१७ बैशाख २०८१, सोमबार

 

विपत्तिको घडीमा अस्थिर सत्तापक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका पछिल्ला कदमले पार्टी र सरकार मात्र नभई देश र जनता नै आश्चर्यमा परेका छन् । यस्तो बेला प्रधानमन्त्रीको विवेकभन्दा पनि अभिमानको ग्रन्थिले काम गरेको अनुभव आमजनताले गरेको छ ।

ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको धेरै भएको छैन । यो उनले स्वास्थ्यलाभ गरिरहेको अवस्था हो । तर, यही अवस्थामा हनुमान् शैलीका कार्यकर्ता र अनुयायीले दिएको सल्लाह र सुझावले उनी हौसिन पुगे । त्यसको परिणाम, अपेक्षा गरेभन्दा विपरीत र प्रतिकूल आउन पुग्यो ।

सारा विश्व कोरोना भाइरसविरुद्ध जुधिरहेका बेला नेपाल भने सत्तापक्षभित्रको राजनीतिक संक्रमणले ग्रस्त हुन पुगेको छ । नेपाल पनि लकडाउनको अवस्थामा छ । यसैलाई अवसर बनाएर प्रधानमन्त्रीले अध्यादेश ल्याउनु, संसद् ‘अपहरण’ गराउन निर्देशन दिनु, दलका सहकर्मीसँग वैमनस्य प्रकट गर्नु आफैंमा विवेकसम्मत निर्णय थिएन ।

अरूको सहानुभूति र स्नेह लिनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेका कदम श्रवणकुमारले अन्धा मातापिताको प्यास मेटाउन पानीको कुण्डमा घैँटो डुबाउँदा सिकारी राजाले बाण प्रहार गरेजस्तै भएको छ ।

लामो स्वास्थ्य समस्याबाट तंग्रिएका प्रधानमन्त्रीप्रति जनताको सहानभूति एकाएक भष्म भएको छ । उनलाई यस्तो अवस्थामा पनि कुन शक्तिले चलायमान् गराएको हो, जिज्ञासाको विषय भएको छ ।

विवेकसम्मत निर्णय र कर्मले भन्दा दम्भ र कुण्ठाले सरकार चलायमान् भइरहेको देखिएको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीका कमीकमजोरी सच्याएर पार्टीलाई सशक्त बनाउन सहकर्मीका लागि उनको कदम मरुभूमिमा जल निकाल्नुजस्तो हुन पुगेको छ
पार्टीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल उनीविरुद्धको मोर्चाबन्दीमा जुटेका छन् ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थालाई बेवास्ता गरेर प्रतिरोधमा आफ्नो सम्पूर्ण शक्ति परिचालन गरिरहनुपरेको छ । त्यसैको पछिल्लो उदाहरण थियो, उनको साहित्यिक रचना ।

उनले रचना गरेको कविताका शब्दले आन्तरिक विपक्षीप्रति प्रहार गरेको जो कोही पाठकले बुझ्न सक्छ । आज शनिबार बहुप्रतीक्षित पार्टीको सचिवालय बैठक बस्न लागेको छ ।

पार्टी यति बेला वैचारिक रूपमा दुई खेमामा विभक्त छ । दुवै खेमाले आआफ्ना पक्षमा संसद्को बहुमत रहेको देखाउन हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । त्यसले पनि यो बैठकमा पार्टीभित्रको शक्तिसंघर्ष झन् मुखरित हुने अनुमान गरिएको छ ।

विडम्बना नै भन्नुपर्छ, तर्क र विवेकले चल्नुपर्ने नेतृत्व र शासनसत्ता यति बेला मुढेबलले चलेको छ । शासनसत्ताका मतियारहरूको दम्भ र अभिमानले देश र जनता बन्धक हुन परेको छ । यही अवस्थाको विदेशी कूटनीतिज्ञहरूले फाइदा उठाइरहेका छन् ।

विभक्त विवेकलाई समीकरणमा बदल्न चिनियाँ राजदूतको भूमिका कति सफल हुन्छ रु पर्खन पर्ने भएको छ । नेकपाभित्रको मनोमालिन्य राजदूत महामहिमका कारण एकतामा परिणत हुन सके हामी नागरिकका लागि सन्तोषको क्षण त होला नै, तर त्यसको मूल्य दीर्घकालसम्म देशले नै चुकाउनुपर्ने हुन सक्छ ।

