३ श्रावण २०८३, आईतवार

 

यस्तो थियो पृथ्वीनारायण शाहको पालामा प्रशासन, व्यवस्था, भूमि कर

गोर्खामा जो प्रशासन व्यवस्था थियो, त्यसलाई नबदल्नु भनेर श्री ५ पृथ्वीनारायण शाह काजी रणरुद्र शाहलाई गोर्खामा छोडेर आफु नुवाकोटमा आएका थिए ।

नुवाकोटमा धेरै काल रहेका हुनाले गार्खाको प्रशासन व्यवस्था त्यहाँ र लामीडाँडा जिल्लामा पनि उनले ल्याएका थिए । नुवाकोटबाटै सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखा जितेका थिए तापनि त्यहाँ शान्ति भङग नहोस् भनेर प्रशासन व्यवस्थालाई उनले ज्यादा बदलेका थिएनन् ।

मकवानपुर जितेपछि त्यहाँको प्रशासन व्यवस्था जस्ताको तस्तै राखोका र भक्तपुर दखल भएपछि काठमाडौँलाई राजधानी बनाई आफ्नो सिंहासन समेत त्यहीँ लगे तापनि उनले प्रशासन व्यवस्थामा विशेष अन्तर गराएनन् । किराँतका दुइ सेन ठकुराइ जितेपछि पनि त्यहाँका प्रशासन व्यवस्थामा हेरफेर भएको देखिँदैन ।

श्री ५ पृथ्वीनारायण शाहले नेपालको एकीकरणका निमित्त पहिले नुवाकोटमा अधिकार गर्ने योजना ता बनाए तर, वाराणसीबाट फर्कदा उनको हात रित्तिएको हुनाले वनसित कर्जा लिई र गोर्खाको एक वर्षको आयबाट खर्च कटाई बचेको धनसमेत नुवाकोट दखल भएपछि

गार्खाको प्रशासन काजी रणरुद्र शाहलाई सौँपी श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटलाई राजधानी बनाएपछि गोर्खा र नुवाकोटका आयबाट ऋण तिरी बचेको धनको सहायताले अगाडि बढी लामीडाँडा , सिन्धुपाल्चोक , काभ्रेपलान्चोक र दोलखामा समेत उनले अधिकार गरेका थिए ।

दोलखा अधिकार हुँदा रुम्जाटारको गुरुडको बस्तीसमेत दखलमा आएको थियो ।यस तरहसँग नयाँ प्रदेश जित्दै त्यहाँका आम्दानीबाट खर्च कटाई बचेको धनले अगाडि जित्दै जानुपर्दा खर्चले भ्याउँदैनथ्यो ।

यस कारण गार्खा, नुवाकोट र काठमाडाँैका समेत रैकर जग्गा रजबन्धकी राखी हजारौँ रुपैयाँ कर्जा लिँदै ठकुराइहरु दखल गर्दै जानुपरेको थियो ।

यसरी भुमिमा अधिकार बढाउदै, अधिकार भएका भुमिका प्रशासन व्यवस्था मिलाउदैँ र तीन मल्ल ठकुराइका साथ तीन सेन ठकुराइसमेत उन्मुलन गर्न सफल हुनु श्री ५ पृथ्वीनारायण शाहजस्ता महान् व्यक्तिको काम थियो ।

जितिएका ठकुराइका रैतीहरुले परचक्रीको शासन भनी उनमा विराग पैदा नहोस् भन्नका निमित्त भुमिकर साबिकभन्दा बढाएको देखिन्न । तर, भुमिकर बाँकी नराखी राज्यको आय क्रमश बढाउदै लगेको देखिन्छ ।

इ स १७७० मा काठमाडाँैलाई राजधानी बनाएपछि काठमाडौँ उपत्यकालाई राजधानीक्षेत्र र अन्यलाइृ विस्तृत क्षेत्रहरुमा बाँडेर प्रत्येक जिल्लामा एक एक प्रशासनधिकारी राखिएका देखिन्छन् ।

ती यस तरहसँग रहेका अनुमान गरिन्छन् पश्चिमपट्टि १–गार्खा, २–सल्यान, ३–नुवाकोट, ४–लामीडाँडा । पुर्वपट्टि ५–सिन्धुपाल्चोक, ७–दोलखा, ८–माझकिराँत र ९–पल्लोकिराँत । दक्षिणतर्फ १०–मकवानपुर ,११–चोदण्डी र १२–विजयपुर लतहपट्टि ।

काठमाडौँ उपत्यकामा र बाह्र प्रशानक्षेत्रमा पनि रैकर भुमि सर्वत्र थियो । गार्खामा रजबन्धकी भएका भुमी पनि थिए । यिनको भुमिकर बन्धकवाला उठाउँथे ।

बिर्ता सर्वत्रा थिए, यिनको भूमिकर बिर्ताबार नै उठाउथे । राजगुठि पनि सर्वत्र थिए । यिनको भूमिकर गुठियार उठियार उठाउथे । पल्लोकिराँतमा सेवा जागीर झिकिन्थे पनि । अन्यत्र सेवाबिर्ता पनी थिए ।

सेवा छोडेमा ती बिर्ता पनि रैकर हुन सतmथे । हिमालपटि खेत छदै थिएनन् । पाखा पनि वैरान ज्यादा हुनाले अनाजको उब्जनी कम हुन्थ्यो । पहाडखण्डमा खेत पनि थिए तर कम मात्रमा थिए । खेतको तिरो चर्को थियो ।

