१७ बैशाख २०८१, सोमबार

 

‘पाँच वर्षभित्र वाचा पूरा गरिसक्छौं’

स्थानीय तहको निर्वाचन भएको साढे २ वर्ष बितिसक्यो । यो अवधिमा जनतामाझ गरेका प्रतिबद्धता कति पूरा भए ?

पहिलो कुरा त बागलुङलाई पर्यटकीय नगर बनाउनुपर्ने जनताको अपेक्षा थियो । मैले त्यसअनुसार वातावरण सिर्जना गरेको छु । अहिले भकुन्डेमा होम–स्टेको प्रवर्धन भएको छ । यसअघि अन्तर्राष्ट्रिय पर्यटक जाने मेनु नै थिएन, अहिले बनेको छ । पर्यटकीय तथा धार्मिक महत्त्व बोकेको पञ्चकोटमा बाटो, पानी र अन्य कामका लागि नगरपालिकाले झन्डै १ करोड लगानी गरेको छ । एसियाकै लामो पुल निर्माणाधीन छ, जुन यही फागुनमै सञ्चालनमा आउँदै छ । शालिकराम संग्रहालयको पनि उचित व्यवस्थापन हुँदै छ ।

नगरपालिकाभित्र चियाखेतीको काम अगाडि बढेको छ । बसपार्कको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पर्यटकीय गुरुयोजना बनाउने तयारीमा छौँ । खानेपानी आयोजनामा काम भइरहेको छ । नयाँ प्रविधिसहितको कृषिलाई जोड दिएका छौँ । व्यावसायिक खेती गर्नेलाई नगरपालिकाले अनुदान दिन्छ । जनतामाझ गरिएका सबै प्रतिबद्धता ५ वर्षभित्र अवश्य पूरा हुन्छन् ।

यति बेला तीनै तहमा नेकपाकै वर्चस्व छ तर जनअपेक्षाअनुसार काम नभएको गुनासो निकै सुनिन्छ नि ?

हामीले गर्न नसक्ने कामको पनि जनतालाई आश्वासन बाँड्यौं । त्यसैअनुसार उनीहरूको मनकांक्षा पनि बढ्यो । तर राज्यको स्रोत–साधन एकदमै कम भएकाले जनताको गुनासो आइरहेको हो । यो राजनीतिक दलको धर्म पनि हो । हामीले अपेक्षाहरूलाई नै कुण्ठित गर्‍यौँ भने त लक्ष्य नै तय हुँदैन नि ! अर्को कुरा, देशमा राजनीतिक अस्थिरता थियो । नीति निर्माण गर्ने राजनीतिक दल, त्यसको कार्यान्वयन गर्ने कार्यपालिका, सही काम गर्‍यो/गरेन भनेर हेर्ने न्यायपालिका सही ट्र्याकमा थिएनन् ।

अहिले पनि दलहरूबीच राम्रो संस्कार विकास भएको छैन । भर्खरकै प्रसंग हेरौं, ललिता निवास प्रकरणमा गच्छदार निर्दोष हुनुहुन्छ त ? उहाँलाई राजनीतिक प्रतिशोधकै कारण सरकारले मुद्दा लगाएको हो त ? अख्तियारले पो लगाएको हो । ललिता निवासको जग्गा खोज्ने काम अहिलेको सरकारले गर्‍यो । हामीमा दुई–चार कुरा गल्ती भए त्यसलाई ९० प्रतिशत प्रचार गर्ने र राम्रो कामको प्रचार १० प्रतिशत मात्र गर्ने प्रवृत्ति छ ।

केही कमीकमजोरी पनि नभएका होइनन् । यिनलाई सुधारेर अगाडि बढे गुनासा कम हुन्छन् । अहिले कर्मचारी समायोजनले जनशक्ति अभाव हुँदा पनि भनेजसरी काम गर्न सकेका छैनौँ । तर, करारमा नियुक्त गरेर भए पनि काम अघि बढाउँछौं ।

नगरका भावी योजना के–के छन् ?

