१७ बैशाख २०८१, सोमबार

 

‘स्रोतसाधन पहिचान गर्न बजेट आवश्यक छ’

निर्वाचित भएको वैशाखमा तीन वर्ष हुँदै छ, यसबीच कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
जनताका आधारभूत आवश्यकता पूरा गर्नतिर हाम्रो ध्यान केन्द्रित छ । सबै अपेक्षा त पूरा गर्न सकिएको छैन तर केही आधारभूत कुराहरू भएका छन् । यसले हाम्रो काम र सेवा प्रवाहप्रति गुनासो घटेको मैले महसुस गरेको छु ।

जनताको अपेक्षाअनुसार काम नहुनुको कारण के होला ?
देशको समग्र अवस्था हेर्दा सन्तुष्टि मान्ने आधार छैन । राज्य सञ्चालन, राज्य व्यवस्थाभन्दा सेवा प्रवाह गर्ने निकाय, प्रवृत्ति र व्यवहारप्रति नागरिक असन्तुष्ट छन् । अहिले तीन तहका सरकार छन् । स्थानीय तहलाई पनि संविधानले एकल अधिकार दिएको छ । त्यो भनेको आफ्नो स्रोतसाधनमाथि आफ्नो अधिकार भन्ने हो । नेपालमा कतिपय पालिका स्रोतसाधनको पहिचान गर्न नसकेर काम गर्न नसक्ने अवस्थामा छन् । केन्द्र र प्रदेश सरकारले स्रोतसाधन पहिचानका लागि ठूलो मात्रामा बजेट विनियोजन गर्नुपर्छ । तब मात्र जनताको अपेक्षाअनुसार काम हुन्छ । स्रोतसाधनको प्रयोगभन्दा पहिचान नै ठूलो रहेछ ।

बालविवाह र अशिक्षाले जकडिएको तमानमा अहिले केही सुधार भयो कि छैन ?
बागलुङको प्रशासनिक केन्द्रबाट धेरै टाढाको तमान भौगोलिक हिसाबले पनि विकट छ । जहाँ राज्यको पहुँच कम हुन्छ त्यहाँ अशिक्षा र बालविवाहजस्ता कुरीति हुन्छन् । स्थानीय निर्वाचनअघि गरिबी, विपन्नता र अशिक्षा बढी मात्रामा थियो । अहिले विस्तारै कम हुँदै गएको छ । गाउँपालिकाले अहिलेसम्म १६ वटा बालविवाह रद्द गरिसकेको छ । समाजमा जरा गाडेर बसेका विकृति उन्मूलन गर्ने अभियान जारी छ । नजिकका पालिका र जिल्लाका कारण पनि तत्कालै यस्ता विकृति रोक्ने प्रयास सफल हुन सकेको छैन ।

गाउँपालिकाको हिउँदे अधिवेशन सकियो, के–कस्ता ऐन–नियम बने ?
अहिलेको हिउँदे अधिवेशनमा १९ ऐन–नियम निर्माण गरेका छौँ । संविधानले दिएको अधिकारमा बसेर बनाइएका यी कानुनले गाउँपालिकाको समृद्धि र दिगो विकासमा सहयोग गर्नेछन् । जस्तै, गाउँपालिकाभित्र रहने गरी गाउँ प्रहरी ऐन पारित गरेका छौँ । यसले शान्तिसुरक्षा स्थापना गर्नुका साथै विकृति–विसंगति न्यूनीकरणमा सघाउनेछ ।

कृषि र पशुपालनलाई व्यवसायीकरण गर्न के–कस्ता योजना छन् ?
हाम्रो समाज पुरानै प्रणालीको खेती–किसानीमा निर्भर छ । उत्पादित वस्तु बजारसँग नजोडिएसम्म नागरिकको जीवनस्तर र गाउँपालिकाको विकास–समृद्धिको योजना सफल हुँदैन । कृषिलाई यन्त्रीकरण गरी उत्पादनलाई बजारसँग जोडिदिनुपर्छ भनेर हिउँदे अधिवेशनले त्यो खालको नीति निर्माण गरेको छ ।

शिक्षाको अवस्था के छ ?
म निर्वाचित भएकै वर्षदेखि सबैभन्दा बढी बजेट शिक्षामा छुट्ट्याएका छौँ । तमानखोलाकासबै जनतालाई शिक्षित बनाउने उद्देश्य छ । यसअघि बालबालिका विद्यालय नजाने अवस्था थियोे । अहिले उनीहरूलाई विद्यालयसम्म ल्याउने वातावरण सिर्जना गरेका छौँ । शिक्षकहरू नयाँ प्रविधिसँग अपडेट नहुँदा पठनपाठनको शैली पुरानै छ । यो देशकै समस्या हो । तर तमानखोला गाउँपालिकाले पहिलेको तुलनामा अहिले निकै सुधार गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नहुँदा सेवा प्रवाह चुस्त हुन नसकेको गुनासो पनि छ नि ?
तमानखोलामा थोरै कर्मचारीले काम चलाएको अवस्था थियो । अहिले समायोजनपछि दरबन्दीअनुसारका कर्मचारी आइसकेका छन् । मैले उहाँहरूलाई भन्ने गरेको छु, कसैको दबाबमा नपरी गर्नुस्, आफ्नो डिउटी पूरा गर्नुस् । जनताको काम गर्न कर्मचारीलाई सजिलो होस् भनेर हामी पुलको काम गर्छौं ।

गाउँपालिकामा करारमा शिक्षक, स्वास्थ्यकर्मी भर्ना गर्ने अवस्था आउँछ । त्यस्तो बेला मेरो मान्छे हो, त्यसलाई गरिदिनुपर्‍यो भनेर दबाब पनि आउँछ । तर म स्विकार्दिनँ ।

तपाईं निर्वाचित भएपछि जनताले महसुस गर्न पाएका मुख्य काम के–के हुन् ?
सरकारले निःशुल्क शिक्षा भने पनि व्यवहारमा थिएन । त्यहाँका जनताले आधारभूत शिक्षाका लागि पनि पैसा तिर्नुपर्ने अवस्था थियो, अहिले छैन ।
गाउँपालिकाका सबै वडामा स्वास्थ्यसंस्था स्थापना गरेका छौँ । त्यससँगै स्वास्थ्यसंस्था आउन २ घण्टा हिँड्नुपर्ने अवस्था भएका तीन ठाउँमा अहिले प्राथमिक स्वास्थ्य उपचार परामर्श केन्द्र स्थापना गरेका छौँ । गाउँपालिकामा प्रसूतिसेवा, ल्याबसेवा सुरु गरेका छौं ।
गाउँपालिकाभित्र एक घर एक धाराको अभियान सुरु गरेका छौँ । वडा नम्बर ६ मा १ सय १४ वटा धारा निर्माण गरिएका छन् ।
सबै वडा सडक सञ्जालले जोडिएका छन् । अझै केही बस्तीमा सडक पु¥याउने हाम्रो लक्ष्य छ । बुर्तिबाङदेखि बोंगादोभानसम्म ग्राभेलको काम पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्