६ जेष्ठ २०८१, आईतवार

 

कोरोनाको खोप उत्पादन सुरु : रुस

रुसको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिनेछ ।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणमा करिब आधा जतिले खोपप्रति अविश्वास गर्दै लगाउन तयार नरहेको जनाएका छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधि पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका थिए ।

दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्तालाई ‘एकदमै आधारहीन’ भनेको थियो । गत मंगलबार रुसी नियामक निकायले देशमै विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिइएको जनाएको थियो ।

रुसले बनाएको खोपलाई लिएर खास गरी अमेरिका र युरोपमा प्रश्न उठिरहेका छन् । यद्यपि केही देशले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे स्वयंले रुसी खोपको परीक्षण गर्ने बताएका छन् । इजराएलले पनि खोप उत्पादन भए खरिदका लागि सम्झौता गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्