१६ बैशाख २०८१, आईतवार

 

विपन्न वर्गलाई सहकारीमा प्रभावकारी ढंगले ल्याउन नसक्नु अहिलेको मुख्य चुनौति हो : अध्यक्ष खड्का

(बागलुङ नगरपालिका–३ बुद्ध चोक रहेको महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लिला देवी खड्कासँग नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेको कुराकानीको सम्पादित अंश)

महिला हित सहकारीले शेयर सदस्यहरुको हितमा कसरी काम गरी रहेको छ ?

महिला हित सहकारी आम महिलाहरुको हित चिताउने सहकारी हो । गाउँ शहरको महिलाहरुलाई सहकारीमा आवद्ध गरी उनीहरुको हितमा काम गर्नु यसको मुख्य उद्देश्य हो । यसको संस्थापन कालदेखि नै विशेष गरी विपन्न महिलाहरुको आर्थिक र सामाजिक उत्थानको लागि यसले काम गरी रहेको छ ।

अहिले कति जना शेयर सदस्य पुगेको छ र कति लगानी भएको छ ?

महिला हित सहकारीको शेयर सदस्य १ हजार २ सय ३१ पुगेको छ र हाम्रो लगानी ९ करोड ६१ लाख३३ हजार ४८ रुपैयाँ पुगेको छ । हामीलाई कोभिडको बेला अलि असहज भयो र तरलताको समस्या पनि देख्या पर्यो तरपछि हाम्रो शेयर सदस्यहरुको उल्लेख दैनिक बचत,मासिक बचतले हामीलाई धेरै सहज भयो । अहिले हामीलाई तरलताको समस्या छैन् । हामीले व्याज दरको सन्तुलन मिलाएकोले पनि शेयर सदस्यहरु,बचतकर्ता र क्रणीलाई कारोबार गर्न सजिलो भएको छ ।

अहिले सहकारीको निक्षेप कति छ र यसको सदुपयोग कसरी गर्नु भएको छ ?

सहकारीमा अहिले निक्षेप ९ करोड १५ हजार ७ सय ६० रुपैयाँ रहेको छ । हामी कहाँ कारोबार गर्ने शेयर सदस्यहरुलाई उच्चतम प्रतिफल दिएकोले पनि महिलाहरुको महिला हित सहकारी प्रतिको आकर्षण बढ्दो छ ।

महिलाहरुको बचत गर्ने चेतनामा आएको परिवर्तन र आर्थिक रुपमा बलियो हुनु पर्छ भन्ने उनीहरुको विकसित धारणाले हरेक सहकारीमा महिलाहरुको बचत उच्च हुन थालेको छ । यसले महिला र पुरुषविचको आर्थिक असन्तुलन समाधान गर्न मद्दत गरेको छ ।

शारीरिक रुपमा अशक्त शेयर सदस्यहरुले कसरी सेवा दिनु भएको छ ?

हाम्रो ३ जना बजार प्रतिनिधि मार्फत शारीरिक रुपमा अशक्त,जेष्ठ नागरिक र विरामी सेयर सदस्यहरुलाई हामीले घरमै पुगेर सेवा दिएका छौं । सहकारीको स्थापना दिवसमा सहकारीको कार्यसमिति सदस्यहरु समेत घरमै पुगेर भेटघाट गर्ने र सहकारीले दिएको सेवा सुविधाको बारेमा राय सल्लाह माग्ने काम गरेका छौं ।

बागलुङ जिल्लाको सहकारीमध्ये महिला हित सहकारी नै यस्तो सहकारी हो जस्ले शारीरिक रुपमा अशक्त,जेष्ठ नागरिक र विरामी सेयर सदस्यहरुलाई साथीको जस्तो व्यवहार गर्छ । हाम्रो कार्यालयमा कार्यरत ५ जना कर्मचारीहरुले पनि उनीहरुको सेवामा समर्पित भएर काम गरेका छन् ।

सहकारीको आफनै घरको सपना धेरै वर्षको प्रतिक्षापछि पुरा भएको छ यो विषयमा के भन्नु हुन्छ ?

२०५८ सालमा हाम्रो यात्रा एउटा सानो कोठा र गुद्रीबाट सुरु भएको हो ।२५ जना महिलाको दुई हजार पाँच सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको यो सहकारीको कथा जस्ले सुने पनि छक्क पर्ने खालको छ ।यति सुविधा सम्पन्न घरबाट हामीले हाम्रो सेयर सदस्यलाई सेवा दिन सकौला भन्ने अनुमान थिएन ।

हामीले २०७८ साल सहकारीको २१ औं स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका–३ बुद्ध चोक रहेको आफनो नवनिर्मित भवनबाट अझ प्रभावकारी सेवा दिन सुरु गरेका छौं । २ आना १ पैसामा बनेको भवनको लागत ७९ लाख ९३ हजार ६ सय २५ रुपैयाँ लागेको छ ।

गाउँ र शहरका विपन्न परिवारलाई कसरी सहकारीमा आवद्ध गर्नु भएको छ ?

