
बागलुङ । कृषि उपजको हाट बजार लागेको त हामीले सुनेकै थियौं । बागलुङमा भने चित्रकला, फोटो तथा विपभिन्न आकृतिका सामग्रीको प्रचार प्रसार र विक्रीका लागि हाट बजारको शुभारम्भ गरिएको छ ।
हस्तकलामा दख्खल राख्ने बागलुङका ६ चित्रकार र हस्तकलाकारले निर्माण गरेको चित्रकला, कलाकृति तथा स्थानीय उत्पादिन सामग्रीको बजारीकरण गर्न हाट बजारको सुरुवात गरिएको छ ।
बागलुङका कलाकारहरुले हातद्वारा निर्मित कलाकृतिको विक्री वितरण सहित प्रदर्शनी र प्रचार प्रसार गर्न हाट बजारको शुभारम्भ गरेका छन् । चित्रकला र हस्तकलाका सामग्री विक्रीका हाट बजार लगाइएको यो बागलुङमा पहिलो प्रयास हो ।
जिल्लामा क्रियाशिल विभिन्न कलाकारहरुद्वारा निर्मित कलाकृतिको प्रचार प्रसारसँगै विक्री गर्ने उद्देश्यले ‘ह्याण्डिक्राफ्ट हाट बजार’ को शुभारम्भ गरिएको छ । उक्त हाट बजार प्रत्येक हप्ताको एक दिन बागलुङ बजारको विभिन्न स्थानमा लगाइनेछ ।
बागलुङमा कलाकृतिको क्षेत्रमा क्रियाशिल मिलन खत्री, टिकाराम पुन, रविन खड्का, टेकबहादुर खत्री, मच्छिन्द्र प्रसाद शाक्य र विशाल शाहीले तयार गरेको कलाकृतिका सामग्री प्रदर्शनी सहित विक्रीको हाट बजारमा राख्न थालिएको छ ।
हस्तकलाको प्रचार प्रसारका लागि हाट बजारले सघाउने हस्तकलाकार मिलन खत्रीले बताउनुभयो । “यो नोलौ प्रयास हो, हामीले धेरै महनतले बनाएका चित्र, अस्तकला र अन्य सामग्रीलाई विक्रीका लागि बजार खोज्न सहजका लागि दुई घण्टा जती हाट बजारमा सजाएर राख्ने, राम्रो लाग्ने खरीद गर्नेछ, भने अन्यले प्रचार प्रसार गर्नेछन्” खत्रीले भन्नुभयो “हाट बजारमा २० हजारदेखि एक हजार ५०० सम्मका पेन्टिङ, सताब्दी घर हिमाल तथा काठ र बाँसबाट बनाइएका सामग्री राखिएको छ ।”
बागलुङ नगरपालिका–२ मा रहेको ऐतिहासिक पार्कबाट हाट बजारको शुरुवात गरिएको छ ।
हाट बजारमा टिकाराम पुनद्वारा निर्माण गरिएको विभिन्न टल्किने ढुङ्गा, गाँजाको बोट र अल्लोबाट तयार गरिएको सामग्री, रविन खड्काले तयार गरेको मेटल आर्ट सम्बन्धी सामग्री, टेकबहादुर खत्रीले निर्माण गरेको गुलेली, मिलन खत्री र मच्छिन्द्र प्रसाद शाक्यले तयार गरेको पेन्टिङको प्रदर्शनी गरिएको छ ।
हाट बजारमा रुखका जराबाट बनेका आकृति, राजा रानीको चित्र, कालिका मन्दिर, शताब्दी घर, धौलागिरि क्याम्पस, लामो झोलुङ्गे पुल लगायतको चित्र प्रदर्शनिमा राखिएको छ ।