१६ बैशाख २०८१, आईतवार

 

जो माओवादीलाई हतियार ल्याइदिन्थे

माओवादीको दसवर्षे सशस्त्र द्वन्द्वको पर्दापछाडिका एक कुशल पात्र हुन् बागलुङका माधवप्रसाद शर्मा (गौतम) शर्मा । त्यति बेला उनी भारतबाट हतियार खरिद गरेर माओवादीका लागि नेपाल पठाउन सक्रिय रहे ।

पञ्चायत कालमा शर्मा भारतमा रहँदा डा. बाबुराम भट्टराईहरूसँगको संगतले नेकपा मशालमा संगठित भएका थिए । भट्टराईको विश्वासपात्र रहेर उनले सशस्त्र द्वन्द्वमा भारत प्रवासमा बसेर काम गरे । तत्कालीन नेतृत्व र आन्दोलनलाई लगाएको गुन पछि माओवादी सत्तामा गए पनि तिर्न नसकेको उनी बताउँछन् । भारत सरकारको दूरसञ्चार कम्पनीको कर्मचारी रहेकै बखत शर्मा माओवादीका लागि गोरखपुरमा सेल्टरदाता बन्न पुगे । नेताहरूको सुरक्षादेखि हतियार खरिद र पैठारी गराउन क्रियाशील रहे । द्वन्द्व चरम उत्कर्षमा रहँदा सन् २००१ मा हतियार नेपाल भित्र्याउने क्रममा उनी पक्राउ परेका थिए । करिब ३ वर्ष जेल बसेपछि रिहा भए । रिहा भए पनि भारत सरकारले खरखजाना ऐनअन्तर्गत लगाएको मुद्दा अहिलेसम्म टुंगिएको छैन । पक्राउ परेको समयको पनि आधा तलब भने पाएको उनी बताउँछन् ।

‘तर, प्रचण्ड र बाबुरामले मैले लगाएको गुन तिर्नुभएन,’ उनले भने । शर्माले आफ्ना विरुद्ध भारतमा रहेको मुद्दा टुंग्याइदिन भट्टराई र दाहाल प्रधानमन्त्री भएका बेलासमेत आग्रह गरे । तर सुनिएन । बरु हुँदाखाँदाको नोकरीसमेत छाड्नुपर्‍यो ।
नोकरी छाड्दा पाउनुपर्ने लाखौं रुपैयाँ उनले गुमाए । त्यसकै लागि अर्काे केस दायर गरेका छन् तर फैसला भएको छैन । सरकारमार्फत भारत सरकारलाई आग्रह गर्न लगाए पनि सुनुवाइ नभएको उनको अनुभव छ । त्यसो त सिपी गजुरेललगायत नेता भारतमा पक्राउ परे पनि उनीहरूको मुद्दा माओवादी सत्तामा पुगेपछि सरकारको आग्रहमा खारेज भएको नजिर छ । तर त्यो नजिर उनका हकमा स्थापित हुन सकेन ।

सन् २००१ मा रूपन्देहीको मर्चवार नाका भएर हतियार पैठारी गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको थियो । रंगेहात फेला परेका उनी भारतमा ‘रिभोलुसनरी’ आतंककारी सूचीमा दर्ज छन् । ३२ महिना जेल बसेका शर्मा १ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । उक्त हतियार बिहारमा खरिद गरेको उनले सुनाए । श्रीलंकाका लिट्टे, असामका उल्फा र नेपालका माओवादीलाई हतियार सप्लाई गर्ने समूह एउटै रहेको उनले बताए ।

शर्माले हतियार खरिद गर्न जाँदाको एउटा किस्सा सुनाए, ‘सुरुमा उनीहरूले नचिनेर नेपालका माओवादीले मात्र हतियार किन्न सक्छन् भन्दै मलाई फर्काइदिए । किनकि मैले आफूलाई माओवादी हुँ भनेर चिनाएको थिइनँ । चिनाउन सकिने अवस्था पनि थिएन । पछि चाचा गएर उनीहरूसँग हतियार खरिद गरे ।’ तर त्यो सबै प्रबन्धको जिम्मेवारी आफूलाई नै रहेको उनी बताउँछन् । शर्माका अनुसार धेरैजसो हतियार नेपालगन्जदेखि ठुटीबारीसम्मका सीमा–नाकाबाट भित्र्याइन्थ्यो । एके ४७ पनि भारतीय समूहबाटै किनेर माओवादीमा भित्र्याइएको थियो ।

यता माओवादी द्वन्द्वकै उपलब्धिस्वरूप सत्तामा पुगे पनि शर्माविरुद्धको मुद्दामा कहिल्यै ध्यान दिएन । त्यसैको परिणाम, उनी सेवानिवृत्त जीवनमा पनि अदालत धाइरहेका छन् । उनले यसबारे पार्टीका शीर्षनेता प्रचण्डलाई जानकारी नगराएका होइनन् । ‘प्रचण्डले सोध्नु त हुन्छ, तपाईंको मुद्दा के भयो भनेर । भेट हुँदा मिलाइदिन्छु पनि भन्नुहुन्छ तर अब त विश्वासै लाग्न छाड्यो,’ उनले भने ।

