२२ बैशाख २०८१, शनिबार

 

भैंसी बाँध्ने कटेरोमा चेलीहरू भेला भएर कखरा चिन्यौं

म अहिले ७२ वर्ष कटेँ । हामी सानो छँदा महिलालाई पढाउने संस्कार नै थिएन । त्यस्तो बेला पनि हामीले भने पढ्ने मौका पायौं ।

यसमा चन्द्रकुमारी दिदीको ठूलो हात छ । उहाँले बागलुङ बजारको हरिहर श्रेष्ठको कम्पुटोलको कटेरोमा राखेर चेलीहरूलाई पढाउनुभयो । कटेरोको फेदमा भैंसी बाँधिएको थियो । माथिल्लो तलामा हामी पढ्थ्यौं ।

बागलुङमा महिला शिक्षाको जग बसाउन चन्द्रकुमारी श्रेष्ठ ( माइली मास्टर्नी )  दिदीको बिर्सनै नसकिने देन छ । त्यति बेला महिलाहरू नै पनि आफूले किन पढ्नुपर्छ र भन्ने सोच्थे । मसँगै पढ्थिन् हरिमाया ।

हामीले पढ्न थालेपछि समुदायका अन्य दिदीबहिनीलाई पनि पढ्नुपर्छ भन्ने लागेछ । अनि मिसिए हाम्रै कक्षामा । हामीलाई पहिलोचोटि कखरा चन्द्रकुमारीले नै सिकाउनुभएको हो ।

कन्याहरूले पढ्ने त्यही कटेरोलाई पछि कन्या स्कुल नामकरण गरियो ।२०१६ सालमा बागलुङमा राजा महेन्द्रको सवारी भयो । त्यति बेला म कक्षा ३ मा पढ्थेँ ।

राजाको स्वागतमा हामी माथि सेतो कुर्ता, तल पिंक सुरुवाल लगाएर उभियाैं । चन्द्रकुमारी दिदीले स्कुलको भवन बनाइदिन राजालाई बिन्तीपत्र हाल्नुभयो ।

अहिले कन्या मावि भएको जग्गा पहिले कारागारको रहेको सुनेका थियौं । त्यही खाली जग्गामा भवन बनाइदिन प¥यो भनेर दिदीलाई राजालाई बिन्ती गर्नुभएको थियो ।

त्यहाँ बौद्ध विहार भन्ने छ, पछि हामीले त्यहीँ पढ्यौं । त्यहाँ गुन्द्री ओछ्याएर ५ कक्षासम्म पढाइ हुन्थ्यो ।

म २००६ सालमा जन्मिएकी । त्यति बेला बागलुङ बजार पूरै खेत थियो । मैले २०२३ सालमा एसएलसी पास गरेँ । हामी ६ कक्षा पढ्दासम्म पनि कन्या स्कुलको आफ्नै भवन थिएन ।

त्यति बेला अहिलेजस्तो धेरै विषय थिएनन् । नेपाली र हिसाब मात्रै हुन्थ्यो । विद्यार्थीहरू शिक्षकसँगै बसेर अनौपचारिक रूपमा पढ्थे ।

पछि कक्षा औपचारिक बनाउने कुरा भयो । तर त्यसका लागि दिदीको योग्यता नपुगेकाले बालकृष्ण गुरु आउनुभयो ।

सम्मान लिँदै चन्द्रकुमारी श्रेष्ठ (माइली मास्टर्नी)

एसएलसी पास गरेर आउनुभएका उहाँ त्यहाँको पहिलो हेडमास्टर हुनुभयो । त्यति बेला विष्णुप्रसाद शेरचन (प्रभु बैंकका सीईओ अशोक शेरचनका बुवा), वकिल पद्मनाथ शर्माहरू आएपछि कसैले अंग्रेजी, कसैले गणित, नेपाली पढाउन थाल्नुभयो । अहिलेजस्तो कलम थिएनन्, मसी भरेर लेख्नुपथ्र्याे ।

कन्या स्कुलमा ७ कक्षासम्म मात्र भएकाले हामी ८ कक्षा पढ्न विद्यामन्दिर मावि गयौं । मैले त्यहीँबाट एसएलसी पास गरेकी हुँ ।

म सानैदेखि अलि फरक स्वभावकी थिएँ । गीत गाउन, बोल्न, खेल खेल्न अलि धेरै रुचि लाग्थ्यो । घरमा ‘अरूका छोराछोरीलाई निस्कन नपर्ने, तँलाई चाहिँ पर्ने ?’ भन्दै गाली गर्नुहुन्थ्यो ।

कन्या स्कुलमा पढ्दा मलाई बालकृष्ण गुरुले मुनामदन नाटकमा एउटा भूमिका खेल्न भन्नुभयो । हामीले त्यसमा भाग लियौं । समग्रमा भन्नुपर्दा चन्द्रकुमारी दिदी र बालकृष्ण सरको महत्त्वपूर्ण भूमिका छ, बागलुङको महिलाशिक्षामा ।

