१२ कार्तिक २०८३, बुधबार

 

राजनीतिक नौटंकीको पर्दाफास

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेर सडक आन्दोलनमा उत्रिएका माधव नेपाल वैशाख ३० गते सञ्चार–उद्यमी रामेश्वर थापाको घरमा भएको चार घण्टा लामो वार्तापछि एकाएक यू–टर्न भएका छन् । ओलीसँग मौखिक सहमति भएपछि नेपालले भन्दै आएको प्रतिगमन यति बेला सच्चिन पुगेको हो ?

नेपाललगायत चार जना नेतामाथि एमालेले गरेको कारबाही फुकुवा मात्रै भएको छ अहिले । यसलाई नै नेपाल समूहले आफ्नो ठूलो जित भएको महसुस गरेको देखियो । हुन पनि नेपाल समूहको खासै राजनीतिक एजेन्डा नै थिएन भन्ने कुरा अहिले आएर स्पष्ट भएको छ ।

आफ्ना केही मान्छेलाई राजनीतिक नियुक्ति, केही भागबन्डा, केही नेतालाई मन्त्री, अहिलेको सहमति यही नै देखियो ।

अहिले कोरोनाको नयाँ भेरिएन्ट समुदाय स्तरमा फैलिएको छ । दैनिकजसो सयौं नेपाली अस्पतालको बेडमा राम्रो उपचार नपाएर मृत्यु वरण गरिरहेका छन् । एक सिलिन्डर अक्सिजन पाउनु भनेको सञ्जीवनी बुटी पाउनुजत्तिकै महत्त्वपूर्ण हुन थालेको छ ।

यस्तोमा हजारौं–हजारको जुलुस निकालेर प्रतिगमन सच्याउन भनी लागेका नेपालले रातारात ओलीसँग उधारो चेक हातमा लिएसँगै आफूलाई साथ दिँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत जिल्याइदिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले नेपाल र ओलीबीचको सहमतिपछि आक्रोश पोखे । ‘उहाँ सुरुदेखि नै एमालेभित्रै गएर झगडा गरेको भए सबैले आफ्नो सुर गरिसकेका हुन्थे । कांग्रेसमा देउवा र पौडेल झगडा गरेजस्तै गरेको भए त्यो राम्रो हुन्थ्यो,’ उनले भने ।

शुक्रबारको भेटसमेत कुनै नेताको घरमा भएको भए त्यसले सकारात्मक सन्देश जान्थ्यो । तर व्यापारीको घरमा बस्नुले यिनलाई मिलाउने पनि बिचौलिया हुन् भन्ने प्रस्ट देखिएको छ । फेरि पनि दलाल पुँजीवाद हाबी भएको भन्दै दाहालले घटनाको विश्लेषण गरेका छन् ।

साँच्चै राजनीतिमा इमानदारी सबैभन्दा प्रमुख कुरा हो । यति बेला माधव नेपालमा न राजनीति देखियो न त इमानदारी । केही कुरा मोलतोल अनि केही थान मन्त्री आफ्नो गुटलाई लिएर पुग्ने भए त्यत्रो नटङ्की केका लागि ? त्यो जरुरी नै थिएन ।

न हुँदाखाँदाको दुई तिहाइको सरकार ढल्ने थियोे न त पार्टी कोल्याप्स हुने थियोे । साँच्चै नेकपा बनेपछि सबैभन्दा छटपटी माधव नेपाललाई भएको रहेछ भन्ने कुरा अहिलेसम्मको राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको छ ।

ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मतदानमा उपस्थित नभएर पदको बार्गेनिङ गर्ने अनि दुई दिनमा ओलीकै निरन्तरता स्विकार्ने । साँच्चिकै प्रतिगमनविरुद्व आन्दोलन ! गजब छ राजनीति !

सारा विश्व कोरोना भाइरससँग लडिरहेका बेला नेकपाभित्रको गुटको राजनीति केन्द्र हुँदै सडकमा छरपस्ट रूपमा आएको कुरा राजनीतिमा सामान्य रुचि राख्ने जो–कोहीलाई थाहा भएकै विषय हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा बनेपछि देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत ठूलो तरंग आएको थियो ।

देशमा दुई विपरीत ध्रुवका कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा बनेको मात्र होइन, पार्टी एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सारा दुनियाँलाई चकित पारेको धेरैलाई मन परेको थिएन ।

बाहिर सामान्य कार्यकर्तादेखि कम्युनिस्ट शक्तिलाई मन पराउने सबै खुसी भएका थिए । कतिपय सैद्धान्तिक कुरामा असहमति भए पनि दुईतिरका पार्टीका नेता–कार्यकर्ता एकजुट भएर गइरहेका थिए ।

देशमा झन्डै–झन्डै दुई तिहाइको सरकार चलिरहेको थियो । नेकपाभित्र दुई अध्यक्ष प्रचण्ड र ओलीले नेतृत्व गरेर अगाडि बढिरहेका थिए । सबै कुरामा तुषारापात गर्दै नाटक–नौटङ्की गरेर प्रचण्डलाई ओलीको खिलाफमा उतार्ने माधव नेपालको खेल वैशाख ३० गते आउँदा पर्दाफास भएको छ ।

बाँकी रह्यो उधारो सहमति, त्यो त कसरी पालना हुन्छ, कसरी लागू हुन्छ, भविष्यले बताउनेछ । अब सबै कुरा थाँती राखेर कोभिडविरुद्ध एकजुट भई यसलाई परास्त गर्ने संकल्पमा लाग्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung