२६ बैशाख २०८१, बुधबार

 

जसले पत्ता लगाएकी थिइन् सबैभन्दा पहिले कोरोना भाइरस

विश्वमा पहिलो कोरोना भाइरस पत्ता लगाउने महिला जुन अमेल्डा हुन् । उनको जन्म सन् १९३० मा स्कटल्यान्डमा भएको थियो ।

उनी बस चालककी छोरी थिइन् । उनी स्कटल्यान्डको उत्तरपूर्वी ग्लास्गोमा हुर्किएकी थिइन् । उनले १६ वर्षको उमेरमा विद्यालय जान छाडेकी थिइन् ।

उनले ग्लास्गो रोयल इन्फर्मरी नामक अस्पतालमा काम गरिन् । रोगको कारण पत्ता लगाउन शरीरको तन्तुको जाँच गर्ने हिस्टोप्याथोलोजी हेर्ने ल्याब प्राविधिकको जिम्मेवारी थियो उनको । पछि लन्डन बसाइँ सरिन् । सन १८५४ मा उनले भेनेजुएलाका कलाकार एनरिक अल्मेडासँग विवाह गरिन् ।

उनी पछि भाइरसको पहिचान गर्ने विधाकी चर्चित वैज्ञानिक बनिन्। कोरोना भाइरस सन् १९६४ मा लन्डनस्थित सेन्ट टमस अस्पतालको प्रयोगशालामा सबैभन्दा पहिले डाक्टर अल्मेडाले पत्ता लगाएकी थिइन जुन कोरोना भाइरसको एउटा प्रकार हो ।

विश्वलाई अहिले कोरोना भाइरसको महामारीको प्रकोपले आक्रान्त पारेका बेला उनको वैज्ञानिक खोजको महत्त्वले पुनस् चर्चा पाएको हो।

चिकित्सा विज्ञानसम्बन्धी लेखक जर्ज विन्टरका अनुसार ओन्टेरियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर अल्मेडाले इलेक्ट्रोन माइक्रोस्कोपको सहयोगमा आफ्नो असाधारण क्षमता उजागर गरिन् ।

उनको महान् खोज र विशेष विधिका कारण एन्टिबडीको प्रयोग गरी भाइरसहरूलाई अझ प्रस्ट तस्वीरमा उतार्न सकियो । सन् १९६४ मा उनको प्रतिभालाई बेलायत सरकारले मान्यता दिँदै लन्डनस्थित सेन्ट टमस मेडिकल हस्पिटलमा काम गर्न बोलाइयो ।

यो त्यही अस्पताल हो जहाँ हालै कोरोना भाइरस संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको उपचार गरिएको थियो ।फर्किएपछि उनले विल्टसायर सल्सबरीमा रहेको रुघाखोकीसम्बन्धी इकाइमा अनुसन्धान गर्दै आएका डाक्टर डेभिड टिरेलसँग सहकार्य गर्न थालिन् ।

डाक्टर टिरेलले स्वय‍म् सेवकहरूको सहयोगमा नाकबाट निस्कने पदार्थको अध्ययन गरिरहेका थिए । उनीहरू धेरै प्रकारका रुघाखोकीसँग सम्बन्ध भएका भाइरस प्रयोगशालामा उत्पादन गर्न सफल भएका थिए।

सन् १९६०मा सरेस्थित स्कुलका विद्यार्थीको नाकको पदार्थबाट निस्केको एउटा नमुना लिए जुन विशेष खालको थियो । जसलाई पछि बी ८१४ भनियो । उनीहरूले स्वय‍म्‌सेवकहरूमा रूघाखोकीको लक्षण सरेको थाहा पाए तर त्यसलाई प्रयोगशालामा उमार्न वा सङ्ख्या बढाउन भने सकेनन् ।

तर ती भाइरसको मानव अङ्गमा गरिएको परीक्षणमा वृद्धि भएको देखियो । त्यसपछि डाक्टर टिरेलमा इलेक्ट्रोन माइक्रोस्कोपबाट त्यो देख्न सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा जाग्यो । पछि यही नमुना अल्मेडालाई पठाए।

उनले परीक्षणका लागि पठाइएको वस्तुमा भाइरस देखिन् । जसलाई उनले ती इन्फ्लुएन्जा भाइरसजस्तै भएको तर पूर्ण रूपमा उस्तै नभएको निष्कर्ष निकालिन् । उनको अनुसन्धान र निष्कर्ष नै पछि गएर पहिलो मानव कोरोना भाइरस भनेर चिनियो ।

अल्मेडाले यस्ता सूक्ष्म जीव विगतमा मुसामा हेपाटाइटिस र चल्लाहरूमा सङ्क्रामक ब्रोङ्काइटिसको अध्ययन गर्दा देखेकी थिइन् ।
अल्मेडा र उनका सहकर्मीले समीक्षा गरी जर्नलका लागि लेखेको अनुसन्धानात्मक लेख समीक्षकहरूले उनले प्रस्तुत गरेका तस्वीरहरू इन्फ्लुएन्जा भाइरसकै नराम्रा तस्वीर भनेकाले अस्वीकृत भएको थियो ।

सन् १९६५ मा बेलायतको मेडिकल जर्नलमा बी ८१४ नामक नयाँ भाइरस पत्ता लागेको लेख प्रकाशित भयो । र त्यसको दुई वर्षपछि उनले सुरुमा देखेको तस्वीर जर्नल अफ भाइरोलोजीमा प्रकाशित भयो ।

विन्टरका अनुसार डाक्टर टेरिल र डाक्टर अल्मेडा अनि सेन्ट टमसका इन्चार्ज प्राध्यापक टोनी वाटरसनले उक्त भाइरसलाई कोरोना नामकरण गरेका थिए । भाइरसको चित्रमा देखिएको मुकुट वा घेराका कारण यस्तो नाम दिइएको थियो।

डाक्टर अल्मेडाले लन्डनस्थित पोस्ट ग्रेजुएट मेडिकल स्कुलबाट डक्टरेटको उपाधि पाइन् । उनले पछि वेलकम इन्स्टिच्युटमा काम गरिन् जहाँ भाइरसको तस्वीरसँग जोडिएका कैयौँ सर्वाधिकार उनकै नाममा छ।

त्यसपछि उनी योगशिक्षिका पनि बनिन् । सन् १९८० मा सल्लाहकारका रूपमा र भाइरसकै अनुसन्धानमा फर्किइन् । त्यसै क्रममा उनले एचआईभी भाइरसको नयाँ तस्वीर लिन मद्दत गरेकी थिइन्।

सन् २००७ मा अल्मेडाको निधन भयो । उनको मृत्युको १३ वर्षपछि विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उनको वैज्ञानिक खोज र अनुसन्धानको पुन चर्चा भइरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्