त्यति बेला जिल्लामा आईए थिएन, हामीले कोचिङ क्लास लिएर पास गरेका हौं । आईएमा विभिन्न नाटक पढ्न पथ्र्यो ।

हामी प्रयोगात्मक रूपमा नाटक गरेर शिक्षा लिन्थ्यौं । विद्यामन्दिरमा बिहान–बिहान पढेका आधारमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट आईएको जाँच दियौं । पास पनि भयौं ।

मलाई त्यसपछि पनि पढाइ छाड्न मन लागेन । धनीका छोराछोरी पढ्न काठमाडौं आउँथे । पञ्चायतको समयमा बागलुङमा पाँच ठाउँमा विद्यालय थिए ।

पढाइ पूरा गरेपछि पुष्पमान श्रेष्ठ प्रधानाध्यापक, म सहायक भएर विद्यालयमा पढायौं पनि । मैले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, इन्जिनियर बलराम, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई पनि पढाएको हुँ । अहिले उनीहरू देशका गहना भएका छन्, अत्यन्तै खुसी लाग्छ ।

कस्तो थियो महिलाको जीवनचर्या ?

त्यति बेला पानीको सुविधा थिएन । पानी लिन पँधेरामा जानुपथ्र्यो । महिलाहरू गृहिणी भएर जीवन बिताउँथे । खेतबारीमा खटिने, कपडा सिलाउने, जाँतोमा मकै पिस्ने, गाईबस्तु स्याहार्ने, गोबर सोहोर्ने काम महिलाकै जिम्मामा हुन्थ्यो ।

मचाहिँ सानैदेखि पढ्न रुचाउने भएकाले त्यस्ता काम धेरै गर्न परेन । मेरा दिदीहरूले पढ्न पाउनुभएन । दाइ र मैले मात्र पढ्न पाएका हौं, हाम्रो परिवारमा ।

म सानैदेखि वामपन्थी राजनीतिमा आस्था राख्ने भएकाले महिला संगठनमा पनि आबद्ध भएँ । पञ्चायतको समयमा खासै पार्टी थिएनन्, जनवर्गीय संगठन थिए ।

त्यति बेला महिला संगठनको धौलागिरि अञ्चल सचिवको जिम्मेवारी सम्हालेकी थिएँ । विश्व गौचन अध्यक्ष, म सचिव भएर पनि काम गरियो । ओमकार गौचन युवक संगठनमा हुनुहुन्थ्यो ।

त्यति बेला उहाँहरूसँग काठमाडौं पनि आए । आईए पास गरेकाले संगठनले मलाई इन्टरनेसनल वुमन कन्फरेन्सका लागि थाइल्यान्ड पठायो । बैंकक पोस्टले २० वर्षकी महिला अन्तर्राष्ट्रिय कन्फेरेन्समा सहभागी भएको भनी समाचार पनि लेखेको थियो ।

त्यसपछि मैले प्राइभेटमा बीएड पढेँ । त्यही क्रममा २०३२ सालमा बिहे भयो । त्यसपछि काठमाडौं आएर बीएड पास गरेँ । बच्चा जन्मिएपछि पनि इकोनोमिक्समा मास्टर्स गरेँ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा जागिर गर्न थालेँ । त्यही बेला विभिन्न देश घुम्ने अवसर पनि पाएँ । यो संस्थाले विशुद्ध प्रशिक्षण दिने काम गथ्र्यो । ५८ वर्ष उमेर पुगेपछि रिटायर्ड भएँ ।

महिला जागरणको त्यो साँस्कृतिक युग

विसं २०२६ बैकुण्ठ विजुक्क्षे निर्देशन गरेको विजय मल्लको नाटक कोहि किन बरबाद होस भन्ने नाटकमा देवी कुमारी श्रेष्ठ र मैले अभिनय गरेको थिए ।

बालकृष्ण नेवाले निर्देशनमा बागलुङमा पहिलो पटक लक्ष्मी श्रेष्ठ,मंगला श्रेष्ठ र चन्द्र कुमारी श्रेष्ठले विसं २०१८ साल लक्ष्मी प्रसाद देवकोटाको नाटक मुना मदन नाटकमा अभिनय गरेका थिए ।

त्यसभन्दा पहिले महिला पात्रको अभिनय पनि पुरुषले नै गर्ने गथ्र्ये । विसं २०२५ सालमा मसान नाटकमा चन्द्र कुमारी,गंगा कसजु श्रेष्ठ,शत्रुध्न श्रेष्ठले अभिनय गरेका थिए ।सांँस्कृतिक हिसाबले विस र तिसको दशक महिला जागरणको दशक थियो ।

मेरो दाजु श्रवणलाल शाक्य पनि वामपन्थी विचारसँग नजिक हुनु भएकोले मलाई स्वतन्त्र रुपले पढ्न र सामाजिक,साहित्यीक र राजनैतिक क्रियाकलापमा हिड्न धेरै सहज भएको थियो ।

त्यति बेला टोपबहादुर बिजुक्क्षे,बैकुण्ठ विजुक्क्षे,राधेश्याम कमारो,भरत कुमार पीडित,देवेन्द्र राज अधिकारी,डा भुपेन्द्र खड्का,लालचन्द्र राजभण्डारी,बालकृष्ण

