५ जेष्ठ २०८१, शनिबार

 

सडक संघर्षपछि सहकारीले आफ्नै गाडीमा उठायो बजारको फोहर

धौलागिरि फोहर संकलन तथा वातावरण संरक्षण सहकारीले ९ दिनपछि बागलुङ बजारको फोहर संकलन गरेको छ । सहकारीको गाडी असोज २५ गते प्रहरीले नियन्त्रणमा लिएपछि रोकिएको फोहर संकलन कार्य आजदेखि शुरु भएको हो ।

सहकारीका अध्यक्ष सुधिर श्रेष्ठका अनुसार सहकारीको गाडीले बिहान ७ बजेदेखि लोकतान्त्रिक चोक, जिपपार्क, गोल्डेन गेट चोक हुँदै श्रीनगर टोलसम्म फोहर संकलन गरेको हो ।

सहकारीले फोहर संकलन फेरि शुरू गरेपछि बागलुङ बजारका उपभोक्ता सहज भएको छ ।सहकारीको गाडीले दिउँसो लाली गुराँस चोक,गोदाम घर चोक, च्याम्बर टोल, लोकतान्त्रिक चोक,अदालत रोड,अस्पताल रोड र मरेपिपलसम्म फोहर संकलन गरेको छ ।

सहकारीको गाडी आएपछि फोहर व्यवस्थापनमा सजिलो भएको बागलुङ नगरपालिका– २ की मिला राजभण्डारीले बताइन् । असोज २५ गते बिहान ११ बजे श्रीनगर टोलबाट नगरपालिकाको पत्रपछि प्रहरीले फोहर संकलन गर्ने गाडी नियन्त्रणमा लिएपछि सहकारीले फोहर संकलन गर्न पाएको थिएन ।

सहकारीले उपभोक्ताको अधिकार सुनिश्चित गर्न र सम्झौता अवधि भर फोहर संकलनको माग गर्दै शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको थियो ।

सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले वातावरण सहज बनाउन र सहकारीको सडक आन्दोलनलाई संवादबाट हल गर्न सहयोग पुगोस भनेर प्रहरीलाई पत्र लेखेपछि सहकारीको गाडी सोमबार साँझ छोडिएको थियो । बजारमा गुनासो नआउने गरेर आज दिनभर र भोलिदेखि नियमित फोहर संकलन हुने अध्यक्ष श्रेष्ठले नयाँविश्वलाई जानकारी दिए ।

थप हेर्नुहाेस् :

सहकारीलाई बागलुङ नगरको फोहर उठाउन दिन स्थानीयको माग, विरोध प्रदर्शनसँगै प्रशासन र नगरपालिकामा बुझाइयो ज्ञापन

प्रतिक्रिया दिनुहोस्