवसमा मलालालाई युनेस्कोको पेरिसस्थित केन्द्रीय कार्यालयमा विशेष सम्मान दिँदै विद्यालय जान पाउने प्रत्येक बालिकाको अधिकारको सुनिश्चितता तथा बालिका शिक्षालाई अघि बढाउनुलाई प्राथमिकताका रूपमा राख्न मद्दत पुग्यो,’ राष्ट्रसंघले समीक्षा प्रतिवेदनमा लेखेको छ ।
२२ वर्षीया मलालालाई केही दिनअघि ‘टिन भोग’ पत्रिकाले दशकको अन्तिम इस्युका लागि कभर पर्सन बनाएको थियो ।
को हुन् मलाला ?
मलाला युसुफजाई पाकिस्तानी शिक्षा अभियन्ताका रूपमा प्रख्यात छिन् । उनको जन्म जुलाई १२, सन् १९९७ मा पाकिस्तानको मिङ्गोरा भन्ने ठाउँमा भएको थियो । उनका पिता जियायुद्दिन युसुफजाई पनि पाकिस्तानी शिक्षा अभियन्ता थिए । सुन्नी मुसलमान परिवारमा जन्मिएकी मलालाको प्रारम्भिक शिक्षा पाकिस्तानमै भयो ।
अक्टोबर २०१२ मंगलबारका दिन करिब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेकी मलालालाई आतंककारीहरूले हमला गरेका थिए । हमलाको जिम्मेवारी ‘तहरीक-ए-तालिबान’ पाकिस्तान (टिटिपी)ले लिएको थियो । महिला शिक्षालाई प्रवर्धन गरेको आरोपमा उनलाई तालिवानले गोली प्रहार गरेको थियो ।
टाउकोमा गोली लागेर गम्भीर घाइते बनेकी मलालालाई थप उपचारका लागि लन्डन लगियो । त्यसपछि उनले निरन्तर शिक्षा, स्वास्थ्य र मानवअधिकारको पक्षमा वकालत गर्दै आइरहेकी छन् । उनको कामलाई सम्मान गर्दै नोबेल पुरस्कार समितिले उनलाई सन् २०१४ को नोबेल शान्ति पुरस्कारबाट सम्मान गर्यो ।
उनलाई वर्ष २०१३ मा ‘भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड’, ‘इन्टरनेसनल पिस एवार्ड’, ‘क्लिन्टन ग्लोबल सिटिजन एवार्ड’ लगायत अन्तर्राष्ट्रिय पुरस्कारहरू प्रदान गरियो ।
मलालालाई पाकिस्तानकी सर्वाधिक प्रभावशाली नारीका रूपमा हेरिन्छ ।













































































































































































































