
चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बत पठाउने बताएको छ। आधिकारिक घोषणा नगरिए पनि यो कदमलाई भारत र चीनका सेनाबीच सीमाक्षेत्रमा केही दिनअघि भएको झडपको प्रतिक्रियाका रूपमा हेरिएको छ ।
सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमाक्षेत्रमा खटिएका भारत र चीनका सैनिकले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन्।
हालै लद्दाखमा दुई देशका सैनिकबीच भएको झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । ७६ जना घाइते छन् । हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन।
हङकङका सञ्चारमाध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० मा लेखेका थिए । सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहनेछन् ।
चीन र भारतले लद्दाखको गलवान उपत्यकामा जुन १५ मा भएको घटनामा एकअर्कालाई दोषारोपण गरिरहेका छन् । प्रतिकूल मौसम रहेको यो उच्च हिमाली भेग अक्साई चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रणमा छ ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाब हुँदै आएको छ । यही विषयमा दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।
सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरे पनि कुनै समाधान निस्किएको छैन । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि हात हालाहाल भएको थियो ।