यति बेला राजनीतिक आस्थाका हिसाबले उनी न माओवादी एकीकरणपछिको नेकपामा छन् न त बाबुराम भट्टराईको समाजवादी दलमा । उनको बुझाइमा राजनीति कमाउन गरिएको धन्दाजस्तै भएको छ ।

युवा उमेरमा रोजगारीका लागि मुगलान पसेका शर्मा अन्जानमै राजनीतिमा पसे । पछि त्यही नशा बन्यो । भारत सरकारको विद्युत् विकास बोर्डको कर्मचारी रहे पनि उनी नेपालको राजतन्त्र पल्टाउनेहरूका लागि विश्वासपात्र बन्न पुगे । ‘मैले धोखा दिएको भए त्यो आन्दोलनका मोड पनि परिवर्तन हुन सक्थ्यो । तर ममा पाप कहिल्यै जागेन,’ उनले भने ।
शर्मा सन् १९७५ मा १८ वर्षको उमेरमा रोजगारीका लागि भारत हान्निएका थिए । त्यति बेला केरला राज्य पुगेका उनी वामपन्थी राजनीतिमा झुकाव राख्ने भए । भारतमा पश्चिम बंगाल र केरला कम्युनिस्ट प्रभावित राज्य थिए । त्यही प्रभावले उनलाई पनि छोएको थियो ।

यता पञ्चायती व्यवस्था रहेकाले नेपालका कांग्रेस–कम्युनिस्टका लागि भारत सुरक्षित स्थान थियो । उनको निवास वामपन्थीका लागि सेल्टर बन्न पुग्यो । उनी एकता समाजमा संगठित भए । नेपालमा त्यसको माउ संस्था थियो, ‘मशाल’ । त्यसका क्रियाशील कार्यकर्ता थिए भारतमा अध्ययनरत बाबुराम भट्टराई । भट्टराईलाई भारतमा धेरथोर कमाइ गर्ने कार्यकर्ता आवश्यक थियो । शर्मा त्यस्तै थिए । दुवैको आस्था मिलेका कारण संगत पनि बाक्लिँदै गयो । त्यतिन्जेल उनी केरलाबाट गोरखपुर आइसकेका थिए । नेपालमा कडा प्रतिबन्ध थियो । नेताहरू उतैबाट सम्पर्क–सूत्र बनाएर राजनीति हाँकिरहेका हुन्थे ।

मशालको राजनीतिमा संठित रहँदा मोहनविक्रम सिंह, मोहन वैद्य, दीनानाथ शर्मा, सिपी गजुरेललगायत नेताबाट प्रशिक्षित भए शर्मा । बाबुरामको संगतमा धेरै कुरा सिक्न पाएको उनी सगर्व बताउँछन् । बाबुराम पनि ०५२ सालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादीका तर्फबाट ४० बुँदे माग बुझाएर भारत हान्निए । गोरखपुर पुगेर उनै शर्माकहाँ एक हप्ता बसे । अरू बेला पनि बाबुरामका लागि सुरक्षित सेल्टर बनिरह्यो शर्माको निवास । करिब ४ वर्ष बाबुराम त्यहीँ बसेर नेपाल–भारत आउजाउ गरिरहन्थे । ‘बाबुराम भट्टराईलाई पहिलोपटक सन् १९९८ मा मोबाइल फोन किनेर दिने मानिस म नै हुँ,’ शर्माले भने, ‘त्यसमा सिम पनि आफ्नै भारतीय प्रमाणपत्रबाट निकालेर हालिदिएको थिएँ ।’
नेपालमा ०५९ असोज १८ पछि राजा ज्ञानेन्द्रले देउवा सरकार अपदस्थ गरेर संकटकाल घोषणा गरेपछि बाबुरामले लेख्ने लेखहरू नेपाली सीमामा आएर कुरियरमार्फत राजधानी काठमाडौंस्थित पत्रिकाको कार्यालयमा पठाउने गरेको उनी बताउँछन् ।

शर्माले खुफिया शैलीमा पार्टीले दिएका धेरै जिम्मेवारी पूरा गरेका थिए । माओवादीले नेपालमा बैंकबाट लुटेको पैसा भारतमा पुर्‍याएर त्यसबाट हतियार खरिद गरिदिन्थे । ‘बैंकबाट लैजान अप्ठयारो हुँदा एम्बुलेन्समा नक्कली बिरामी बनाएर, बिरामीको बिस्तरामा नोटका बिटा लुकाएर गोरखपुर पुर्‍याएका थियौं,’ उनले भने । त्यति बेला बाबुरामका स्वकीय सचिव विश्वदीप पाण्डेका पिता चाचा (भक्ति पाण्डे) नक्कली बिरामी बनेको उनलाई ताजै छ । माओवादीलाई हतियार ‘सप्लायर’को जिम्मेवारी पाएका चाचालाई भारतका एजेन्टसँग सम्पर्क स्थापित आफैंले गरिदिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्