१७ बैशाख २०८१, सोमबार

 

‘महिला हित सहकारी विपन्न महिलाहरूको आर्थिक आधार हाे’

लीलादेवी खड्का, अध्यक्ष, महिला हित सहकारी संस्था लिमिटेड, बागलुङ

महिला हित सहकारीकाे नेतृत्व गरिरहनुभएकाे छ ? यसमा लाग्न केले प्रेरित गर्‍याे ?

महिला हित सहकारी सहर र गाउँमा बस्ने विपन्न,सम्मान प्राप्त गर्न नसकेका, किनारमा पारिएका महिलाहरूको आर्थिक जीवनमा परिवर्तन ल्याउन सक्रिय संस्था भएकाले यो सहकारीको नेतृत्वमा बसेर काम गर्न पाउँदा गौरव महसुस हुन्छ ।

याे सहकारीमा आउनुअघि के गर्दै हुनुहुन्थ्यो ?

म सामाजिक कामका साथै निजामती सेवामा थिएँ । ३३ वर्ष सरकारी सेवामा बिताएँ । २०४३ चैत २५ गते म १८ वर्षको हुँदा सरकारी सेवामा प्रवेश गरेकी थिएँ । त्यति बेला अञ्चलाधीश नरेन्द्रबहादुर थापाले मेरो बुबाको अनुरोधमा मलाई जागिर लगाइदिनुभएकाे थियाे ।

पहिलो तलब कति थियो ?

मेरो पहिलाे तलब ६ सय ४५ रुपैयाँ थियो । त्यसबाट बहिनीलाई लुगा किनिदिएर बाँकी पैसा आमाबुबालाई दिएकी थिएँ ।

कस्तो रह्यो जागिरे जीवन ?

पञ्चायती व्यवस्थामा कर्मचारीलाई कडा अनुशासनमा राखिएको थियो । काममा तलमाथि गरे कडा दण्ड थियो । लगाएको काम कर्मचारीहरूले सचेत ढंगले गर्थे । अहिलेजस्तो अराजकता थिएन । सुरुमा ६ महिना अस्थायी कर्मचारीको नियुक्ति पाएको थिएँ । पछि कौशलदेव जोशी सिडिओ हुँदा रूपन्देहीमा परीक्षा दिएर स्थायी भएँ । २०७६ सालमा सरकारी जागिरबाट बिदा लिएपछि महिला हित सहकारी र अन्य संघसंस्थामा अझ सक्रिय भएर लागेँ ।

सरकारी काम र सामाजिक सेवालाई कसरी सन्तुलन मिलाउनुभयो ?

सरकारी जिम्मेवारी पूरा गर्दै सामाजिक कामलाई पनि सँगसँगै अगाडि बढाएँ । २०५२ सालमा गठित महिला हित संरक्षण समूहमा कोषाध्यक्ष भएर काम गरेँ । यो समूहलाई खड्ककुमारी खड्काले नेतृत्व गरेकी थिइन् । हामीले समूहमार्फत सामाजिक विकृतिविरुद्ध अभियान चलाएका थियौं । महिलामाथि भएका हिंसाविरुद्ध कडाइपूर्वक आवाज उठायौं ।यसले गर्दा पीडित महिलाको मनोबल बढ्न थाल्यो । सामाजिक सुधार र सहकारीमार्फत आर्थिक सशक्तीकरणमा अघि बढेपछि महिला दिदीबहिनीहरूको मुहारमा धेरै खुसी देख्न पाइयो ।

आफ्नो टोललाई मदिरा–निषेधित बनाउन कसरी सफल हुनुभयो ?

मदिराका कारण धेरैका घरमा झगडा पर्नुका साथै वैवाहिक जीवन तहसनहस भएको हामीले प्रत्यक्ष देखेका थियौं ।मदिराविरुद्धको अभियानमा यस्तो समस्या भोगिरहेका धेरैले साथ दिएपछि पेन्सन क्याम्प टोल, गुठी बजारलगायत टोलका सर्वसाधारणले राहत महसुस गरे । अभियान सफल बनाउन हाम्रो समूहका सचेत महिलाहरूले ठूलो संघर्ष गर्नुपरेको थियो । हामीलाई पनि नानाथरी आरोप लाग्यो ।

सहकारीले महिलाको हितमा कसरी काम गरिरहेको छ ?

