अभिनेत्री दीपिका पादुकोण खानाकाे मेन्युमा दर्ज भएकी छन् । अमेरिकाको टेक्सासस्थित रेस्टुरेन्ट ‘द डोसा’ ले उनकाे नाममा डोसा नै सञ्चालनमा ल्याएको हाे। रेस्टुरेन्टको मेनु कार्डले यसको विशेषता भन्छ कि यसमा आलुका साथ पिरो खुर्सानी पाइनेछ । यसअघि पुणेकै एउटा होटलले पनि दीपिकाकाे नाममा परौठा सञ्चालनमा ल्याएको थियो । खानाको मेन्युमा नाम पाउने उनी पहिलाे भारतीय अभिनेत्री हुन् ।
दीपिका अभिनेत्रीका अतिरिक्त समाजसेवी र वातावरण संरक्षक पनि हुन् । दीपिकाको जन्म भारतमा नभएर डेनमार्कमा भएको हो । उनी ११ महिनाकी भएपछि अभिभावक भारतको बैगंलुर बसाइँ सरेका थिए । उनका पिता प्रख्यात ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण हुन् । उनको सपना छोरीले राष्ट्रिय तहसम्मको ब्याडमिन्टन र राज्य स्तरसम्म बेसबल खेल्ने थियाे। तर उनी प्रख्यात अभिनेत्री भइदिइन् । हाल उनले ३५ अाैं जन्माेत्सव मनाएकी छन् ।
दीपिकालाई ‘ओम शान्ति ओम’ की निर्देशक फराह खानले पहिलोपटक हिमेश रेसमियाको संगीत एल्बममा अवसर दिएकी थिइन् । त्यहीपछि उनी ठूलो स्क्रिनमा देखा परेकी हुन् । पहिलो फिल्मको रिलिजसम्म अनुपम खेरबाट अभिनय र श्यामक डावरबाट नृत्य सिकेकी दीपिकाले धेरै वर्षसम्म गीति एल्बम र विज्ञापनमा पनि काम गरिन् । उनको टुथपेस्ट क्लोज–अपको विज्ञापन एकदम लोकप्रिय भएको थियो । दीपिकाले वातावरण बचाउने अभियानमा पनि काम गरेकी छन् । अभिनेत्री नहुँदै उनले महाराष्ट्रको दुर्गम अम्बेगाउँबाट यो काम सुरु गरेकी थिइन् ।
करिब १ दशक दीपिकाले पुणेनजिकको त्यस गाउँमा बिजुली र पानीको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलिन् । वातावरण क्षेत्रका काम गर्दा उनी प्रचार खोज्दिनन् । उनको पछिल्लाे परिचय डिप्रेसनविरुद्ध खुलेर बाेल्नु भएकाे छ । आफैं पनि डिप्रेसनको उपचारपछि ठिक भएको बताउने उनी ‘लिभ, लभ, लाफ फाउन्डेसन’ नामक संस्था स्थापना गरेर काम गरिरहेकी छन् ।
फाउन्डेसनले परामर्शदाता (थेरापिस्ट) का अलावा स्कुल र अन्य संस्थामा जागरण कार्यक्रम पनि गर्छ।













































































































































































































