१६ बैशाख २०८१, आईतवार

 

भारतकाे शिक्षाप्रणाली संकुचित र संकीर्ण बन्दै गइरहेछ

भारतीय विद्वान् प्रा.डा.राजन वेलुकर करिब तीन कार्यकाल विभिन्न विश्वविद्यालयमा कुलपति रहे । बम्बई विश्वविद्यालय, यशवन्त चौहान खुला विश्वविद्यालय र अर्काे एक विश्वविद्यालयमा कुलपति बनेका उनी आफूलाई समाजसेवी भन्न रुचाउँछन् । उनको अध्ययन र अध्यापनको विषय सांख्यिकी शास्त्र (स्टाटिस्टिक्स) हो । नागपुर विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. वेलुकर धेरै वर्ष प्राध्यापन पेसामा रहे । उनलाई मन पर्ने अन्य विषय ‘साइकोलोजी र सोसोलोजी’ हुन् । त्यसअतिरिक्त दर्शनशास्त्रमा पनि उनको रुचि छ । करिब ३० वर्षदेखि गान्धी विचारका अनुयायी रहेका उनीसँग भारतीय शिक्षाप्रणालीबारे सञ्जय पन्थीले गरेको कुराकानी :

भारतको शिक्षापद्धति कसरी विकास भइरहेको छ ?

शिक्षा जसका लागि थियो उनीहरूलाई ज्ञान दिन सकिएको छैन । शिक्षाको पर्पस स्पष्ट छैन । मलाई लाग्छ, समग्र प्रणाली नै अस्पष्ट बनाइरहेका छौं । सभ्यता केन्द्रित शिक्षा दिन सकिएको छैन । भारतीय सभ्यता र संस्कृति पढाउन सकिएको छैन । आफ्नो सभ्यता र संस्कृति बिर्सिएको अवस्थामा हाम्रो शिक्षाप्रणाली सन्तोषजनक छ, भन्न कसरी सकिएला ?

तपाईं कुलपति भएको व्यक्ति, किन यति निराश ?

निराशा नै नभन्ने कि ? तर आजको वास्तविकता हो ।

तपाईंले प्राध्यापन गर्दाका अनुभव ?

मेरो विषय सांख्यिकी शास्त्र । अध्ययनपछि महाराष्ट्रकै सिजनेम कलेज अफ कमर्स एन्ड इकोनोमिक्स कलेजमा प्राध्यापन गरेँ । जुन भारतकै पुरानामध्ये एक हो । त्यहाँ नेपाली विद्यार्थी पनि पढाएको छु । हिजोसम्म त्यही कलेज पढ्न भारतबाहिरबाट मान्छे आउँथे, तर अहिले कहाँ पर्छ भन्ने जानकारी भारतमै छैन । कारण– निजी शैक्षिक संस्थाको बिगबिगी छ । सरकारले सार्वजनिक शिक्षामा बजेट कटौती गरिरहेको छ । त्यसको असर समग्र शैक्षिक प्रणालीमा परेको छ । आजका राजनीतिज्ञ वा नेताहरू नै शैक्षिक संस्थाका व्यापारी छन् ।

शिक्षामा भइरहेको निजीकरण र समग्र शिक्षा प्रणालीको भविष्य कस्तो देख्नुहुन्छ ?

आज विश्वमै विद्यार्थीलाई यन्त्र–मानव बनाइँदै छ । जसलाई होमो इकोनोमिक्स भनिन्छ । यसमा मालिक, कामदार र उपभोक्तासहित वस्तु र प्राणीलाई आर्थिक एकाइका रूपमा हेरिन्छ । त्यसैअन्तर्गत शिक्षालाई पनि कसरी तत्काल लगानी फिर्ता गर्न सकिन्छ भन्ने दृष्टिले हेरिन्छ ।

कुनै सेठ, जमिनदार, उद्योगपति वा राजनेताद्वारा स्थापित निजी विश्वविद्यालयले स्वतन्त्र चिन्तनलाई तब मात्र बढावा दिन्छ जब त्यो विशुद्ध सेवाभावले सञ्चालित हुन्छ । अन्यथा, उसले विद्यार्थीलाई उपभोक्ता मानेर उत्पादन वा साधन बनाइरहेको हुन्छ । विद्यार्थी र शिक्षक दासत्व स्विकार्न बाध्य रहन्छन् । सबै चीज अन्ततः एकै व्यक्तिमा केन्द्रित हुन्छन् । त्यस्तो अवस्थामा विद्यार्थी कसरी स्वतन्त्र चिन्तक बन्न सक्ला ?

भारतको समाज विकासमा शिक्षाको महत्त्व कस्तो छ ?

