५ जेष्ठ २०८१, शनिबार

 

एकै पटक यी तीन शक्तिसँग युद्ध नजिक अमेरिका

अमेरिकाले एकै पटक विश्वका फरक हिस्सामा दुई वटा युद्ध लड्न सक्षम हुनुपर्छ– दशकौँसम्म अमेरिकी सेनाले यही सोचेर योजना तयार गर्ने गरेको थियो। जस्तोसुकै निराशावादी रणनीतिकारले पनि अमेरिकाले एकै पटक तीन वटा युद्ध लड्नु पर्ला भनेर कहिल्यै सोचेको थिएन।

तर, जो बाइडेन प्रशासनले यतिबेला एकै पटक युरोप, एसिया र मध्यपूर्वमा सैन्य संकट झेलिरहेको छ। यी संकटलाई संयुक्त रुपमा हेर्दा शीतयुद्ध अन्त्यपछि अमेरिकाले बेहोरेको सबैभन्दा ठूलो चुनौती यही हो।

रुसले २०२२ को सुरुवातसम्ममा युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अर्कोतिर, अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले ताइवाननजिक चिनियाँ सेनाको गतिविधि हेर्दा त्यो आक्रमणको पूर्वाभ्यासजस्तो देखिने चेतावनी दिएका छन्। र, इरान पनि आणविक हतियार निर्माणका लागि आवश्यक पर्ने परमाणु विखण्डनको प्रक्रिया पुरा गर्नबाट केही साता मात्र टाढा रहेको बताइँदैछ। इरान यही काममा सफल नहोस् भनेर अमेरिकाले दशकौँदेखि प्रयास गर्दै आएको थियो।

अमेरिकाले विश्वभर संशोधनवादी शक्तिहरुको समन्वयात्मक आक्रमण झेल्नुपर्ने चिन्ता केही विश्लेषकहरुको छ। स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्टले ताइवान र युक्रेनमाथि एकै पटक आक्रमण हुनसक्ने सम्भावनामाथि नीति निर्माताहरुले विचार गर्नुपर्ने चेतावनी दिएका छन्।

‘एकैसाथ हेर्दा यी दुई आक्रमणले विश्वको शक्ति सन्तुलन आधारभूत रुपमै परिवर्तन गरिदिनेछ,’ उनी भन्छन्, ‘र, त्यसले दशकौँसम्म विश्वभर शान्ति कायम गर्न सफल विश्व व्यवस्थाको अन्त्य गरिदिनेछ।’

चीनले ताइवानमा र रुसले युक्रेनमा एकै पटक आक्रमण गर्ने विषयमा सी चिनफिङ र भ्लादिमिर पुटिनबीच सिधा कुराकानी हुने सम्भावना देखिँदैन। त्यसमाथि इरानका राष्ट्रपति इब्राहिम राइसीसमेत मिसिएर त्रिपक्षीय कुराकानी त परिकल्पनामा मात्रै सम्भव छ।

त्यसैले बेइजिङ, मस्को र तेहरानको महत्वाकांक्षालाई जोड्ने एक मात्र योजना बनेको छैन। तर, उनीहरुको विश्लेषण र निगरानी केही हदसम्म आपसमा मिल्दोजुल्दो छ। चीन, रुस र इरान तीन वटै मुलुकका सरकार अमेरिकाले आफ्नो मुलुकको शासन सत्ता परिवर्तन गर्ने लक्ष्य राखेको बताउँछन्। तीनै मुलुकको महत्वाकांक्षा भनेको आआफ्नो क्षेत्रमा प्रभुत्व जमाउनु हो। र, यी तीनै मुलुकले आफ्नो महत्वाकांक्षालाई जायज ठहर्याउन राष्ट्रिय सीमाभन्दा बाहिरका जनता पनि आफ्नो नाता पर्ने दाबी गर्छन्।

ताइवानलाई मिसाएर चीनको एकीकरण गर्नु राष्ट्रिय लक्ष्य भएको सीको सरकारको भनाइ छ। युक्रेनमा रुसीभाषी जनतामाथि नरसंहार भइरहेको र तिनलाई संरक्षण गर्नु आफ्नो दायित्व भएको तर्क पुटिनको छ।

इरान सरकार आफूलाई संसारभरको इस्लामको रक्षक दाबी गर्छ र उसले मुलुकबाहिरका सिया मुस्लिमहरुलाई पनि छद्म लडाकुका रुपमा प्रयोग गर्ने गरेको छ।

अफगानिस्तानबाट भद्रगोल तरिकाले बाहिरिएपछि अमेरिका कमजोर देखिएको छ। त्यसले पनि पुराना समस्याहरुको निवारण गर्न वा लामो समयदेखि थाती रहेको महत्वाकांक्षालाई अघि बढाउने लालच रुस, चीन र इरानबाट बढ्न सक्छ।

