१ जेष्ठ २०८१, मंगलवार

 

बाल्य कालमै गरिब किसानहरूलाई सघाउने माओ

चीनको हुनान प्रान्तको स्याङताङ भन्ने अञ्चलमा शाऊशान भन्ने एउटा गाउँ छ । त्यो गाउँको माओ भन्ने किसान परिवारमा २६ डिसेम्बर १८९३ को दिन एउटा बालक जन्म्यो । त्यो बालकको नाम त्सेतुङ राखियो । चिनियाँहरूको चलनअनुसार थर नामको अगाडि रहन्छ । यसकारण, त्यो बालकको नाम माओ त्सेतुङ भयो ।

माओ परिवार

बालक माओ त्सेतुङ हजुरबुबाबाट लडाइँका कथाहरू अति मन लगाएर सुन्थे । पहिले चीनका किसानहरू असाध्य गरिब थिए । त्यसकारण, किसानहरूले त्यहाँका राजाहरूसँग लडेर किसानहरूलाई जग्गा र अन्न बाँडिदिन्थे । सन् १८५१ मा पनि किसानहरूले त्यहाँका राजा–रजौटा र देश खाने विदेशीहरूसँग लडेका थिए । त्यो क्रान्तिलाई ताइपिङ्ग किसान विद्रोह भनिन्छ । त्यो कथा माओ त्सेतुङ सा¥है मन लगाएर सुन्थे ।

माओ त्सेतुङका बाबुको नाम माओ शुनशेङ थियो । सानोमा उनले साहै दुःख पाएका थिए । पछि उनी पल्टनमा जागिरे भए र जागिरकै पैसाबाट उनले बन्धकमा परेको खेत निखने । पछि उनले व्यापार पनि गरे तथा ४० रोपनी खेत जोडे ।

खाइबरी वर्षको ३०–३२ मुरी अन्न बच्थ्यो र हजार बा¥ह सय रूपैयाँ नगद जम्मा हुन्थ्यो । त्यसबेला गाउँमा त्यति रकम कम थिएन ।माओ त्सेतुङकी आमा वेन चिमेई दुःखी र गरिबहरूलाई दयामाया गर्नुहुन्थ्यो । उनी बुद्धलाई पूजा गर्थिन् र माओ त्सेतुङलाई साह्रै माया गर्थिन् ।

माओ त्सेतुङले आफ्नी आमाबाट बुद्धको पूजा पाठ गर्न सिके, गरिबहरूलाई माया गर्न सिके र सानैदेखि घर र खेतको काममा आमालाई सघाउँथे । आफ्ना हजुरबुबासँग पुराना किसान क्रान्तिका कथाहरू सुन्थे ।

माओ पाठशालामा

गाउँमा त्यसबेला गुरुकै घरमा सबै विद्यार्थी पढ्न जान्थे । माओ पनि ८ वर्षका भएपछि गुरुकहाँ पढ्न गए । उनी पढ्नमा खुब ध्यान दिन्थे । गुरुले सुगालाई जस्तै पाठ घोक्न दिन्थे । माओ घोकण्टे विद्या मन पराउँदैनथे ।

त्यसबेला गुरुले आफ्ना चेलाहरूलाई खुब सासना दिन्थे । एकदिन माओलाई पनि गुरुको ठूलो पिटाइ प¥यो । १० वर्षका माओले त्यसको विरोध गरे । त्यही पिटाइको झोँकमा उनी घरबाट भागेपछि घरका मानिसले उनलाई भेट्टाए । त्यसपछि उनलाई पिट्न गुरु पनि डराए ।

किसानहरू जाडोमा खलामा धान सुकाइरहँदा कहिलेकाहीँ अचानक पानी पर्दा माओ आफ्नो घरको काम छोडेर भए पनि गरिब किसानहरूलाई सघाउ पु¥याउँथे । घरको पैसा र उठाएर ल्याएको पैसासमेत गरिबहरूलाई बाँडिदिन्थे ।

