
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकामा जो राष्ट्रपति बने पनि वासिङटनको प्योङयाङप्रतिको नीति बदलिने अपेक्षा नगरेको बताएका छन् । उनले अमेरिका आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भएको उल्लेख गरेका छन् ।
उनको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने घोषणा पनि गरेका छन् । उनले पानीमुनि चल्ने परमाणु जहाज (न्युक्लियर सबमरिन) बनाउने योजना लगभग पूर्ण भएको बताए । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ लिने दिन नजिकिँदै गर्दा उनको प्रतिक्रिया आएको छ ।
विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाब पु¥याउने प्रयत्न भएको ठान्छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकालमा उत्तर कोरियाको पारमाणविक कार्यक्रम नियन्त्रणबारे खासै ठोस प्रगति भएन । वर्कर्स पार्टीको आठौँ कंग्रेसमा ‘शत्रु शक्ति’ले उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म प्योङयाङले आणविक हतियार प्रयोग नगर्ने उनले बताए ।
किमले ‘उत्तर कोरियाली क्रान्तिका लागि सबैभन्दा ठूलो अवरोध र सबैभन्दा ठूलो शत्रु अमेरिका हो, त्यहाँ जोसुकै शक्तिमा आए पनि उत्तर कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन हुँदैन’ भनेको राज्यसञ्चालित समाचार एजेन्सी केसीएनले जनाएको छ ।
उनको भाषणमा लामो दूरीको ब्यालिस्टिक मिसाइलसहित केही परमाणु हतियारको सूची प्रस्तुत गरिएको थियो । कडा आर्थिक प्रतिबन्ध लगाइएको भए पनि परमाणु हतियार विकासमा उत्तर कोरियाले महत्त्वपूर्ण प्रगति गरेको बताइन्छ । यस हप्ताको सुरुमा किमले उनको पाँचवर्षे आर्थिक योजना सबैजसो क्षेत्रमा विफल भएको बताएका थिए ।
उत्तर कोरियाले जनवरीमा कोभिड–१९ फैलिन नदिन भन्दै आफ्नो सीमा बन्द गरेको छ । उसको छिमेकी तथा समर्थक चीनसँगको व्यापार ८० प्रतिशतले घटेको छ । आँधी र बाढीले उत्तर कोरियामा घरहरू र बाली ध्वस्त पारेको छ ।