१५ बैशाख २०८१, शनिबार

 

निर्वाचित सरकार अपदस्थ गर्नुअघि कश्मीर घुमेर आएका थिए राजा महेन्द्र

राणाशासन अन्त्य भएको एक दशक पुग्नै लागेको थियो । झन्डै एक वर्षअघि सम्पन्न निर्वाचनबाट नेपालमा पहिलोपटक प्रजातान्त्रिक सरकार गठन भएको थियो ।

त्यसै बेला राजा महेन्द्रको तीन महिनाभन्दा लामो विदेश भ्रमण तय भयो । उनको औपचारिक भ्रमणको तालिका यस्तो थियो । जापान, संयुक्त राज्य अमेरिका र क्यानडा ।

तर राजा महेन्द्रले ती देशबाहेक केही अन्य मुलुकको अनौपचारिक भ्रमण गरे र नेपाल फर्किए । उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै पाँच महिनामै बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्नमा उनको उक्त विदेश भ्रमणको पनि भूमिका थियो वा थिएन भन्नेबारे अध्येताहरूबीच मतैक्य छैन ।

तर उक्त भ्रमणबाट नेपाल फर्कने क्रममा भारत र पाकिस्तान दुवैले आफ्नो भनेर दाबी गर्दै आएको विवादित कश्मीरमा चाहिँ राजा महेन्द्रले भ्रमण गरेको प्रमाण भेटिएको इतिहासकारहरूले लेखेका छन् ।

केआई सिंहले प्रधानमन्त्री बनेका बखत एकपटक ‘कश्मीर भारतको अभिन्न अंग भएको’ बताएको बाहेक नेपालले कश्मीर विवादमा कसैको पक्ष लिएको नदेखिएको इतिहासकारहरूको भनाइ छ ।

सन् १९६० को जुलाईमा भारत–प्रशासित कश्मीरमा भएको महेन्द्रको भ्रणमको उद्देश्यबारे पनि इतिहासकारहरूले खासै खुलाउन सकेका छैनन् ।

तर उक्त विवादित भूमिमा सन् १९४७ पछि भ्रमण गर्ने नेपालका उच्च व्यक्तित्वमा राजा महेन्द्र मात्र रहेको देखिएको कूटनीतिक इतिहासका जानकारहरू बताउँछन् ।

कश्मीरी लेखक जीएल कौलको पुस्तक ‘कश्मीर थ्रु द एजेज ९५००० बीसी टू १९६७ एडिस् अ हिस्टोरिकल सर्भे’ मा सन् १९६० जुलाई ८ मा राजा महेन्द्र रानीसहित कश्मीरको राजधानी श्रीनगर पुगेको उल्लेख छ ९पृ १८२० ।

उनी लेख्छन्, ‘राजा महेन्द्र र उनकी रानी जुलाई ८ मा श्रीनगर आइपुगे । त्यहाँ राज्यको सेनामा गोर्खाहरू रहेका थिए, त्यसमध्ये केहीले अचल सम्पत्ति प्राप्त गरेका थिए ।

तर नेपालका राजाको भ्रमण ९निजी नै भए पनि० पहिले कहिल्यै सुनिएको थिएन ।’ कौलले राजाले त्यहाँका गोर्खाबारे चासो राखेको हुन सक्ने खालको संकेत गरेका भए पनि त्यसबारे खुलाएका छैनन् । उनको पुस्तकमा त्यसबाहेक राजा महेन्द्रको उक्त भ्रमणबारे खासै उल्लेख छैन ।

हालै भारत सरकारले खारेज गरेको त्यहाँको संविधानको धारा ३७० अनुसार कश्मीरमा अन्यत्रका व्यक्तिहरूले अचल सम्पत्ति राख्न पाउने सुविधा थिएन ।

कौलले गोर्खाहरूले पनि त्यस्तो सम्पत्ति जोडेको र महेन्द्रको भ्रमणलाई जोडेर हेर्न खोजेको जस्तो देखिए पनि उनले त्यसलाई प्रस्ट पारेका छैनन् । जापान, अमेरिका र क्यानडाको औपचारिक भ्रमणमा गएका राजा विभिन्न देशहरू घुमेर श्रीनगर र त्यसपछि दिल्ली हुँदै नेपाल फर्केको अन्य इतिहासकारले पनि लेखेका छन् ।

भुवनलाल जोशी र लियो ई रोजले लेखेको ‘डेमोक््रयाटिक इनोभेसन्स् इन नेपाल, अ केस स्टडी अफ पोलिटिकल अकल्चरेसन’ मा पनि राजा महेन्द्र उक्त भ्रमणबाट फर्कंदा श्रीनगर हुँदै नेपाल आएको उल्लेख छ ।

क्यानडाको भ्रमण सकिएपछि महेन्द्र नेपाल फर्कंदाको प्रसंग उल्लेख गर्दै उक्त पुस्तकमा लेखिएको छ ९पृ ३८२०, ‘औपचारिक भ्रमण सकेर राजा महेन्द्र नेपालका लागि जुन १६ मा प्रस्थान गरे ।