नेवा,श्रवणलाल शाक्य,पद्मचन्द्र राजभण्डारी,पुष्पमान श्रेष्ठ,हिक्मत गौचन,हरिहर श्रेष्ठ,ऋषिराम सापकोटा,गंगा कसजु,काजी गाउँले श्रेष्ठले लगाएको ठूलो युवा पंक्ति सोभियत संघ,चीन,कोरिया,भियतनाम,क्युवामा स्थापना भएको कम्युनिष्ट राज्य र वामपन्थी विचारबाट प्रभावित भएका थियौ ।

राजनैतिक चेतनाको लोभलाग्दो विगत

विसं २०१२ सालमा पाल्पाबाट कम्युनिष्ट विचार र संगठन गर्ने उद्देश्यले बागलुङमा निर्मल लामा आएका थिए ।लामाबाट प्रभावित भएर धेरै युवा वामपन्थी विचारबाट प्रभावित भएर विद्यार्थी,युवा र कम्युनिष्ट पार्टीमा भूमिगत रुपमा सक्रिय भएका थिए ।

त्यो समय राजनैतिक चेतनासँग नजिक हुने र नयाँ नयाँ विचार चिन्ने,बुझने र बहस गर्ने र नव यृुग प्रतिको त्रिब आकर्षणको समय थियो ।

त्यस बेला वामपन्थी र प्रजातान्त्रिक विचारबाट प्रभावित भएकाहरुले विपन्न वर्ग,महिला,किसान,दलित र शिक्षित वर्गलाई आफनो मुक्तिको

लागि कुन बाटो रोज्ने भन्ने प्रश्न जोलन्त रुपमा उठेको थियो तर नयाँ विचारप्रति अनुदार तत्कालिन पंचायती व्यवस्थाको कठोर दमनले वामप्रजातान्त्रिक आन्दोलन सफल हुन लामो समय लाग्योे ।

बागलुङ नगरपालिका वडा नं ३ नौविसे टोलमा रहेको टोपबहादुर विजुक्क्षे र नारायण चोकको ओम प्रसाद गौचनको  घर वाम, प्रजातान्त्रिक राजनैतिक जागरणको केन्द्र थियो । त्यहाँ भेला भएर हामीले राजनैतिक र वैचारिक शिक्षा लिने सुवर्ण अवसर पाएका थियौ । त्यहाँ जो गए पनि मसिनो मिठो खाने व्यवस्था थियो ।

महिला समूह गठन ऐतिहासिक कोशे ढुंगा

जागिर छाडेपछि पनि केही नगरी बस्न मन लागेन । सामाजिक काममा खटिनुपर्छ भन्ने लाग्यो । महिलाको नेतृत्व,सामाजिक र आर्थिक विकासमा लाग्ने विचार गरे ।

मेरो नेतृत्वमा काठमाडौं उपत्यमा बसोबास गर्ने महिलाहरुलाई बागलुङ समाज कल्याण केन्द्र महिला समूह गठन गरेर महिलाहरुलाई संगठित गर्ने, व्यक्तित्व विकास र सामाजिक काममा महिलाहरुलाई अग्रसर गराए ।

महिला समूहमा अहिले सय जनाभन्दा धेरै महिलाहरु आवद्ध छन् र कार्यसमितिको सक्रियता, सबै दिदी बैनीहरुको योगदानले समूहको ५२ लाखको कोष निर्माण भएको छ ।

पहिला पहिला बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको कार्यक्रम,गतिविधि र साधारणसभामा महिलाको उपस्थिति खासै हुदैन थियो ।

समाजमा महिला सहभागिता नदेख्दा र उनीहरुको उपस्थिति समाजको कार्यक्रममा पनि गराउने र वैकल्पिक नेतृत्व पनि जन्माउने लक्ष्यका साथ बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको पुष्पमान श्रेष्ठ अध्यक्ष भएको समयमा श्रेष्ठको सहयोग र प्रेरणाले विसं २०६४ साल असार ६ गते महिला समूह स्थापना गरेका थियौै ।

४० वर्षपछि बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको इतिहासमै पहिलो पटक रसुमिला श्रेष्ठ अध्यक्ष हुर्दैछिन् ।यो हामी महिलाले कोरेको गोरटोले हासिल गर्न लागेको ऐतिहासिक उपलब्धी हो ।

त्यसपछि बालाजुमा महिला सहयोगी सहकारी सञ्चालन गर्ने सोच बनाएँ ।२८ जना महिला जम्मा भएर संस्था दर्ता ग¥यौं ।  त्यसबाट महिलाहरूलाई ऋण दिएर उद्यमी बनाउने काम गरिरहेका छौं । संस्थाका सबैले मलाई दिदी भन्नुहुन्छ । माया गर्नुहुन्छ । खुसी लाग्छ ।

प्रस्तुतीः विमल खड्का 

कालिका कन्या माविकी संस्थापक ‘माइली मास्टर्नी’ सम्मानित

 

 

प्रतिक्रिया दिनुहोस्