१७ बैशाख २०८१, सोमबार

 

हामी सबैमा सत्बुद्धि कायम हुन सकोस

आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस ।  हामी नेपालीले प्रजातन्त्र दिवसको अवसरमा अग्रजहरुको योगदान र शहीदहरुको बीरगाथालाई संझिन कर लाग्छ । खासगरी चार शहीद धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथलाई संझिएर प्रजातन्त्र दिवसको उत्सव मनायौ भने मात्र आजको दिनको गरिमा बोध गरेको ठहरिने छ । राजा त्रिभुवन, कृष्ण प्रसाद कोइराला, बीपी कोइराला,डिल्लीरमण रेग्मी, पुष्पलाल श्रेष्ठ, टंक प्रसाद आचार्य, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह लगायतको योगदानलाई आजको दिनमा वाद भन्दा माथि उठेर स्मरण गर्नु बन्दनिय हुनेछ ।

नेपाली नागरिक रैतिबाट नागरिक भएको दिन २००७ फागुन ७ गते हो । त्यसैले यो दिनमा हामी नेपालीले गर्व गर्न सक्नु पर्छ । कुनै पनि देशको इतिहासले त्यो भूगोल चिनाउँछ । साथै त्यहाँको सभ्यता झल्काउँछ । वर्तमानले मित्रता बोध गराउँछ र भविष्यले सहयात्री बनाउउँछ । अनिमात्र सार्वभौम मुलुकको पहिचान बन्दछ । उल्लेखित शब्दको सार बिना हामी सार्वभौम छौं भन्न सक्ने अवस्था रहदैन् । वर्तमानमा रमाएर विगतले सिकाएको पाठबाट मुलुकको स्वाभिमान बचाउन हामी सबै प्रेरित हुनपर्छ । यदि हामीले विगतलाई स्मरण गरिरहँदा इतिहासमा साघुँ राखेर कित्ता काँट ग¥यौ भने हामी सार्वभौम समपन्न हौ. भन्न सक्ने छैनौं । किनकी हाम्रा छिमेकीको इतिहास हाम्रो जस्तो गौरवमय छैन् । उनीहरुको दासको इतिहासमा समाहित हुनपर्नेछ ।

नेपालमा अहिलेसम्म हामीले ६ पटक संबिधान बनायौं । त्यसको जगमा शहीदको बीर गाथा छ । शहीदको गाथासँगै अग्रजहरुको त्याग, निष्ठा, सर्मपण र योगदान पनि छ । त्यसलाई कहिल्यै भुल्न हुनेछन् । त्यो योगदानको स्मरण गरिहँदा इतिहासलाई सम्मान गर्न पर्छ । इीतहासको स्मरण गरिरहँदा फागुन ७ ऐतिहासिक महत्वको दिन विर्सन मिल्दैन् ।
तत्कालिन समयमा भारत स्वतन्त्र भएपछिको चेतनाले जुर्मराएका नेपालीहरुलाई एकतामा आवद्ध गर्नै काम राजा त्रिभुवनले गरेका हुन् । त्रिभुवनको योगदान स्मरण गर्दैमा बर्हिगमित राजा ज्ञानेन्द्र सत्तामा पुनरागमन हुदैनन् । त्यसैले सत्यलाई आत्मसात् गरेर इतिहासको मूल्यांकन गर्न सकौं । नयाँ पुस्तालाई सत्यको इतिहास अध्यापन गराउन सकौ । इतिहासलाई पर्गलेर वर्तमानको स्वार्थमा तामझाम गरेर प्रजातन्त्र दिवस मनाउनुको के अर्थ रहला ?

राजा र जनताको मिलनको संगम त्यो दिन ०७ साल फागुन ०७ लाई स्मरण गर्नु इतिहासको स्मरण हो । साथै गर्व पनि । इतिहासको स्मरण गरिहँदा वाद र प्रतिवादको घेरा भन्दा माथि उठ्न सक्नु पर्छ । वर्तमानमा नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमात्मक भएको छ । नेपालको गणतन्त्रको जगमा ०७ सालको ऐतिहासिक परिवर्तनको योगदान छ । नेपालमा पटक–पटक भएका परिवर्तनले नेपाली जनतालाई सार्वभौम समपन्न देशका नागरिक बनाउनुका साथै स्वतन्त्र नागरिक बनाएको छ । स्वतन्त्रताको जगमा आजको सूचना तथा संचार जगत रमाइरहेको छ । परिवर्तनलाई आत्मसात् गरेर स्वतन्त्रताको उपभोग गर्ने पेशा व्यवसाय मध्ये नेपाली प्रेस जगत पर्दछ । त्यही स्वतन्त्रताको जगमा नेपाली प्रेस विश्व संचारजगतसँग जोडिन पाएको छ । २१ औं शताब्दी सूचना र संचार जगतको भनिरहँदा यदि नेपालले खुला समाजको अनुभव गर्न नपाएको के हुन्थ्यो होला ? त्यो समाजको कल्पना पनि गर्न सकिदैन् । स्वतन्त्रता बिनाको समाज कतिसम्म उत्पीडित हुन्छ भनेर हामीले आफ्ना अग्रजको जीवनी अध्ययन गरे पुग्छ ।

त्यसैले आजको दिनलाई उत्सवका रुपमा मनाइरहँदा ऐतिहासिक मुल्य र मान्यतालार्ई विर्सन मिल्दैन् । स्वाभिमानको इतिहासलाई बचाउन पनि फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा स्मरण गर्न सक्नु पर्छ । नेपाल रहे नेपाली रहन्छौं । नेपाली रहे नेपाल रहनेछ । नेपाली र नेपालको पर्यायवाची बनेको प्रजातन्त्र दिवसको दिनमा देशवासी हामी सबैमा सत्बुद्धि कायम हुन सकोस ।

प्रतिक्रिया दिनुहोस्