नयाँ लडाकु विमानले उनीहरूको ‘मन’ बुझ्न सक्नेछ।यूकेको बीएई सिस्टम्स, रोल्स रोयस, युरोपेली क्षेप्यास्त्र समूह, एमडीबीए र इटलीको लियोनार्दोले त्यस्तो क्षमता भएको टेम्पेस्ट नामक लडाकु विमान बनाइरहेका छन्।
उक्त विमानको एउटा विशेषता विमान चलाउने मानिस थकित वा स्तब्ध भएको बेला उनीहरूलाई सघाउने आर्टिफिशल इन्टेलिजन्स (एआई) हो।विमानचालकको हेल्मेटमा भएको उपकरणले स्वास्थ्यसम्बन्धी जानकारी र मस्तिष्कको सङ्केतलाई निगरानी राख्नेछ र केही उडानपछि विमानमा चालकसँग सम्बन्धित थुप्रै तथ्याङ्क हुनेछ।
त्यो तथ्याङ्कको अर्थ विमानको स्वचालित प्रणालीले आवश्यक पर्दा विमानचालकलाई सहयोग गर्न सक्नेछ।उदाहरणको लागि विमानचालक अचेत भएमा स्वचालित प्रणालीले विमान नियन्त्रणमा लिन सक्नेछ।
बीएई सिस्टम्सले सन् २०२७ मा यो विमानको प्रदर्शन उडान गरिने र केही प्रविधिहरूको परीक्षण गरिने बताएको छ।त्यो विमानमा ६० फरक प्रविधि प्रयोग गरिने र तीमध्ये कतिपय पूर्ण रूपले कम्प्युटर नियन्त्रित हुने बताइएको छ।

यसका लागि पूर्ण रूपले नयाँ प्रविधि आवश्यक पर्छ।”हामीले प्रविधिको विकासको गतिसँग हिँड्नुपर्छ,” टेम्पेस्टका व्यापार विकास निर्देशक जोन स्टकरले बताए।
“पहिले रक्षा उपकरणबाट नयाँ प्रविधि भित्रिन्थे जुन व्यावसायिक प्रविधि बन्थे। अहिले व्यावसायिक प्रविधि रक्षा प्रविधिभन्दा बढी विकसित देखिन्छन्।”स्टकरले नयाँ लडाकु विमानहरूको प्रविधि मोबाइल फोनमा नयाँ एप डाउनलोड गरे जस्तै सजिलै अद्यावधिक गर्न सक्ने खालको बनाउने प्रयास भइरहेको बताए।
यो परियोजनामा यूके र इटलीले जापानको मित्सुबिशीसँग पनि प्राविधिक ज्ञान बाँड्नेछ किनभने जापानी कम्पनीले बनाइरहेको एफ-एक्स लडाकु विमान पनि टेम्पेस्टसँग मिल्दोजुल्दो छ।यो परियोजनामा हतियार उत्पादक एमबीडीए पनि छ किनभने टेम्पेस्टबाट प्रहार गरिने अस्त्रहरूलाई वरपर रहने ड्रोनले लक्ष्यसम्म पुग्न सहयोग गर्नेछ।

यो सबैका लागि लडाकु विमान मात्रै नभई ड्रोनहरू र डिजिटल प्रविधिलाई ऊर्जा प्रदान गर्ने खालको पूर्ण रूपले नयाँ इन्जिन आवश्यक पर्ने भएकोले रोल्स रोयस पनि परियोजनामा समाविष्ट छ।रोल्स रोयसका इन्जिनियरहरू टेम्पेस्टको सबै प्रविधिलाई ऊर्जा प्रदान गर्दा निस्कने तापलाई कसरी व्यवस्थापन गर्ने भनेर योजना बनाइरहेका छन्।
“हामी यो प्रणालीको सबै प्रविधिलाई ऊर्जा प्रदान गर्न चाहन्छौँ,” रोल्स रोयसका भविष्य कार्यक्रम निर्देशक जोन वार्डलले भने।यूके सरकारले टेम्पेस्ट परियोजनाका लागि दुई अर्ब पाउन्ड दिने प्रतिबद्धता जनाइसकेको छ र विमान तयार हुँदासम्म यो खर्च दुई-तीन गुना हुन्छ।
अहिलेको टाइफून लडाकु विमानलाई परिमार्जित नगरेर किन ठूलो खर्च गरेर नयाँ प्रणाली बनाउन लागिएको होला त?टाइफून लडाकु विमानको निर्यात सफलताले पनि यूके सरकार उत्साहित भएको हो।टाइफूनमा राज्यले १२ अर्ब पाउन्ड लगानी गरेपछि यसले यूकेको अर्थतन्त्रमा २१ अर्ब पाउन्ड भित्र्याउनुका साथै २०,००० रोजगारीका अवसर खोलेको कम्पनीको दाबी छ।त्यसैले कम्पनीहरू र यूके सरकारले नयाँ पुस्ताको लडाकु विमानबाट पनि ठूलो आशा राखेका छन्।
बीबीसीनेपालीबाट













































































































































































































