१७ बैशाख २०८१, सोमबार

 

‘अबको बाटो समृद्धिकै हो’

हाम्रो पुस्ताले देखेको सबैभन्दा शक्तिशाली सरकार भनेकै अहिलेकै हो । यो सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य राखेको छ जुन सान्दर्भिक पनि छ । देशको अर्थतन्त्र यहाँसम्म ल्याउन रेमिट्यान्सको मुख्य भूमिका छ । तर यहाँभन्दा माथि जान उद्योगधन्दा आवश्यक छ । किनभने रोजगारी सिर्जना गर्ने भनेकै उद्योग–कलकारखानाले हो । उत्पादन वृद्धिमा ध्यान दिएनाैं भने अहिलेसम्मको उपलब्धि बालुवामा पानी हालेझैं हुनेछ । रेमिट्यान्स बाहिर गयो भने देश समृद्ध बनाउन सकिँदैन ।

समृद्धिका लागि लगानीको वातावरण सिर्जना हुनुपर्छ । निजी क्षेत्रले पनि सपना देखेको छ, राज्यलाई कसरी समृद्ध बनाऊँ भन्ने । तर यसमा थुपै्र चुनौती छन् । जहाँ निजी क्षेत्रलाई सम्मान, लगानीलाई स्वागत र नाफालाई ‘सेलिब्रेट’ गरिएको छ, त्यहाँ लगानीको वातावरण अझै सुध्रेर देश समृद्धिमा गएका उदाहरण छन् । चीन, भारत, अस्टे«लियालगायत देश निजी क्षेत्रकै लगानीले अहिलेको स्थितिमा आइपुगेका हुन् । हामी लगानीकर्ताले केही नाफा गरेनौं भने लगानी कसरी, रोजगारी कसरी हुन्छ ? राजस्व कसले तिर्छ ? नाफा राम्रो शब्द हो । तर व्यवहारमा सरकारले त्यो वातावरण दिन सकेको छैन ।

गलत काम गर्नेलाई अनुगमन गरेर सही ठाउँमा ल्याउने जिम्मा सरकारकै हो । तर अनुगमनका नाममा धेरै विकृति आएका छन् । कुनै पनि न्यायिक निष्कर्ष निस्कनुअघि नै निजी क्षेत्रलाई मानमर्दन गरिन्छ । त्यसमा हाम्रो विरोध छ । अनुगमन गर्नुपर्छ तर मर्यादित तबरले । निजी क्षेत्रको सम्मानसँगै आत्मबल कसरी बढाउन सकिन्छ भन्नेमा सरकारले ध्यान दिनुपर्छ । अर्को मुख्य चुनौती भनेको नियम–कानुन हो । अहिले आएका सबै कानुन खराब छन् भन्न खोजेको होइन । तर ती एकैचोटि आउँदा निजी क्षेत्रलाई अप्ठ्यारो महसुस भएको छ । लगानीकर्ताको मनोबल खस्किएको छ । यसलाई सुधार्न आवश्यक छ । यो स्थिति सुधारिनासाथ समृद्धिको सपना पूरा गर्न धेरै कुर्नुपर्दैन ।

निजी क्षेत्र नाफामूलक हुन्छ । गण्डकी प्रदेशमा भएका सम्भावनाबाट कसरी नाफा कमाउन सकिन्छ भन्नेमा लगानीको प्रतिफल निर्भर हुन्छ । मैले बागलुङ बजारबाट देखिने धौलागिरि हिमाल जो छ, त्यसैमा सम्भावना देखेको छु । मैले बागलुङ बजार देखिने धौलागिरिको भ्यु अहिलेसम्म देखेको छैन । धौलागिरिलाई राखेर धेरै पर्यटनसम्बन्धी काम गर्न सकिन्छ । यहाँ जुन–जुन चिज उत्पादन हुन्छन्, तिनलाई खोजेर ल्यायौं भने अझ राम्रो बन्छ ।

नेपालका युवामा यहाँ बसेर भविष्य छैन भन्ने मानसिकता व्याप्त देखिन्छ । तर नेपालमा असीमित सम्भावना छन् । यो सम्भावना खोज्दै थोरै लगानी लगाएर नाफा कमाउन सकिन्छ ।
हाम्रो देशमा पर्यटन, हाइड्रोपावर, अर्गानिक खेती, फलफूल खेती, फलाम र अन्य खानीका प्रचुर सम्भावना छन् । तिनैमार्फत रोजगारी सिर्जना गर्न सके देशलाई समृद्धिको दिशामा डोहो¥याउन सकिन्छ । युवावर्गले सम्भावना खोजेर लगानी गरेकैले अहिले नेपालको बजार पनि ठूलो हुँदै गएको छ । अब नेपालीको प्रतिव्यक्ति आय १ हजार ५० डलर पुगेको छ । अहिले साना–साना रेस्टुरेन्टमा पनि नेपाली नै देखिन्छन् ।

देशको समृद्धि हरेकले चाहेको हुन्छ । देशले सबैखाले परिवर्तन भोगिसक्यो, अबको बाटो समृद्धि नै हो । अहिले ४० लाखभन्दा बढी नेपाली युवा बाहिर छन् । उनीहरूलाई फिर्ता बोलाएर केही इलम दिन सके देशको पैसा देशमै रहनेछ । समृद्धिको अभियान सार्थक बनाउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

(नेपाल उद्योग–वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छासँग आर्थिक बहसका लागि बागलुङ पुगेका बेला विमल खड्काले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्