३० बैशाख २०८१, आईतवार

 

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि अख्तियारले थाल्यो अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ ।

पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो ।

‘पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा लिएको भन्ने आरोप उहाँमाथि छ’ अख्तियार उच्च स्रोतले भन्यो, ‘हामी अनुसन्धानकै चरणमा छौं । उहाँले भ्रष्टाचार गरेको देखिएमा कानून बमोजिम विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।’

ढुंगानाविरुद्ध अख्तियारमा २०७८ साउन १४ गते सी–२१२२ दर्ता नम्बरको उजुरी परेको थियो । त्यसयता परेका अन्य उजुरीसमेत समेटेर अख्तियारले छानबिन गरिरहेको हो । अख्तियारले उनको बयानसमेत लिइसकेको स्रोतले बतायो ।

अख्तियारका प्रवक्ता नारायण रिसालले अनुसन्धान भइरहेको विषयबारे विस्तृत विवरण खुलाउन नमिल्ने बताए । उनले भने, ‘कतिपय विषय त आयोगबाट एकैपटक मुद्दा दायर भएपछि मात्रै सार्वजनिक हुन्छन् ।

ढुंगानाविरुद्ध अख्तियारमा मात्रै नभई अर्थ मन्त्रालयमा समेत उजुरी परेको थियो । अर्थ मन्त्रालयले उजुरीमाथिको छानबिनका क्रममा समिति नै बनाएको थियो । मन्त्रालयले अख्तियारको पत्र समेतका आधारमा समिति बनाएको भनी उल्लेख गरेको थियो ।

समितिले थप जाँचबुझ हुनुपर्ने राय दिएपछि मन्त्रिपरिषदले ढुंगानामाथि छानबिन गर्न पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले दिएको रायको आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरिसकेको छ ।

आफूमाथि गैरकानूनी रुपमा छानबिन समिति बनाइएको र आफूलाई गलत ढंगले पदबाट हटाइएको दावी गर्दै ढुंगानाले सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट दायर गरेका छन् । ती मुद्दा हाल विचाराधीन अवस्थामा छन् ।

अख्तियार उच्च स्रोतबाट प्राप्त विवरण अनुसार, ढुंगानाविरुद्ध तीन प्रमुख आरोप छन् । पहिलो हो, प्राथमिक शेयर निष्कासन नहुँदै छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी पदीय हैसियत दुरुपयोग गरेको ।

दोस्रो, लगानी गर्न जोखिममा रहेको भनी ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरी धितोपत्रको भित्री कारोबारको सूचना चुहावट गरेको । तेस्रो, अस्वाभाविक कारोबार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ।

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर निष्कासन नहुँदै ढुंगानाकी छोरी रेविकाको नाममा खरीद गरेको भेटिएको थियो । रेविकाको नाममा शेयर खरीद गर्न ढुंगानाले लक्ष्मी बैंकको खाताबाट एक पटक १० हजार रुपैयाँ र अर्को पटक ५ लाख रुपैयाँ जम्मा गरिदिएको भेटिएको अख्तियार स्रोतले बतायो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको एउटा खाताबाट रेविकाको खातामा २०७७ साल पुस २८ गते १५ लाखको चेक जम्मा गरेको देखिन्छ । अनि रेविकाको खाताबाट २५ लाख रुपैयाँ शेयर बिक्रेता शिखा अग्रवाललाई भुक्तानी दिएको देखिन्छ । ‘त्यसरी शेयरको कारोबार गर्दा निज रेविका ढुंगाना विदेशमा रहेको अवस्थामा कारोबार भएको देखिएको छ’ अख्तियारले भनेको छ ।

छोरी विदेशमा रहेकाले ढुंगाना आफैंले सर्वोत्तमको शेयर खरीद गरेका अख्तियार स्रोतको भनाइ छ । अनुसन्धानबाट तयार पारिएको रायबारे अख्तियार स्रोतले भन्यो, ‘त्यसरी विदेशमा रहेको छोरीको खातामा रकम जम्मा गरी सोही रकमबाट सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको अवस्था देखिएकाले उक्त कार्य निज भीष्मराज ढुङ्गाना आफैंले गरेको देखिन्छ ।’

सर्वोत्तम सिमेन्टले २०७७ साल माघ ६ गते साधारण सभाबाट बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसको करिव एक सातापछि बोर्ड अध्यक्ष भीष्मकी छोरीले शेयर खरीदका लागि निवेदन दिएकी थिइन् । यसले अध्यक्ष ढुंगाना भित्री कारोबारमा संलग्न भएको देखिने अख्तियारको आरोप छ ।

यसरी शेयर दिलाएबापत कम्तीमा पनि ६०र७० लाख रुपैयाँ गैरकानूनी लाभ भएको देखिने अख्तियारको भनाइ छ । बजारमा ७५० रुपैयाँका प्रतिकित्ताको दरले बिक्री गर्ने तयारी भएको सर्वोत्तम सिमेन्टको शेयर रेविकाको नाममा प्रतिकित्ता २५० रुपैयाँमा खरीद गरिएको थियो ।

यसरी एक कित्तामा ५०० रुपैयाँ लाभ हुने गरी ढुंगानाले छोरीको नाममा १२ हजार कित्ता शेयर खरीद गरेको अख्तियारको भनाइ छ । यसरी ढुंगानाले ६० लाख रुपैयाँ अतिरिक्त आर्जन गरेको देखिएको अख्तियारको दावी छ ।

प्रतिक्रिया दिनुहोस्