यो परिस्थिति स्वयं प्रधानमन्त्रीको विवेकले निम्त्याएको हो । त्यसैले समाधान पनि उनैबाट हुनपर्छ । त्यसका लागि उनले त्याग गरेर भए पनि समस्याको समाधान गर्न सकून् ।

त्यो त्याग पार्टी वा सरकारबाट हुन सक्छ । उनलाई सल्लाह–सुझाव प्रकट गर्ने जनहरूले पनि यसलाई आत्मसात् गर्न सकून् । एउटा व्यक्तिको त्यागले समस्याको समाधान आउँछ भने निकास दिन सक्नुपर्छ । त्यस्तो त्यागले मानिस वा समूह कनिष्ठ साबित हुँदैन । ईशावास्योपनिषद्मा पनि भनिएको छ, तेन त्यक्तेन भुञ्जिथा ।

अर्थात्, भोगले भन्दा पनि जीवनलाई त्यागले मुक्ति दिलाउनेछ ।परिस्थितिको गाम्भीर्य मनन गरेर प्रधानमन्त्रीले समस्याको निकासका लागि संयम अपनाउन सक्नुपर्छ । उनले गल्तीको प्रायश्चित्त गरेर बैठकमा सहकर्मीलाई विश्वासमा लिन सक्नुपर्छ । देश लकडाउनमा भएका बेला राजीनामा माग्नु पनि अर्को अतिवाद हो ।

अतिवादले निम्त्याउने परिणाम मूर्दा शान्ति वा प्रतिशोध नै हुन्छ ।भारत स्वतन्त्रताको प्रसंग स्मरण गरौं– सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । भारतमा स्वतन्त्रताको लडाइँ उत्कर्षमा थियो ।

त्यस बखत महात्मा गान्धीका अनुयायीले ‘बापु, यही बेला हामीले पनि ब्रिटिसविरुद्धको आन्दोलन सशक्त बनायौं भने हामीले चाहेको स्वतन्त्रता छिट्टै प्राप्त हुनसक्नेछ’ भनेर सल्लाह दिए । तर गान्धीले ‘यो बेलामा आन्दोलन चर्काउनु कायरता हुनेछ ।

शत्रुलाई अप्ठयारो परेको बेला गौंडो कुरेर गरिने आक्रमणले परिणाम त आफ्ना पक्षमा आउला तर परिणामको प्रतिफल अपेक्षित र दिगो हुँदैन’ भन्ने जवाफ दिए । त्यसपछि केही अनुयायीले उनको आलोचनासमेत गरे । त्यसपछि गान्धी जेल परे । जेलमै रहँदा स्वकीय सचिव र अर्धांगिनी कस्तुरबालाई गुमाए । तर पनि उनले प्रतिशोधात्मक प्रतिक्रिया व्यक्त गरेनन् ।

उपयुक्त अवस्था निर्माण भएपछि सन् १९४२ मा भारत छोडो आन्दोलन उद्घोष गरे । आन्दोलनको प्रतीक्षामा रहेका जनताले पनि साथ दिए ।अन्ततः भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र भयो ।

जीवनभर दासताविरुद्धको आन्दोलनमा क्रियाशील गान्धी स्वतन्त्र भारतमा जम्मा १ सय ६८ दिन जीवित रहे । अहिंसाका साधक गान्धीको हत्या हिंसापूर्ण तरिकाले भयो । तर पनि उनी वर्तमान विश्वमा आदर्श पुरुषका रूपमा बाँचिरहेका छन् ।

उनले गरेको त्याग विश्वजगत्का लागि प्रेरणास्रोत भएको छ । त्यागले भौतिक जीवनमा मात्र नभएर अध्यात्मिक जीवनमा समेत मुक्तिमार्गतर्फ प्रेरित गर्दछ । राजनीतिक खिचातानीमा तँछाडमछाडमा उत्रिनुभन्दा प्रम ओलीले अहिलेको परिस्थितिमा यस्तै त्याग देखाउँदा उनकै व्यक्तित्व अझ उँचो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्