हामीले गाउँ र शहरमा बस्ने विपन्न समुदायहरुलाई सहकारीमा जोड्न विशेष पहल गरेका छौं । पछिल्लो पटक हामीले बागलुङ बजार बाहेक बागलुङ नगरपालिका वडा नं ३ को तातोपानी गाउँ र बागलुङ नगरपालिका वडा नं १० को गलुवा गाउँको महिला दिदी बैनीहरु सहकारीमा जोडेर उनीहरुलाई बचत गर्ने बानीको विकास गराउनुको साथै सहकारीको फाइदाको बारेमा चेतना फैलाउने काम गरेका छौं ।

यस गाउँका दिदी बैनीहरुले सहकारीबाट राम्रो सेवा लिएर उनीहरु आय आर्जनमा जोडिएका छन् । हामीले सहकारी शिक्षालाई पनि उच्च महत्व दिएर धेरै वडामा सहकारी शिक्षा संचालन गरी रहेका छौं ।

अहिले सहकारीको मुख्य चुनौति के हो ? 

अहिलेको मुख्य समस्या भनेकै गाउँ र शहरमा भएका विपन्न वर्गलाई सहकारीमा आवद्ध गर्न नसक्नु हो । जबसम्म यो वर्गलाई हामीले सहकारी मार्फत माथि उठाउँदैनौं तबसम्म सहकारी र देशको लक्ष्य हासिल गर्न सक्दैनौं । शहर र गाउँमा संचालित सक्षम सहकारीहरुले समेत विपन्न वर्गलाई सहकारीमा आकर्षित गर्ने कार्यक्रम नल्याउँदा सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेको छ ।

सहकारीले व्यवसायमा भएका र नभएका महिलाहरुसँग कसरी सहकार्य गरेको छ ?

हामीले व्यवसायमा क्रियाशिल महिलाहरुसँग नियमित अन्तरक्रिया आयोजना गछौं । सहकारी दिवशको अवसरमा व्यवसायमा जोडिएका महिलाहरुलाई बोलाएर उनीहरुको अनुभव र अभ्यास व्यवसाय नगरेका महिलाहरुलाई सुनाउन लगाउँछौं ।

महिलाहरुलाई आर्थिक र व्यवसायीक क्षेत्रमा सफल बनाउन सहकारीले उल्लेख भूमिका खेलेको छ ।महिला हित सहकारीले महिलाहरुलाई उद्यमी बनाउन र व्यवसायी बनाएर उनीहरुको आर्थिक जिवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

सानादेखि ठूला महिला व्यवसायीहरुलाई अझ उद्योग र व्यापारमा प्रोत्साहित गर्न सहकारीले दिगो र योजनावद्ध कार्याक्रम छ।महिलाहरुले सहकारीबाट २० हजारदेखि २ लाखसम्म विना धितो कर्जा लगेर फर्निचर,पशुपालन,किनारा,कस्मेटिक,टेलर्स,फेन्सी र जुत्ता उद्योग गरी रहेका छन् । अब हामी अल्पकालिन र दिर्घकालिन योजना बनाएर अगाडि बढ्न लागेका छौं । हाम्रो सेयर सदस्यहरुलाई उच्च प्रकारको तालिम,प्रशिक्षणको कार्यक्रम पनि ल्याउन लागेका छौं ।

तपाईँ लामो समयदेखि नेतृत्वमा हुनु हुन्छ, महिला नेतृहरुलाई समाजले कसरी हेरेको छ ?

सुरुमा हामीलाई समाजले पत्याएको थिएन । धेरै संघर्षपछि मात्र हामी टोल र समाजमा स्थापित हुन सकेका हौं । सु्रुमा धेरैले असहयोग गरे तर हामीले सहकारी मार्फत गरेका आर्थिक र सामाजिक हितको कामको परिणाम आउन थालेपछि बल्ल हामीलाई समाजभित्रका पुरुषहरुले स्वीर्कान थाल्नु भयो ।

टोलमा भएका साह्रै कमजोर र विपन्न वर्गको दिदी बैनीहरुलाई सहकारीमा ल्याएर उनीहरुको आर्थिक स्थितिमा परिवर्तन गरेपछि समाजमा रहेका सबै आश्चर्यमा परे ।

समाजको हरेका क्षेत्रमा जहाँ महिलाले नेतृत्व गरेको छ त्यस क्षेत्रमा वैचारिक र व्यवहारिक समस्या धेरै कम छ । बेथिति र अनियमितता पनि महिलाले नेतृत्व गरेको क्षेत्रमा कम छ । यो कुरा सबै सरोकारवालाई थाहा छ र उनीहरुले त्यहि भएर हामीसँग दिगो प्रतिफल हासिल गर्न सहकार्य गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्