२९ बैशाख २०८१, शनिबार

 

कोरोना भाइरस सङ्क्रमण भएका मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि, यसले कसरी काम गर्छ

यूकेमा भएको एउटा प्रारम्भिक अध्ययनले दीर्घ कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्नेगरी क्षति भएको देखाएको छ।नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रूपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नवीन ग्यास स्क्यान प्रक्रिया अपनाएका थिए।

कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा अध्ययन गरिएको थियो।यो निष्कर्षलाई पुष्टि गर्न अझै बृहत् र विस्तृत अध्ययन भइरहेको छ।कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो।

अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका अधिकांश बिरामीलाई किन श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ भन्नेबारे थप प्रष्ट पार्ने बताएका छन्। यद्यपि श्वासप्रश्वासमा समस्याका कारणहरू धेरै हुनसक्छन् जसको अध्ययन पनि जटिल छ।

जाँचमा अरू कुनै रोग नदेखिए पनि कोरोनाभाइरस सङ्क्रमण लक्षण कैयौँ सातासम्म निको नहुने अवस्थालाई दीर्घ कोभिड भन्ने गरिएको छ।अक्सफर्ड, सेफील्ड, कार्डिफ र म्यान्चेस्टरका अनुसन्धानकर्ताहरूको समूहले तीन समूहका मानिसमा दुर्लभ रासायनिक जेननु ग्यास स्क्यान र फोक्सोको अवस्थाबारे अन्य जाँचको तुलना गरेका थिए।

अध्ययनमा सास फेर्न समस्या खेपिरहेका तर कोभिड हुँदा अस्पताल भर्ना नभएका मानिसहरू पनि समेटिएको थियो। सहभागी १२ जना कोभिडका कारण अस्पताल भर्ना भएका तर दीर्घ कोभिडको समस्या नभएका थिए भने १३ जना स्वस्थ व्यक्तिहरू थिए।

यो नवीन पद्धतिको अध्ययनका लागि सबै सहभागीहरूलाई म्याग्नेटिक रेजोनन्स इमेजिङ एमआरआई स्क्यानको क्रममा जेनन ग्यास निल्न लगाइएको थियो।यो ग्यासले अक्सिजनको जस्तै काम गर्छ तर स्क्यान गर्दा यसलाई प्रत्यक्ष देख्न सकिन्छ।

जस कारण वैज्ञानिकहरूले यो फोक्सोबाट रगतमा यो कति सजिलै जाँदैछ भनेर देख्न सक्छन्। मानिसको शरीरभरि अक्सिजन पुर्‍याउने महत्त्वपूर्ण माध्यम रगत हो।अनुसन्धानकर्ताहरूले दीर्घ कोभिड भएका अधिकांश मानिसहरूमा स्वास्थ्य मानिसको तुलनामा यो ग्यासको प्रवाह निकै कम प्रभावकारी भएको पत्ता लगाए।

कोभिड भएर अस्पताल भर्ना भएका मानिसहरूमा पनि यस्तै अस्वाभाविकता देखियो।प्रमुख अनुसन्धानकर्ता तथा फोक्सो विशेषज्ञ डा एमिली फ्रेजरले क्लिनिकमा उपचारका लागि पुगेका मानिसहरू उनीहरूलाई सास फेर्न गाह्रो हुनुको कारण स्पष्ट बताउन नसकिँदा निराश भएर फर्किने गरेको बताइन्।

प्रायः एक्स रे र सीटी स्क्यानहरूले यस्तो समस्या भएका मानिसहरूमा कुनै अस्वाभाविकपना देखाउँदैनन्।यो महत्त्वपूर्ण अनुसन्धान हो र मलाई आशा छ कि अब त्यस्ता खाले समस्याहरू प्रष्ट पार्नमा यसले सहयोग गर्नेछ, उनी भन्छिन्।

मानिसहरूले थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा के हो भने लामो समय सास रोकेर गरिने अभ्यास र पुरानै अवस्थामा फर्किन गरिने प्रयासहरू यस्तो समस्यामा एकदमै उपयोगी छन्।ूश्वासप्रश्वासमा समस्या भएका मानिसहरूलाई क्लिनिकमा हेर्दा उनीहरूमा केही न केही सुधार ल्याउन सफल भएकै हुन्छौँ,उनले भनिन्।

अध्ययनमा सहभागी अर्का अनुसन्धानकर्ता प्राध्यापक फर्गस ग्लीसनले अब दीर्घ कोभिड भएका कति धेरै बिरामीहरूको असाधारण स्क्यान गर्न सकिन्छ, पत्ता लागेका असाधारण अवस्थाहरूको सान्दर्भिकता के हुन्छ र यसको दीर्घकालीन परिणामजस्ता प्रश्नको उत्तर खोज्न महत्त्वपूर्ण रहेको बताए।यी लक्षणहरू निम्त्याउने संयन्त्रहरू थाहा पाइसकेपछि थप प्रभावकारी उपचारहरू विकास गर्ने ठाउँमा हामी पुग्न सक्छौँ,उनले भने।

यो अनुसन्धान अन्य अनुसन्धानकर्ताहरूबाट समीक्षा हुन बाँकी नै रहेको प्रारम्भिक अध्ययन हो।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्