लिस्बन, प्यारिस, फ्रांकफर्ट, भियना, तेहरान, काबुल, श्रीनगर र दिल्ली हुँदै उनी जुलाई २८ मा काठमाडौं आइपुगे । हालै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र’का लेखक तथा पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई पनि आफू कूटनीतिक सेवामा रहँदा राजा महेन्द्रको श्रीनगर भ्रमणबारे सुनेको बताउँछन् ।

‘मसँग पनि भारतका तत्कालीन शिष्टाचार महापालले महेन्द्रलाई कश्मीर भ्रमण गराएको बताएका थिए,’ उनले भने, ‘उनी पछि त्यहाँको विदेश मन्त्रालयमा उच्च पदमा पनि पुगेका र राजदूत पनि भएका थिए, तर उनको नामचाहिँ अहिले सम्झना भएन ।’

भट्टराईका अनुसार त्यस बेला राष्ट्रप्रमुखका भ्रमणहरू लामा हुने गरेका थिए । त्यसै क्रममा राजा महेन्द्र पनि औपचारिक भ्रमणबाट फर्कंदा श्रीनगर हुँदै फर्केको र त्यहाँ निजी भ्रमणका रूपमा घुमफिर गरेको हुन सक्ने उनी बताउँछन् ।

आफैँले कश्मीरको भ्रमण गरेका भए पनि महेन्द्रले कश्मीरको विषयलाई लिएर भारत वा पाकिस्तानको पक्ष भने नलिएको देखिने गरेको भट्टराई बताउँछन् ।

उनले भने, ‘तर राजा महेन्द्रको स्वभाव राजनीतिक भिन्नता भए पनि व्यक्तिगत सम्बन्धचाहिँ एकदमै निकट राख्ने खालको थियो । त्यसैले यस्ता भ्रमणहरू भइरहन्थे ।’

कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार कश्मीर विवादमा महेन्द्रले कसैको पनि पक्ष लिएको देखिँदैन । नेपालले भारत र पाकिस्तान छुट्टिएका बेलादेखि नै त्यस्तै नीति अपनाउँदै आएको देखिन्छ ।

केआई सिंहले चाहिँ आफू प्रधानमन्त्री भएका बेला कश्मीर भारतको अभिन्न अंग रहेको बताएका थिए । त्यसै कारणले पनि उनलाई चाँडै राजाले हटाएको हुन सक्ने अनुमान पनि गरिन्छ ।

संगीता थपलियालले आफ्नो पुस्तक ‘म्युचुअल सेक्युरेटिस् द केस अफ इन्डिया एन्ड नेपाल’ मा सन् १९५७ अगस्ट ३ मा भएको एउटा पत्रकार सम्मेलनमा नेपालको लामो मौनता तोड्दै सिंहले भारतको पक्षमा बोलेको लेखेकी छन् ।

सिंहलाई उल्लेख गर्दै उनले लेखेकी छिन् ९पृ‍ ७५०० ‘कश्मीर मुद्दामा हामी भारतको समर्थन गर्नेछौँ, कश्मीर भारतको थियो र हो अनि कश्मीरी जनता भारतीय संघमा बस्न चाहन्छन्, हामी उनीहरूको चाहनालाई सम्मान गर्छौं ।’

राजकुमार सिंहले चाहिँ आफ्नो पुस्तक ‘ग्लोबल डाइमेन्सन्स अफ इन्डो–नेपाल पोलिटिकल रिलेसन्स् पोस्ट इन्डिपेन्डन्स’मा पाकिस्तानसँग भारतको तनाव बढिरहेका बेला सन् १९६५ मा भएको राजा महेन्द्रको दिल्ली भ्रमणमा कश्मीर मुद्दामा भारतीय नेताहरूले उनको समर्थन खोजेको लेखेका छन् ।

उनी लेख्छन् ९पृ  १६९०, ‘त्यस बेला भारतीय नेताहरू कश्मीर मुद्दामा राजा महेन्द्रको समर्थन चाहन्थे । नयाँ दिल्लीको अनुरोधपछि राजा महेन्द्र संयुक्त वक्तव्यमा ‘आत्मनिर्णयको सिद्धान्त आश्रित र विश्वास गरिएका क्षेत्रमा मात्र लागू हुन सक्छ र सम्प्रभु राष्ट्रको एकीकृत क्षेत्रसम्म विस्तारित हुन सक्दैन’ भन्ने वाक्य राख्न सहमत भए ।’

उनले युद्धका बेला पाकिस्तानविरुद्ध गोर्खा फौजलाई प्रयोग नगर्न भारतलाई आग्रह गर्नु भनी पाकिस्तानले राखेको प्रस्तावलाई पनि नेपालले त्यस बेला नमानेको लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्