२७ बैशाख २०८१, बिहीबार

 

बराहतालको संरक्षण र सोले डाँडामा पदमार्ग निर्माण

बागलुङ — तमानखोला गाउँपालिकाले दुई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा लगानी बढाउन डीपीआर निर्माण गरेको छ । वडा २ को बराह ताल संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने काम सुरु भइसकेको छ भने वडा–४ को सोलेडाँडामा पूर्वाधार बनिसकेका छन् ।

गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेर डीपीआर बनाएको इन्जिनियर अर्जुन यादवले बताए । डीपीआरमा खानेपानी, शौचालय, वनभोज स्थल र गार्डेन बनाउने योजना छन । सडक र पदमार्ग मार्फत गन्तव्य जोड्ने लक्ष्य राखिएको छ । सोलेडाँडामा सडक जोडिएको छ ।

तमानखोला–४ को लामेलाबाट पदमार्गमार्फत यहाँ पुग्न सकिन्छ । पदमार्ग निर्माणमा गाउँपालिकाले लगानी गरेको हो भने ग्रामीण सडक बनिसकेकोलाई स्तरोन्नति गरेर म्याग्दीको दरवाङ जोड्ने गरी गण्डकी प्रदेश सरकारले रणनीतिक योजनामा सूचीकरण गरेर काम गरेको हो ।

सोलेबाट म्याग्दीको दरवाङसहित धौलागिरि र अन्नपूर्ण हिमाली शृंखला देखिन्छ । यहाँबाट ताराखोला गाउँपालिकाको ठूलोहिले जोड्ने पदमार्गको पनि रेखांकन भएको छ ।

दुई पालिका मिलेर पदमार्ग बनाएपछि पर्यटक आउजाउ गर्न सहज हुने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । रेखांकन भएको पदमार्गमा छिटफुट पर्यटक आउजाउ गर्छन् ।

बराहतालमा प्रारम्भिक रूपमा संरक्षण र पूर्वाधारका काम थालिएका छन् । गाउँपालिकाले १५ लाख लगानी गरेर ताल संरक्षणका लागि घेराबार लगाइसकिएको छ । बराह मन्दिर निर्माण भएको छ । दुईकोठे शौचालय, खानेपानीको धारा बनेका छन ।

तमानखोलाको बोङ्गादोभानबाट एक दिनको पैदल यात्रा गरेर बराहताल पुग्न सकिन्छ । बराहतालबाट छोटो समयमै ढोरपाटन पुग्ने पुरानो पदमार्ग छ । त्यो मार्गलाई स्तरीय बनाएर पर्यटक भित्र्याउने लक्ष्य बनाइएको बुढाले बताए । ‘बराहताल छेउमा आर्कषक चउरसमेत छ । गर्मी मौसममा पर्यटक पुगेर चउरमै पाल टाँगेर बस्छन् ।

बराह ताल व्यवस्थापनका लागि २ करोड ८५ लाख ७२ हजार लागतको स्टिमेट भइसकेको यादवले बताए । झन्डै ५ रोपनी जमिनमा ताल फैलिएको छ । २ हजार ७ सय मिटर उचाइमा रहेको यो तालमा सदाबहार रूपमा पानी रहन्छ । ‘हामी अहिलेसम्म यो तालमा पसेका छैनौं, बाहिरबाटै पूजा गर्छौं,’ स्थानीय यामबहादुर घर्तीले भने, ‘बराहको पूजा गर्न छिमेकी गाउँबाट पनि आउने गर्छन् ।’ यो तालबाट पश्चिमतर्फ ढोरपाटन सिकार आरक्षको क्षेत्र पर्छ ।

सोलेको योजना भने गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको गुरुयोजनामा पनि समावेश छ । गाउँपालिकाले यहाँ सहिद पार्क बनाएको छ ।

राष्ट्रिय जीवनका ४, पहिलो सहिद लखन थापा र तमानखोलाबाट सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाको समेत मूर्ति बनाएर सहिद पार्कमा राख्ने तयारी छ ।‘मूर्ति बनिसकेका छन्, केही काम बाँकी भएर प्रतिस्थापन हुन सकेको छैन,’ बुढाले भने, ‘छिटै त्यो काम पनि पूरा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्