७ जेष्ठ २०८१, सोमबार

 

ट्राफिक सप्ताहको २०८० बागलुङमा समापन

साताव्यापी रुपमा संचालन गरिएको ट्राफिक सप्ताह २०८० बागलुङमा समिक्षात्मक अन्र्तक्रिया सहित आईतबार सम्पन्न भएको छ ।सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि ट्राफिक प्रहरीले सप्ताहव्यापी अभियानको औपचारिक समापन गरेको हो । सप्ताहको अन्तिम दिन साताव्यापी कार्यक्रममा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पछिल्लो समय बढ्दो सवारी चाँप संगै पार्किङ व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै ट्राफिक व्यवस्थापन गरेर नगरलाई सभ्य बनाउने तयारी गरेको बताउनु भयो । बागलुङमा बसपार्क र जिपपार्कको व्यवस्थापन गर्न सकेमा बजार क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न सकिने भन्दै यसबारे सरोकारवाला बैठक बसेर साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

ट्राफिक व्यवस्थापनमा नगरपालिकाले सहयोग र पहल गर्ने उहाँको भनाई थियो । कार्यक्रममा यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिहं थापा, नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव बिजय राना, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिलादेबी खड्का, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, धौलागिरी गण्डकी प्राःलि का अध्यक्ष उमेश केसी,बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष नरेश कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्काले साप्ताहिक रुपमा गरेका गतिविधी बारे जानकारी गराउनुभएको थियो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता र प्रहरी निरिक्षक राजाराम खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्