माओको घरमा झगडा

माओका बाबु कञ्जुस थिए । उनी पैसा कमाउनमात्रै चाहन्थे । घरमा राम्रो खाना पनि दिन चाहँदैनथे । उनी सहरमा व्यापार गर्न जान्थे । माओकी आमा आफ्नो लोग्नेको आँखा छलेर पनि गरिबहरूलाई मद्दत गर्थिन् । माओले पनि आफ्ना आमाबाट गरिबहरूलाई मद्दत गर्न सिके ।

एकदिन माओ स्कूल गइरहँदा बाटामा एक गरिब मानिस जाडोले कामिरहेको देखे । माओले उसको दुःख देख्न सकेनन् । झटपट आफ्नो लुगा फुकालेर त्यो गरिबलाई दिए । त्यो कुरो थाहा पाएर उनका बाबु सा¥है रिसाए । गरिबहरूलाई मद्दत गर्दा माओले धेरै गाली खाएका थिए ।

माओ १३ वर्षका भएपछि गाउँको पढाइ सिध्याई उनले चीनका पुराना वीरका कथाहरू पढ्न थाले । उनी काम गरेर खाने गरिब–गुरुवाहरूको कथा पढ्न चाहन्थे । तर, त्यसबेला गरिबबारे लेखिएको किताब हुँदैनथ्यो ।

उनका बाबु पढेपछि बिग्रिन्छ भनी माओलाई अरू बढी पढाउन चाहँदैनथे । उनी माओलाई पनि व्यापारमै लगाउन चाहन्थे । छोरोलाई बाबु कहिले खेतमा पठाउँथे त कहिले व्यापारको काममा लगाउँथे । तर, माओ लुकीलुकी राति टुकी बालेर किताब पढ्थे ।

एक दिन घरमा भोज थियो । बाबुले सबै पाहुनाकै अगाडि उनलाई ‘काम नलाग्ने’ बदमास भनेर गाली गरे । आफ्नो बेइज्जत भएको सम्झेर उनी घरबाट निस्के । पछि बाबुले नपिट्ने वचन दिएपछि मात्रै उनी घर फर्के ।

माओमा देशप्रेमको भावना

एकदिन उनले ‘विदेशी लुटाहाहरूले चीनलाई बाँडचुड गरेर लिने खतरा’ भन्ने किताब पढे । त्यो किताबको आखिरीमा ‘हरे १ चीन ध्वस्त हुन लागिरहेछ’ भन्ने लेखिएको थियो । यो कुराले उनलाई सा¥है पिर पर्यो । उनले मनमनै देशलाई बचाउने वाचा गरे । घरमा बाबुले धेरै पिट्ने गर्दा पनि त्यस विचारलाई त्यागेनन् ।

बाबुले छोरालाई व्यापारी अथवा वकिल बनाउन चाहन्थे किनभने देशभक्तिले पैसा कमाउन सकिन्नथ्यो तर माओ भने पैसा कमाउने विचार मन पराउँदैनथे ।एकदिन माओका मामाले माओलाई सहरतिर नयाँ स्कूलमा लाने कुरा गरे ।

आमाले पनि सही थापे तर बाबुचाहिँ जङ्गिए र आमालाई छोरो बिगार्ने भनी दोष लगाए । मामाले पढेपछि व्यापारले भन्दा बढी पैसा कमाउन सकिन्छ भनेर जोड दिए । सबै परिवार एकातिर, बाबु अर्कोतिर परेपछि त मान्नैपर्यो । माओ मावली पठाइए ।

तुङ तैशानको स्कूलमा

माओ आफ्नो मावली तुङ तैशानको नयाँ स्कूलमा भर्ना भए । मामाका छोराहरूले उनलाई राजनीतिक र सुधारका विषयमा लेखिएको ‘नयाँ जनता’ भन्ने किताब पढ्न दिए । माओलाई त्यो किताब मनपर्यो । उनी त्यसबेला १६ वर्षका थिए ।