पाखावाली भिरालामा हुनाले त्यहाँ मकै,कोदो,मास आदि अनाज मात्र उब्जनी हुन्थ्यो । खेती गर्न कठिन हुनाले तिरो नाम मात्रको नगदी हुन्थ्यो । तराईपटी पनी भाबरमा खेत कम र पाखा ज्यादा हुन्थे । तलहटीपटी खेत ज्यादा हुन्थे । तलहट्टीपट्टि खेत ज्यादा हुन्थे ।

यिनबाट राजकर ज्यादा आउने हुँदा तराईमा अधिकार थाम्नका निमित्त श्री ५ पृथ्वीनारायण शाहले अनेक कुटनीति खेल्नुपरेको थियो ।
श्री ५ पृथ्वीनारायण शाहले किराँतमा आक्रमण गर्नुभन्दा पहिले गोर्खादेखि दोलखासम्मका सेनाको काम गर्न सक्ने मुर्मीहरुलाई उनीहरुको घर बास परेको पाखा जग्गालाई किपट जग्गाको असुल तहसील गर्नु नपर्दा जिल्लाका प्रशासकको काम केही हलुका भएको थियो ।

साधारणतया जिल्लाका प्रशासक सुब्बा वा सर्दार हुन्थे । तर, विजयपुरमा बख्शी अभिमानसिंह बस्न्यात नै सुब्बाको काम पन िगर्दथे । जग्गा भिन्न भिन्न किसिमका भएकाले तिरोको दर फरक भएको थियो ।

तापनि साबिकको दरभन्दा श्री ५ पृथ्वीनारायण शाहले बढाएनन् । रैकर खेतको तिरो धान लाग्दथ्यो । कहीँकहीँ पाखाको तिरोमा मास र पल्लोकिराँतमा अलैँची पनि लाग्दथ्यो ।

यिनको मोल नगद लगाएर असुल गरिन्थ्यो । प्रत्येक जिल्लाको आम्दानी प्राय जिल्लाहरुका काममा लाग्ने भई तलहट्टीबाट मात्र केही नगद उठती भएर काठमाडौँका राज्यकोषमा पुग्दथ्यो ।

भुमिकरबाहेक श्री राज अंक नामक अर्को राजकर पनि लागेको थियो । रानी , पानी , खानी राजाको हुन्छ भन्ने सुप्रसिद्ध नियम भएकाले माछा पाल्ने पोखरीको तिरो, नदीनालाको घाट तर्ने नाउको तिरो र खानीको तिरो राजअंकभित्र पर्दथ्यो ।

बजारमा बिक्री हुन जाने चौपाय र अरु वस्तुको जगातभन्सार पनि राजअंकभित्र पर्दथे । यीबाहेक काठमाडौँ उपत्यकाभित्र रहेका बिर्ता जग्गा खरीदबिक्री भएमा रोपनी एकको ४ आना काम पाको गराएबापत किन्नेसँग कर असुल गरिन्थ्यो ।

यसै गरी पक्की घर खरीदबिक्री हुँदा पनि मामुली कर असुल गरिन्थ्यो र यी पनि राजअंकभित्र पर्दथे । प्रशासक भएका जिल्लाका हाकिमहरुले यो राजअंक उठाउन पाउँदैनथे ।

यस विषयमा अलग विभाग हुन्थ्यो र राजाबाट खटिएका कर्मचारीले यो राजअंक उठाउथे । राजदरबारको खर्च, परराष्ट्रसम्बन्धी खर्च र लडाईको खर्च ज्यादा गरी राजअंकका आम्दानीबाटै चल्दथ्यो र पछि राजकोषमा जगेडा पनि रहन लागेको देखिन्छ । तर, रजबन्धकीका ऋण तिरिएका देखिन्नन् ।

तौतारा , काजीदेखि लिएर खजाञ्ची, कपर्दार, सर्दार , खरिदार र पण्डिततकका खानगीमा जग्गा भर्ना हुन्थे र आफ्ना आफ्ना खानगीमा परेका जमीनको भुमिकर यिनै उठाउँथे ।

यस तरहसँग सामान्यतया प्रशासनको खर्च भुमिव्यवस्थाबाटै चल्दथ्यो । धर्मधिकारीको निमित्त सर्वचान्द्रायण पतियाका रुपमा पानी चल्ने जातसम्मका घरबाट घरैपच्छिे एक आना दानका रुपमा उठाइरुन्थ्यो र यो धर्माधिकारीको आम्दानी हुन्थ्यो ।

उनको अलग खानगी हुदैनथ्यो । राजधानी रहेको काठमाडौँ उपत्यकाको चान्द्रयणदान धर्माधिकारीकै मानिस उठाउँथे । पहाड र तराईपट्टिको चान्द्रायणदान धर्माधिकारीले नियुक्त गरेका अदालतका पण्डितहरुले उठाएर आफ्नो पारिश्रमीक कटाई बुझाँउँदा हुन् ।

सार्की, कामी, दमाई आदिबाट शिल्प कर पनि उठाउने गरेको अुनमान हुन्छ । तर, कागजपत्र नपाइएका हुनाले करव्यवस्था राम्रो प्रकाशमा आउन सकेको छैन ।

(बाबुराम आर्चायद्धारा लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जीवनीबाट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung