४ जेष्ठ २०८१, शुक्रबार

 

बाइडेनको प्रमुख प्रबन्धकमा रोन क्लाइन नियुक्त, आर्थिक पुनरुत्थान र इबोला नियन्त्रणको अनुभव

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक चिफ अफ स्टाफका रूपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् । क्लाइन लामो समयदेखि सल्लाहकारका रूपमा कार्यरत छन् ।

उनलाई ह्वाइट हाउसको कार्यव्यवस्थाबारे निकै लामो अनुभव छ ।क्लाइनले ह्वाइट हाउसमा सन् २०१४ मा इबोला सम्बोधनसम्बन्धी संयोजकको भूमिका पनि निर्वाह गरेका थिए ।

तर यसपटक कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिएको र यसबाट अमेरिका सर्वाधिक प्रभावित रहेको अवस्थामा क्लाइनले ह्वाइट हाउसमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । विभक्त अमेरिकी राजनीति र सिनेटमा डेमोक्रेट अल्पमतमा परेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी जल्दाबल्दा समस्या सुल्झाउनुपर्ने चुनौती छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालमा क्लाइनले बाइडेनको प्रमुख प्रबन्धकका रूपमा काम गरेका थिए । सन् १९९० को मध्यतिर तत्कालीन उपराष्ट्रपति अल गोरको पनि उनी प्रमुख प्रबन्धक रहेका थिए ।

पछिल्लो समय बाइडेनको चुनावी अभियानका उनी प्रमुख सल्लाहकारमध्ये एक थिए । सन् १९८७ को डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपतीय अभियानको समयदेखि नै बाइडेनसँग निकट रहेर क्लाइनले काम गरेका छन् ।

क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थालेलगत्तै कोरोना भाइरस संक्रमण रोक्नेतर्फ प्रमुख रूपमा ध्यान केन्द्रित गर्ने सम्भावना देखाएको छ । क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।

उनले सन् २००९ मा ओबामा प्रशासनको आर्थिक पुनरुत्थान योजना निर्माण र कार्यान्वयनमा पनि केन्द्रीय भूमिका निर्वाह गरेका थिए । प्रमुख प्रबन्धक पदका लागि स्टिभ रिचेट्टी वा ब्रुस रिडको नाम पनि चर्चामा थियो ।

प्रतिक्रिया दिनुहोस्