स्कूलमा जापानबाट पास भएर आएका एक शिक्षक पढाउने गर्थे । उनी सङ्गीत र अङ्ग्रेजी पढाउँथे । उनले जापानका कुरा र जापानी कविता सुनाउँथे । माओ कविता सा¥है मन लगाएर सुन्थे ।
स्कूलमा धेरैजसो धनीका छोराछोरीहरू पढ्थे । तिनीहरूको दाँजोमा माओको लुगा अति साधारण हुन्थ्यो र उनलाई गाउँले भनेर जिस्क्याउँथे । तर, माओको लेख्ने ढङ्ग राम्रो भएको हुनाले साहित्य पढाउने शिक्षक उनलाई सा¥है मनपराउँथे ।

माओ त्यसबेला चीनको पुरानो साहित्य र इतिहासका किताबहरू धेरै पढ्ने गर्थे । उनले विदेशी इतिहास र भूगोल पनि पढ्न थाले । स्कूलमा कक्षा शिक्षकको देश बचाउने भाषणबाट माओको कलिलो मनमा देशभक्तिको भावना बढ्दै गयो । त्यसबेला उनी १७ वर्षका मात्रै थिए ।

माओ चाङशामा

तुङ तैशानको स्कूलमा १ वर्ष पढी माओ चाङशा गए । चाङशा हुनानको राजधानी र ठूलो सहर थियो । उनी त्यहाँको सबभन्दा ठूलो निम्न माध्यमिक स्कूलमा भर्ना भए । उनी १८ वर्षका भए ।
सन् १९११ को समय थियो ।

चीनमा २६८ वर्षदेखि मञ्चु वंशले राज्य गरिरहेको थियो । त्यसको विरोधमा क्रान्ति भइरहेको थियो । माओले पहिलोचोटि क्रान्तिको विषयमा लेखिएको ‘जनताको शक्ति’ भन्ने अखबार देखे । त्यसबेला सबभन्दा बलियो राजनीतिक पार्टी कोमिनताङ पार्टी थियो ।

त्यसका नेता सन यात–सेन थिए । उनी त्यसबेला अमेरिकामा थिए । उनका अरू समर्थकहरू जापान र अरू देशमा थिए । तिनीहरू चीनमा पनि अमेरिका र बेलायतको जस्तो प्रजातन्त्र ल्याउन चाहन्थे । माओ त्यस पत्रिका र राजनीतिबाट प्रभावित हुँदै गए ।

एकदिन माओले एउटा पर्चा लेखेर स्कूलमा टाँसिदिए । त्यो माओको पहिलो राजनैतिक लेख थियो । स्कूलका सबै विद्यार्थीहरूले त्यो पर्चा हेरेका थिए । पर्चामा सन यात सेनलाई राष्ट्रपति, काङ्ग यू वेईलाई प्रधानमन्त्री र ल्याङ चि च्याउलाई परराष्ट्रमन्त्री बनाउने प्रस्ताव लेखिएको थियो ।

त्यसलाई कसैले समर्थन र कसैले विरोधमा आ–आफ्नो विचार पोखे । माओ अलग्ग बसेर टीकाटिप्पणी सुनिरहेका थिए । त्यस स्कूलका एक विद्यार्थी नेताले पर्चालाई ‘थोत्रो’ भनेर आलोचना गरे किनभने सन यात सेन राजाविरोधी र गणतन्त्रवादी विचारका थिए भने अरू दुवैजना राजावादी र सुधारवादी थिए । तिनीहरूको वैचारिक भिन्नता माओलाई थाहा थिएन । तैपनि, माओलाई त्यो विद्यार्थीले छलफल गर्न आफूकहाँ बोलाए र दुईजना खुब मिल्ने साथी भए ।

पल्टनका सिपाही

चीनमा उथलपुथल भइरहेको थियो । देशभरि नारा लागिरहेको थियो– ‘मञ्चू सरकार मुर्दावाद १’, ‘स्वतन्त्र चीन जिन्दावाद १’, ‘गणतन्त्र जिन्दावाद १’ चाङशामा क्रान्तिकारी फौज बन्दुक पड्काउँदै भित्र पस्यो । ठाउँ ठाउँमा लडाइँ भइरहेको थियो ।

क्रान्तिको निम्ति पल्टनमा नयाँ भर्ना लिइँदै थियो । माओ पनि पल्टनमा भर्ना भए । त्यसबेला विदेशी सरकारहरू मञ्च सरकारलाई मद्दत दिँदै थिए । यसकारण, चिनियाँ जनता विदेशी सामानहरू नकिन्ने आन्दोलन चलाउँदै थिए ।