एसिया, युरोप र मध्यपूर्वका हरेक संशोधनवादी शक्तिले अन्य महादेशमा विकसित घटनाक्रमहरुलाई ध्यानपूर्वक नियालिरहेका छन्। युक्रेन अथवा ताइवानमाथि बिनाअवरोध आक्रमण भयो भने बिल्ट र अरुले चिन्ता गरेजस्तै विश्व शक्तिमा आधारभूत रुपमै परिवर्तन आउनेछ।

तर, युद्धभन्दा ससाना कुराले पनि अमेरिकाको शक्ति र विश्वसनीयता पतन हुन सक्छ। किनभने त्यस्ता सम्झौताले अमेरिका पछि हटिरहेको छ भन्ने संकेत गर्छन्।

बाइडेन प्रशासनले युरोपबारे रुससँग नयाँ सम्झौताको तयारी गर्दैछ भन्ने चर्चाले युरोपमा खलबली पैदा गरिसकेको छ। यदि युक्रेनमाथि धम्की दिइरहेको रुससँग अमेरिका पछि हट्यो भने त्यसले चीन र इरानलाई उत्साहित गर्नेछ।

त्यसपछि चीनले ताइवानलाई थप धम्क्याउन सक्नेछ भने इरानले पनि आणविक हतियार निर्माणलाई तीव्रता दिनेछ। अर्कोतिर, अमेरिकाको पहुँच विश्वभर पुर्याउने उसका सहयोगी मुलुकहरु निरुत्साहित हुनेछन् र पछि हट्न थाल्नेछन्।

यस्ता खतराप्रति ह्वाइट हाउस सचेत छ। ह्वाइट हाउसलाई थाहा छ– कम महत्वपूर्ण झगडाबाट पछि हट्नै पर्छ। अन्यथा आफ्नो क्षमताले भ्याउनेभन्दा बढी प्रतिबद्ध हुने जोखिम रहन्छ। युरोप, एसिया र मध्यपूर्वमा अमेरिका बलियो रुपमा उभिँदा विश्वभर अमेरिका एक निरोधकका रुपमा कायम रहन्छ। तर, अमेरिकाले आफ्नो शक्ति चाहिँ कहाँ प्रदर्शन गर्नु ठिक हुन्छ त?

खतराको मात्राले चीनतिर संकेत गर्छ। निहुँ खोजाइको परिमाणले रुसतिर इसारा गर्छ। र, जोखिम कम हुने हिसाबले इरान। किनभने इरान अहिलेसम्म गैरआणविक शक्ति हो।

रणनीतिक हिसाबले भन्ने हो भने बाइडेन प्रशासनको ध्यान चीनमा केन्द्रित छ। किनभने विश्वको एक्लो महाशक्तिका रुपमा अमेरिकाको भूमिकामाथि चुनौती दिने एक मात्र सम्भावित शक्ति चीन हो। बाइडेनले ताइवानमाथि आक्रमण भए त्यसको रक्षा गर्ने बाचा गरेका छन्। तर, युक्रेनका विषयमा त्यस्तो टिप्पणी गरेका छैनन्।

तर, २०२२ भित्र ताइवानमाथि आक्रमण हुने सम्भावना नरहेको धेरैजसो अमेरिकी विश्लेषकहरुको ठहर छ। किनभने अर्को वर्ष हुने कम्युनिस्ट पार्टीको सम्मेलनमार्फत आफ्नो शक्ति सुदृढीकरणका लागि सीलाई यतिबेला स्थायित्वको आवश्यकता छ। रुसले युक्रेनमाथि उत्पन्न गरेको खतरा भने निकट छ।

तर, आणविक शक्तिसम्पन्न रुससँग प्रत्यक्ष द्वन्द्वको सम्भावना करिबकरिब सोच्न सकिन्न। त्यसको सट्टा मस्कोले आक्रमण गरे रुसमाथि ठूलो आर्थिक प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य सहायता दिने धम्की बाइडेनले दिएका छन्।

चिनियाँ वा रुसी सेनासँग टक्कर लिनुभन्दा इरानी आणविक केन्द्रहरुमा हवाई आक्रमण गर्नु निकै कम जोखिमपूर्ण देखिन्छ। तर, बाराक ओबामा र डोनाल्ड ट्रम्पझैँ बाइडेन पनि मध्यपूर्वमा अर्को युद्ध सुरु गर्न अनिच्छुक छन्।

बाइडेन प्रशासनले यी तीन वटै द्वन्द्वमा सैन्य विकल्पलाई खुलै राख्नेछ। तर, अमेरिका आर्थिक र कूटनीतिक हतियारमै निर्भर रहने सम्भावना बढी छ। इरानविरुद्ध प्रयोग भएको कडा आर्थिक प्रतिबन्ध युक्रेन वा ताइवानमाथि आक्रमण भएको खण्डमा रुस र चीनविरुद्ध पनि प्रयोग हुनेछ। यसले तेस्रो विश्व युद्ध त सुरु गर्ने छैन। तर, विश्वव्यापीकरणको अन्त्य भने गर्नेछ।

(फाइनान्सियल टाइम्सबाट),नेपालखबरबाट

प्रतिक्रिया दिनुहोस्