१७ बैशाख २०८१, सोमबार

 

मध्यपूर्वको तरंग

अमेरिका र इरानबीचको युद्धलक्ष्यित तनाब हाम्रा लागि कति सबक बन्यो ? हामी नुनदेखि सुनसम्म र प्याजदेखि पामसम्म आयात गरेर देशको अर्थतन्त्र सुधार्ने सपना बुनिरहेका छौं । तर कतिकाे बुझेका छाैं, हाम्रो अर्थतन्त्रको जगमा मध्यपूर्वमा नेपाली श्रमिकले बगाएको पसिना छ भन्ने । मध्यपूर्वले धानेको हाम्रो अर्थतन्त्र कति मजबुत छ भन्ने थाहा पाउन अन्त जानै पर्दैन, हामीले खाने प्याजको बजार हेरे पुग्छ । प्याज किन्ने पैसामा समेत मध्यपूर्वमा खटिएका नेपालीको कमाइ छ ।

इरान र अमेरिकाबीचको प्रतिशोधले उग्ररूप लिए नेपालको एयरपोर्ट खाडी देशबाट फर्किने श्रमिकले भरिभराउ हुनेछ । धन्न, तत्काललाई स्थिति शान्त हुँदै गएको संकेत देखिन्छ । मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली प्रत्यक्ष प्रभावित हुने अनुमान छ । रेमिट्यान्समा कमी आई देशको अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर पर्छ । राष्ट्र बैंकका अनुसार नेपाल आउने रेमिट्यान्सको ५० प्रतिशत स्रोत मध्यपूर्व नै हो । पछिल्लो पटक ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसको आधा भनेको करिब साढे ४ खर्ब रुपैयाँ हुन आउँछ ।

राष्ट्र बैंकका अनुसार पछिल्ला दुई महिनामा मात्र खाडीका ८ देशबाट करिब ५५ अर्ब रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स भित्रिने प्रमुख ८ देशमा साउदी अरब, कुवेत, कतार, युएई, जोर्डन, इजरायल, ओमान र इराक छन् ।

इरान र अमेरिकाबीचको तनाब अझ बढ्दै गए त्यसले पार्ने पहिलो असर अर्थतन्त्र नै हुनेछ । त्यसपछि श्रम बजार प्रभावित हुनेछ । अरूको भरोसामा चलेको हाम्रो अर्थतन्त्र अब पनि आफ्नै स्रोतमा निर्भर गर्न सकिएन भने हाम्रो भविष्य सुखद हुनेछैन । मध्यपूर्वको श्रमसँग विनिमय गरेर भारतीय बजारबाट आयात गरेको उत्पादनले हामी समृद्ध हुन सक्दैनौं ।

हामी कतिसम्म परनिर्भर छौं भने अरू देशबीचको तनाब उत्कर्षमा पुग्न सक्ने अनुमान मात्रैले पनि यहाँ मूल्यवृद्धि भइदिन्छ । इन्धनमा बढेको भाउ घटेको छैन । हामी इन्धनमा भारतसँग परनिर्भर छौं । भारतमा सबैभन्दा धेरै तेल इरानबाट आउँछ । पछिल्लो घटनाक्रमसँगै तेलको बजार एकाएक महँगिएको छ । त्यसको असर ढिलो–चाँडो अझ प्रस्ट भएर आउनेछ ।

दुई देशबीच युद्ध चर्कने हल्ला चलिरहँदा नेपालमा सुनको मूल्य बढ्यो । सेयर बजारमा गिरावट, पर्यटक आगमनमा कमीजस्ता असर देखिए । त्यसैले यी सबै दृष्टान्तबाट सबक सिक्न जरुरी छ । कुरा तेलको मात्रै होइन । हामी दैनिक उपभोग्य वस्तुसमेत सबैलाई पुग्ने गरी देशमा उत्पादन गर्दैनौं । मध्यपूर्वको त्रास हटिसकेको छैन । आयातमै भर पर्दा भोलि अहिलेकै जस्तो विषम परिस्थितिमा त्यो पनि नआउने सम्भावना हुन सक्छ । त्यति बेला के गर्ने ? हामीले आजै पाठ सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्