पल्टनमा माओले महिनाको ७ रूपैयाँ पाउँथे । त्यसैले खाना–पिना सबै पु¥याउनुपर्दथ्यो । खानाबाट बाँकी भएको पैसाले उनी अखबार किन्थे । सिपाहीको कवाज खेल्नुबाहेक उनी साथीहरूसँग खुब मेलमिलाप राख्थे ।

तिनीहरूको घरको चिट्ठीपत्र लेखिदिन्थे र दुःख सुखका कुरा गर्थे । एक दुई जना बदमासहरूलाई तह पनि लगाउँथे । त्यसबेला उनी समाजवादको विषय अखबारबाट थाहा पाउँथे र आफ्ना साथीहरूलाई पनि बताउँथे । उनी साथीहरूमध्येमा सबभन्दा जान्ने सुन्ने थिए ।

मञ्चु सरकार पल्ट्यो । सन यात सेन चीनका अस्थायी राष्ट्रपति भए । तर, विदेशीहरूको जालझेलले गर्दा सरकारमा पछि गुटबन्दी भयो र सन यात सेनले राष्ट्रपतिबाट राजीनामा गर्नुपर्यो । युवान शिह काई भन्ने मञ्च शासकहरूको एक सैनिक अफिसर राष्ट्रपति भए ।

लडाइँ सिद्धियो । माओ लड्न चाहन्थे र क्रान्तिलाई अन्तसम्म चलाउन चाहन्थे । तर, सन यात सेनलाई आफ्ना साथीहरूले छोडे । सम्झौता भयो । माओले अब पल्टनमा बसेर कुनै फाइदा देखेनन् र ६ महिनाको फौजी जीवन बिताएर उनले राजीनामा दिए । फौजमा उनलाई अनेक लोभ देखाए तर उनी मानेनन् ।

कामको खोजी र अध्ययन

पल्टनबाट राजीनामा दिएर अब माओ कामको खोजीमा लागे । आखिर व्यापारशास्त्र पढ्ने निधो गरी घरमा चिट्ठी लेखे । व्यापारशास्त्र पढ्ने भएकोले बाबुले खुसी भएर पैसा पठाए । तर, त्यहाँ पढाइ अङ्ग्रेजीमा हुन्थ्यो । माओलाई अङ्ग्रेजी राम्रो आउँदैनथ्यो ।

त्यसकारण, एक महिनापछि व्यापारशास्त्र पढ्न छोडे । व्यापारशास्त्र पढ्न छोडेको थाहा पाएर घरबाट बाबुले पैसा पठाउन बन्द गरिदिए, अनि माओ आफैँ त्यहाँको प्रान्तीय पुस्तकालयमा गएर अध्ययन गर्न थाले । पुस्तकालयमा उनले रूस, अमेरिका, बेलायत, फ्रान्स आदि विभिन्न देशका भूगोल र इतिहास पढे ।

किताब पढ्दा नक्सा अगाडि राखेर पढ्थे । उनले एडम स्मिथको ‘राष्ट्रहरूको धन’, डार्विनको ‘जातिको उत्पत्ति’, जोन स्टुर्टमिलको नीतिशास्त्र, रूसोको राजनीतिक पुस्तक, स्पेन्सरको तर्कशास्त्र, मन्टेस्क्युको ‘ऐनकानुनबारे’ का पुस्तक र अरू चिनियाँ र प्राचीन ग्रीसका काव्य, वीर कथा र साहित्यहरू पढे । त्यो ६ महिना उनको बौद्धिक विकासका महत्वपूर्ण दिनहरू थिए ।

त्यसबेला चाङशामा शिक्षकहरूलाई तालिम दिने नर्मल स्कूलमा भर्ना खुलेको थियो । तालिममा स्कूलमा खान र बस्न पनि सस्तो प्रबन्ध भएको हुनाले उनले त्यसैमा दर्खास्त दिए । उनको निबन्ध लेख्ने शैली राम्रो थियो । यसकारण, प्रिन्सिपलले खुसी भएर उनलाई भर्ना लिए ।

