७ जेष्ठ २०८१, सोमबार

 

ट्रम्पको अकाउन्टमाथि प्रतिबन्धपछि ट्विटरको सेयर मूल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै सोसल मिडिया कम्पनी ट्विटरको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार ट्विटर कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो जसकारण ट्विटर कम्पनीको बजार मूल्य अढाई अर्ब डलरले घट्न पुगेको छ । अर्थात् डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाइएको घटनापछि ट्विटरले सेयर मूल्यको गिरावटका कारण सोमबार अढाई अर्ब डलर गुमाएको छ ।

ट्रम्पमाथि प्रतिबन्ध लगाउने ट्विटरको कदमविरुद्ध रिपब्लिकन नेताहरूले आलोचना गरिरहेका छन् । ट्विटर र ट्रम्पबीचको विवादका बीच ट्विटरमाथि थप नियमनको आवाज उठ्न सक्ने चर्चा चलिरहेका बेला त्यसको असर ट्विटरको सेयर मूल्यमा परेको बताइएको छ ।

ट्रम्प सर्वाधिक फलोअर्स भएका ट्विटर प्रयोगकर्तामध्ये एक हुन् । ट्विटरमा उनका ८ करोड ८० लाख फलोअर्स छन् भने अर्बौं पटक उनका ट्विटहरू रिट्विट भइसकेका छन् ।

विश्लेषकहरुका अनुसार ट्विटरमा यस्ता लाखौँ प्रयोगकर्ता छन् जो ट्रम्पका अन्ध समर्थक छन् ।

ट्रम्पमाथि स्थायी प्रतिबन्ध हुँदा ती लाखौँ प्रयोगकर्ताले ट्विटर परित्याग गर्न सक्नेछन् । अमेरिकी संसद् भवनमा ट्रम्पको उक्साहटमा गत हप्ता भएको घटनापछि फेसबुकले तत्कालै उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । तत्पश्चात् ट्विटरले पनि ट्रम्पमाथि प्रतिबन्ध लगयो ।

गत बुधबार संसद् भवनमा भएको घटनापछि थप हिंसा भड्किन सक्ने खतरा भएकाले ट्रम्पको अकाउन्टमाथि बन्देज लगाइएको ट्विटरको भनाइ छ । कुनै पनि राज्य प्रमुखहरूमाथि ट्विटरले लगाएको यो पहिलो प्रतिबन्ध हो ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ट्रम्प समर्थकहरूले प्रदर्शन गर्ने सम्भावनाका बीच क्यालिफोर्नियास्थित ट्विटर मुख्यालयबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । विश्लेषकहरूका अनुसार अमेरिकी संसद्मा भएको घटनापछि विश्वमा सोसल मिडियाहरूमाथि कडा नियमनको युग सुरु हुन सक्ने सम्भावना छ । कतिपयले यसलाई सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको घटनासँग समेत तुलना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्