पुरातन भारतको कुरा गर्नुहुन्छ भने हिन्दू धर्मका शास्त्र यहीँ उद्भव भएको मानिन्छ । केही नेपालमा पनि भए होलान् । तर संस्कार, पद्धति भारतमै आएर जोडिन्छ । माध्यमिक कालमा आउँदा काशीका गुरुकुल, उच्चशिक्षाका लागि नालन्दा र तक्षशिलाको इतिहास अध्ययन गरे पुग्छ । त्यसपछि आधुनिक कालमा आउँदा सन् १८३५ को मैकाले रिपोर्ट हेरे जानकारी हुन्छ । समाज विकासमा शिक्षाको महत्त्व नहुने कुरै भएन । भारतमा अंग्रेजविरुद्धको चेतना प्रसार पनि शिक्षाकै कारण भएको हो । महात्मा गान्धी, बालगंगाधर तिलक, गोपालकृष्ण गोखले, मदनमोहन मालविय, मोतीलाल नेहरू, जवाहरलाल नेहरूलगायत शैक्षिक जागरणसँगै स्वतन्त्रताको आन्दोलनमा जोडिएका व्यक्ति हुन् । भलै अंग्रेजले खोलेका तत्कालीन शैक्षिक संस्था सार्वजनिक विद्यालय वा विश्वविद्यालय थिए, त्यहाँ समाजविज्ञानको पढाइ हुन्थ्यो । अध्ययनबाट स्वतन्त्रताको महत्त्व अनुभव गरेका अग्रजले स्वतन्त्र भारतको कल्पना गरेर अंग्रेजविरुद्ध आन्दोलन चलाए । समाजसेवालाई लक्ष्य बनाए । शिक्षामा जीवन बुझ्न सक्ने ज्ञान छैन । आजको शिक्षाले मानिसलाई सेल्फिस हुन सिकाइरहेको छ । संकीर्ण र संकुचित बनाइरहेको छ । उद्देश्य र लक्ष्यविना जागिरका पछाडि दौडने भिड मात्र उत्पादन गरिरहेको छ ।

भारतको समग्र शिक्षापद्धतिमै समस्या आएको हो ?

हामीले आजको पुस्तालाई जीवन जिउने कला सिकाउन सकिरहेका छैनौं । भारत र नेपालको मात्र सवाल नभएर समग्र विश्वकै चिन्ताको विषय भएको छ । विश्वविद्यालयहरूले अहिलेका विद्यार्थीलाई के पढाउने भनेर निर्क्याेल गर्न सकिरहेका छैनन् । जीवनको यथार्थ पत्ता लगाउन के पढाउने भन्ने कुरामा अलमलमा छन् । सबैलाई एउटै सबालमा प्रतिस्पर्धी बनाएर पढाइरहेका छन् । तर आज शिक्षित भनिने वर्ग संकुचित र संकीर्ण बन्दै गइरहेको छ, कर्तव्यबाट विमुख पनि ।
जीवन जिउने नभएर आजको शिक्षा जेब भर्ने कला पढाउन व्यस्त छ । आजको मिलेनियम जनेरेसन साँच्चै कन्फ्युज्ड छ । उसलाई सही मार्गनिर्देशनको अभाव छ । आजका विद्यार्थी पैसा कसरी कमाउने भन्ने दौडमा छन् । केले यस्तो गराएको छ, सबाल गर्नुपर्ने बेला आएको छ ।

केले त्यस्तो गराएको होला त ?

कर्पाेरेट कल्चरले । म सिजेनम कलेजमा छँदा समाजका उदाहरण प्रस्तुत गरेर शिक्षालाई कसरी समाजसँग जोड्न सकिन्छ भनी अध्यापन गराइन्थ्यो । तर आज त्यस्तो छैन । डिजिटल युगमा कसरी लगानीलाई छिटो प्रतिफलयुक्त बनाउन सकिन्छ भनेर मात्र सिकाइन्छ । अनि उनीहरूले के सिक्ने ? मैले तथ्यांकशास्त्र पढे पनि साइकोलोजी, फिलोसफी घरबाटै सिकेको हुँ । कसरी भने घरमा कोही आएको छ भने कस्तो अतिथि हो, उसलाई चिया–पानी के टक्य्राउने, खाना खाने बेलामा आएको भए उसलाई उसलाई भोक लागेको छ कि भन्ने ख्याल गरिन्थ्यो । घरघरमा संस्कार हुन्थ्यो । आज त्यो चलन पूरै ध्वस्त भएको छ । त्यो मिसिङ भएको छ । विद्यालयमा शिक्षक नियुक्ति, विश्वविद्यालयमा प्राध्यापक नियुक्ति होस् वा उपकुलपति र कुलपति नियुक्त गर्न, पैसाकै बार्गेनिङ हुन्छ । अनि कसरी शिक्षामा सुधार होला ?

समाजमा शिक्षाभन्दा प्रविधिको पहुँचले त्यस्तो भएको हो कि ?