माओमा प्राचीन चिनियाँ साहित्यको ज्ञान देखेर सबैजसो शिक्षकहरू उनलाई मन पराउँथे र तिनीहरूले किताब र अखबारहरू दिन्थे । पाठ्यपुस्तक उनलाई सजिलो लाग्थ्यो र त्यत्तिले मात्रै उनको ज्ञानको भोक मेटिँदैनथ्यो ।

यसकारण, उनले चिनियाँ भाषाका प्राचीन साहित्य, दर्शन, विश्वको भूगोल, इतिहास र साहित्य अध्ययन गर्न थाले । त्यस्तै पश्चिमी देशको अर्थशास्त्र, प्राणी विज्ञान, नीतिशास्त्र, तर्कशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र र भ्रमण साहित्य अध्ययन गरे । आफूले पढेका विषयहरूमा थुप्रै टिपोटहरू पनि बनाउँथे । ६ महिना माओले रात–दिन कडा मिहिनेत गरेर अध्ययन गरे ।

प्रोफेसर याङ चाङ– चिसँग सङ्गत

त्यस कलेजमा जापान, बेलायत र जर्मनीमा अध्ययन गरेर फर्केका याङ चाङ–चि भन्ने एक प्रोफेसर थिए । उनी पूर्वी र पश्चिमी दर्शनका विद्वान् थिए, प्रजातन्त्रवादी र समाजवादी थिए । माओ र अरू २ जना साथीहरू बिदाको दिन प्रोफेसर याङकहाँ जान्थे ।

याङ माओको तीखो बुद्धिबाट प्रभावित थिए । यसकारण, उनी माओलाई खुब माया गर्थे । उनैको सङ्गतले माओ प्राकृतिक भोजनका पक्षपाती भए । त्यसबेला माओ आफ्ना साथीहरूसँग जाडोमा पनि नदीमा पौडी खेल्न जान्थे ।

एकान्तमा गएर गीत गाउँथे । यसैबेलादेखि उनको कविता लेख्ने बानी पनि बस्यो । उनी प्राचीन चिनियाँ कविताहरू खुब मन पराउँथे ।भ्रमण साहित्यको प्रभावबाट गर्मीको बिदामा २ महिनासम्म माओले हुनान प्रान्तको ५ अञ्चलको दुःख कष्टसहित पैदल भ्रमण गरे ।

त्यसबेला स्कूलको प्रशासनमा नातावाद, कृपावाद र भ्रष्टाचार व्याप्त थियो । विद्यार्थीहरूले राम्रो खाना पाउँदैनथे । सरकार विद्यार्थीहरूलाई कुनै बाहिरी गतिविधिमा भाग लिन दिँदैनथ्यो । प्रिन्सिपल र प्राध्यापकहरू सरकारका समर्थकहरू थिए ।

विद्यार्थीहरू सरकारको जनविरोधी नीतिको विरोधमा हडतालहरू गर्थे । त्यसैकारण, माओलाई स्कूलबाट निकाल्न पनि खोजेका थिए । तर, सारा विद्यार्थी र केही प्राध्यापकहरूको समर्थन माओलाई भएकोले निकाल्न सकिएन ।

त्यसबेला चीनको राष्ट्रपति युवान शिह–काई थिए । सन् १९१५ मा जापानको समर्थन पाउन उनले आफूलाई चीनको सम्राट घोषणा गरे । देशभर त्यसको विरोध हुन थाल्यो । युवान शिह–काईले आफूलाई फेरि राष्ट्रपति घोषणा गरे । देशभरिका जनताको विरोधले डराएरै पछि सन् १९१६ जून महिनामा जू मरे । युवान शिह–काई मरेपछि चीन फेरि अनेक गुटमा टुक्रियो र एक राजनैतिक सङ्कट देखाप¥यो ।

का. माओ त्सेतुङ सङ्क्षिप्त जीवनीबाट, अनलाइन मजदुरबाट

क्रमश……….

प्रतिक्रिया दिनुहोस्