महिला दिदी–बहिनीहरूले सहकारीमा दैनिक, साप्ताहिक र मासिक रूपमा बचत गर्न थाले । सँगै ससाना व्यवसायी कर्जा लगेर लगानी गरे । यसबाट उनीहरूको दैनिक जीवनमा विस्तारै परिवर्तन आउन थाल्यो । बच्चा पढाउन, व्यापार विस्तार गर्न, औषधि–उपचार, घरलाई चाहिने सामान खरिद गर्न उनीहरूलाई धेरै सहज भयो । उनीहरूले बचतको महत्त्व बुझे । कर्जा लगेपछि मेहनत गरेर काम गर्ने, मासिक ब्याज र किस्ता तिरेर ऋण घटाउने र व्यापार बढाउने तरिका सिके ।

अहिले कति महिला आबद्ध छन् ?

अहिले ९ सय ६७ जना महिला सहकारीमा आबद्ध छन् । यसको सेयर पुँजी २ करोड ४३ लाख पुगेको छ । सहकारीले आफ्नो भवन निर्माण गर्न पनि जग्गा खरिद गरिसकेको छ । छिट्टै आफ्नै भवन बनाउने काम पनि सुरु हुँदै छ ।

कति जनालाई रोजगारी दिएको छ सहकारीले ?

अहिले ८ महिलालाई रोजगारी दिएको छ । सुरक्षा गार्डको पनि व्यवस्था गरेका छाैं । आर्थिक कारोबार बढेपछि सुरक्षा व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस भयाे । सिसिटिभी क्यामरा पनि जडान गरेका छाैं । कर्मचारीले न्यूनतम तलब ९ हजारदेखि १५ हजारसम्म पाउँछन् । संस्थागत रूपमा दिनुपर्ने सबै सुविधा दिँदै आएका छाैं ।

सुत्केरीभत्ता पनि दिने गर्नुभएकाे रहेछ, हाेइन  ?

सेयर सदस्य सुत्केरी हुँदा सहकारीले पन्ध्र सय रुपैयाँ दिने गरेकाे छ । सानै रकम भए पनि अप्ठेराे अवस्थामा उनीहरूलाई सहकारीकाे साथ छ भन्ने सन्देश दिन खोजेका हौं । प्रसूतिका बेला आमा र नवजात शिशुलाई पोषणयुक्त खाना खुवाउन सहयोग पुगोस् भन्ने यसको लक्ष्य हो । नवजात शिशुका लागि ‘कोपिला बचत’ भनेर निःशुल्क खाता पनि खाेलिदिने गरेका छाैं । यसमा बालबालिकाले चाडपर्व र जन्मदिनमा संकलन गरेको रकम बचत गरिरहेका छन् । यसमा सहकारीले आकर्षक ब्याज दिएको छ । हामीले सेयर सदस्यको मृत्यु हुँदा परिवारलाई २ हजार ५ सय रुपैयाँ सहयाेग गर्ने गरेका छाैं ।

साहू, ठूला सहकारी र बैंकहरूले विश्वास नगरेका महिलालाई कर्जा दिने वातावरण कसरी बन्याे ? 

हामीले यो सहकारी दुःखी, गरिब महिलाको आर्थिक जीवनमा परिवर्तन ल्याउन स्थापना गरेका हौं । परिवार र समाजले हेला गरेका, पतिकाे मृत्युपछि बालबालिकाको जिम्मेवारी बाेकिरहेका र गरिबीका कारण सडकमा आउन लागेका महिलालाई हामीले विश्वास गर्‍याैं । उनीहरूलाई सहकारीको सिद्धान्त र महत्त्व बुझाउँदै ससाना कर्जा दिएर काम गर्न हौसला दियौं ।

साहू–महाजन, ठूला सहकारी र बैंकले विश्वास नगरेका ती महिलाले हाम्रो सहकारीसँग मिलेर धेरै राम्रो काम गरे । हामीले उनीहरूको साहस र परिश्रमलाई उच्च महत्त्व दिएका थियाैं । एक दशकमा टीका भण्डारी, विष्णुमाया बोहरा, दीपा पाइजालगायत सेयर सदस्यहरूको जीवनमा ठूलो परिवर्तन आयो । कसैले छोराछोरी पढाउन विदेशमा समेत पठाएका छन् । कसैले घर बनाए, कसैले पसललाई आधुनिकीकरण गरे । कसैले घरलाई चाहिने महँगा सामान किन्न सक्ने भए ।

प्रतिक्रिया दिनुहोस्