हुन सक्छ । तर संस्कार र पद्धति त आफ्नो हुनुपर्ने हो । त्यो पनि ध्वस्त छ । आजको ह्वाट्सएप विश्वविद्यालयले बाबु, आमा, छोरा–छोरीलाई एउटै कुरा अपडेट गराइरहेको हुन्छ । त्यसलाई ग्रेडिङ र प्युरिफिकेसन गर्ने ज्ञान हराउँदै गएको छ । आजको प्रविधिले गर्दा विद्यार्थीको क्रिएटिभिटी ध्वस्त छ । एउटा अध्ययनअनुसार आज फोर ‘टी’ मिसिङ भइरहको छ । जस्तै– ‘ट्रस्ट, टच, टक र टाइम’ को भ्यालु नै लस भएर गएको छ । हिजो आमाले बच्चालाई रुघा लाग्यो भने छातीमा भिक्स दलिदिन्थे । आमाको स्पर्शले उसलाई भिक्सले भन्दा छिटो काम गरिरहेको हुन्थ्यो । आज त्यो संस्कार हराउँदै गएको छ ।
घर–परिवारमा सामूहिक संस्कार हुन्थ्यो । दुःखसुख साटासाट हुन्थ्यो । आजको मोबाइलको जमानामा परिवारमा कसैको कसैसँग भेट छैन । कसैको मतलब छैन । झन् नयाँ पुस्ता त फेसलेस भइरहेको छ । त्यस्तो परम्परा र संस्कारबाट कसरी जोगाउने संस्कृति ? खोइ राज्य, सरकार र शिक्षाविद्ले चिन्ता गरेको ?
भारतमा १ हजार विश्वविद्यालय र ५० हजारभन्दा धेरै कलेज छन् । त्यहाँ लाखौं नौजवान अध्ययनरत छन् । गुणका हिसाबले सबै समान होलान् । मौलिकता हराउँदै गएको छ । त्यहाँका उत्पादनमा सभ्यता र संस्कार हराउँदो छ ।

सभ्यता र संस्कार किन हराइरहेको होला ?

सभ्यता र संस्कारभन्दा मिडियाको प्रभाव ज्यादा छ । २४ घण्टामा ७ वटा न्युजको व्यापार गरिन्छ । एउटै कुरालाई पटक–पटक दोहोर्‍याई–तेहर्‍याई सर्वसाधारणलाई आफ्ना उपभोक्ता बनाइन्छ । त्यसले पनि समाज मूल्य, मान्यता र संस्कारविहीन भइरहेको अवस्था छ । त्यही समाजको अंग बनेका विद्यालय, विश्वविद्यालयले कस्तो संस्कार अपनाउलान् ? प्रविधिको उपयोग गरिरहँदा मूल्य, मान्यता र संस्कार बिर्सन भएन नि !

भारतका सबै शैक्षिक संस्थाको अवस्था चिन्ता गरिएजस्तै हो ?

विश्वविद्यालयको कुलपति रहिसकेको व्यक्तिले सबै त्यस्तै हो भन्न मिल्ने हो/होइन । तर संख्या धेरै भए पनि ज्ञानको स्तर चिन्ताजनक नै छ । आजको शिक्षापद्धति प्रतिशोध, अहंकार, बजारीकरणभन्दा बाहिर जान सकिरहेको छैन । त्यसले गर्दा युवा दिशाहीन बनिरहेका छन् । शैक्षिक संस्थामा अध्ययन गरेको विषय र बजारको अवसरमा मेल खाइरहेको छैन । विद्यालय वा कलेजमा टिचर त छन् तर मेनटोर छैनन् । मेनटोर भन्नुको अर्थ दिशाबोध गराउन सक्ने अभिभावक छैन । चाहे राजनीति होस्, परिवार वा समाज, मेनटोरको अभाव देखिन्छ ।

भारतको वर्तमान सरकारले शिक्षामा परिवर्तनको नारा दिइरहेको छ नि ?

मैले धेरैपटक भनिसकेको छु, ‘देअर सुड बी एजुकेसन इन पोलिटिक्स, बट नट पोलिटिक्स इन एजुकेसन ।’ राजनीतिमा शिक्षा हुनपर्छ तर शिक्षामा राजनीति होइन । अहिलेको सरकारले शिक्षामा राजनीति गरिरहेको छ । विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको छ । शिक्षालाई समाज र बजारभन्दा धर्म र पार्टीसँग जोड्ने काम गरिरहेको छ । अनि कस्तो परिवर्तनको अपेक्षा गर्ने ?

अहिले विश्वविद्यालयमा अध्ययनरत पुस्ताका लागि सुझाव ?

अरूको बाटो नहेर आफैं आफ्नो बाटो बनाऊ, भन्न चाहन्छु । शिक्षाले सचेत मात्र गराउँछ, रचनात्मकता आफैंले सिर्जना गर्ने हो । ‘डन्ट गेट एक्सपोलाइट फर पिपुल, डन्ट फरगेट कम्युनिटी’ । काम गर्दा मानिसलाई शोषण नगर अनि समुदायलाई पनि नबिर्स भन्ने सन्देश हो । काम गर्दा सबैभन्दा पहिला अरूका बारेमा ध्यान देऊ अनि मात्र आफ्ना बारे सोच भन्ने मेरो सुझाव छ । जति आफूलाई ध्यान दिन्छौं, त्यति नै समाज र परिवारबारे सोच्न सक्ने बनाउनु नै शिक्षाको उपलब्धि हो । तर यहाँ पहिला आफू अनि मात्र अरू भन्ने सोच हाबी भयो ।

प्रतिक्रिया दिनुहोस्