
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलबाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम गर्ने पार्टीले जनाएको छ ।
कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने महासचिव विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले वर्तमान सरकार जनता र राष्ट्रप्रति हदै गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।
‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ ।
हाम्रो पार्टी यति बेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’