हामी जनतामाझ गरेका प्रतिबद्धता एकपछि अर्को सफलताको दिशामा गइरहेका छन् । अब आवधिक योजना बनाउँछौँ । हाम्रा स्रोतसाधन के–के हुन्, स्थानीय वस्तुस्थिति के हो, त्यसको अध्ययन गरेर प्राथमिकता निर्धारण गर्छौं । तिनैलाई समेटेर योजना बनाई पाँच वर्षभित्र पूरा गर्छौं ।

पर्यटन र कृषिलाई नगरपालिकाले कसरी हेरेको छ ?

अहिलेसम्म जहाँ पर्यटनका पूर्वाधार निर्माण भएका छन् त्यहाँ मात्रै चहलपहल बढी छ । गण्डकी प्रदेशमा ३ सयजति होमस्टे सञ्चालनमा छन् । आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनमा जोड दिइएको छ । बागलुङको कुरा गर्दा कालिका मन्दिर, पञ्चकोटलगायतमा लगानी गरेका छौँ । बागलुङ बजारदेखि पञ्चकोटसम्म मोनोरेल सञ्चालनका लागि डीपीआर तयार हुँदै छ । अर्को महत्त्वपूर्ण कुरा, चीनको सहयोगमा बागलुङ–९ मा तामाखानीको अध्ययन भइरहेको छ । २०७७ साललाई बागलुङ भ्रमण वर्ष भनेर मनाउँदै छौँ ।
बागलुङमा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी हुँदै छ । पोखरा विश्वविद्यालयसँग समन्वय भएको छ । यसका लागि नगरपालिकाबाट १ करोड बजेट पनि विनियोजन गरेका छौं ।

बलेवा विमानस्थल बन्द भयो नि । किन हो ?

विमानस्थल अहिले पनि चल्न सक्छ । वायुसेवा निगमको अव्यवस्थापनका कारण रोकिएको हो । हामीले धेरै रकम खर्चेर वातावरण सिर्जना गरेका हौं । विमानस्थल पक्की गर्न २२ करोड बजेट विनियोजन भएको छ । टेन्टर प्रक्रिया सकेर कालोपत्रको काम सुरु भएको छ । दुई वर्षभित्र नगरपालिकाले खर्च नबेर्होने गरी विमानस्थल सञ्चालनमा आउँछ । धावन मार्ग पक्की नहुँदा सबै प्रकारका जहाज जान सक्दैनथे । धावनमार्ग पक्की भएपछि त्यो समस्या हट्नेछ ।

बागलुङमा ठूला उद्योग खोल्नेलाई ५ वर्षसम्म कर छुटको घोषणा गर्नुभएको थियो नि ?

जसले २० जनाभन्दा बढीलाई रोजगारी सिर्जना गर्छ त्यसलाई ५ वर्षसम्म कर छुट दिने कानुन यसअघिको नगरसभाले पारित गरिसकेको छ । उद्योग–घर बनाउन नगरपालिकाले नक्सापासमा ५० प्रतिशत छुट दिन्छ । बिजुली, पानी र बाटो पुगेको छैन भने नगरपालिकाले पुर्‍याइदिन्छ । हामीले लगानीमैत्री वातावरण तयार पारेका छौँ ।

सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेपछि भ्रष्टाचार बढेको सुनिन्छ नि ?

भ्रष्टाचार नियन्त्रण गर्न बस्ने जिम्मेवार पदाधिकारी नै भ्रष्टाचारमा मुछिने भएकाले यस्तो अवस्था आएको हो । नीतिनिर्माण तहदेखि नै राजनीतिक प्रतिबद्धता आवश्यक छ । त्यसका लागि प्रधानमन्त्रीले गरेको प्रतिबद्धता प्रशंसनीय छ । हिजो पनि भ्रष्टाचार हुन्थ्यो, बाहिर आउँदैनथ्यो । अहिले बाहिर आउँछ, त्यस कारण बढेको देखिन्छ । अहिले ललिता निवास प्रकरणमा मुछिएका देखि २ हजारसम्म घुस लिनेलाई अख्तियारले कारबाही गरिरहेको छ । यसलाई थप मजबुत गराएर लगे केही कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्