८ जेष्ठ २०८१, मंगलवार

 

सना खान भन्छिन्– नकारात्मक भिडियो बनाएर मलाई तनाब दिइयो

विवाह गर्नुअगाडि नै बलिउड अभिनत्री सना खानले फिल्मक्षेत्र छाडिसकेकी थिइन् । विवाहपछि उनले पतिसँग बिताएका सुन्दर पलका तस्बिरहरू इन्स्टाग्राममा सेयर गर्दै आएकी थिइन् ।

तर पछिल्ला केही दिनयता इन्स्टाग्राममार्फत उनले आफू पीडामा रहेको संकेत गरेकी छन् । सनाले २० नोभेम्बर २०२० मा गुजरातका मुफ्ती अनास सय्यदसँग विवाह गरेकी थिइन् ।

सनाले इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यो समय आफ्नो मन पूरै टुटेको बताएकी थिइन् । उनले आफ्नो पोस्टमा कोही व्यक्तिले आफ्नो बारेमा नकारात्मक भिडियोहरू बनाएर तनाव दिने काम गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘केही व्यक्तिहरू लामो समयदेखि मलाई लिएर नकारात्मक भिडियो बनाउँदै आएका छन् । यो सबै देख्दादेख्दै पनि मैले धैर्यपूर्वक काम गरेँ ।’ कसैले आफ्नो विगतका बारेमा धेरै ‘बकवास’ कुराहरू राखेर भिडियो बनाएको र त्यसले आफूलाई एकदमै कमजोर बनाएको उनको भनाइ छ ।

सनाले उक्त व्यक्तिको नाम भने उल्लेख गरेकी छैनन् । उनले लेखेकी छन्, ‘यो धेरै नराम्रो छ । कसैको समर्थन गर्न सक्नुहुन्न भने मौन बस्नुहोस् । तर, यस प्रकारको कडा प्रतिक्रिया दिएर कसैलाई पनि डिप्रेसनमा पठाउने काम नगर्नुहोस् ।’

उनले अहिले आफूलाई विगतमा फर्केर आफूले गरेका गल्ती सच्याउन मन भएको बताएकी छन् । ‘केही मानिस जीवनमा अगाडि बढ्छन् तर केही मजस्तै छन् ।

जो सोच्छन् कि विगतको त्यो समयमा फिर्ता जान सक्छु र ती चीजहरू परिवर्तन गर्न सक्छु’, उनले अगाडि लेखेकी छन् । उनले असल मानिस बन्न र आफ्नो साथै आममानिलाई पनि परिवर्तन हुन दिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्