१६ बैशाख २०८१, आईतवार

 

१८ लाखमा बिक्यो गान्धीको घडी

कुनै बेला महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउन्ड झन्डै अठार लाख रुपैयाँमा बिक्री भएको छ । चाँदीको जलप भएको स्विस घडी गान्धीले एक व्यक्तिलाई सन् १९४४ मा उनको समर्पणका लागि धन्यवादस्वरूप दिएका थिए ।

उक्त घडी उनका नातिसम्मले सम्हालेर राखेका थिए । घडी लिलामीकर्ता एन्ड्य्रु स्टोले शुक्रबार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड हात पार्ने आशासहित उक्त घडी लिलामीमा राखेका थिए ।

स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एक निजी संकलक हुन् । यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो । गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो ।

‘गत अगस्टमा चस्मा आश्चर्यजनक मूल्यमा बिक्रीपछि गान्धीका अन्य सामग्री बिक्रीका अनुरोधहरू आएका छन्,’ उनले भने । ती सामग्रीमा सिक्का र तस्बिरहरू थिए ।

उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो । सन् १९३६ मा उनी नागरिक अधिकारवादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए ।

त्यति बेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए । त्यसको स्वामित्व क्रमशः उनका नातिकहाँ आइपुग्यो । ‘यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो, यो लगाइएको र फुटेको हुनाले महत्त्व थपिएको छ,’ स्टोले भने ।

प्रतिक्रिया दिनुहोस्