१७ बैशाख २०८१, सोमबार

 

मालिकाका दुई दाजुभाई व्यावसायिक किवी खेती तर्फ आकर्षित

बागलुङ । पछिल्लो समयमा बागलुङका किसान व्यावसायिक किवी खेती तर्फ आकर्षित हुन थालेका छन् । बागलुङका उच्च क्षेत्र किवी खेतीका लागि उपयुक्त वातावरण भएकाले किसान यस पेसातर्फ आकर्षित हुन थालेका हुन। केही वर्षअघि धान, कोदो, मकै लगाएतका परम्परागत खेती हुने खेतवारीमा आजभोलि भने किसानले किवी खेती गर्न थालेका छन् ।

बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका भिम प्रसाद शर्मा, भुवानीशंकर शर्मा र भानुभक्त शर्माले करिव १० रोपनी जमिनमा किवी खेती गरिरहेका छन् । मालिकाको उच्च भागमा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको बताए ।

करिब ५ सय बोट किवी लगाएका उनीहरुले २ हजार पु¥याने लक्ष्य रहेको बताए । किवी खेती गर्नुभन्दा पहिले आफू भारतमा गएर काम गर्ने समयमा किवीको बारेमा जानकारी पाएपछि घरमा आएर किवी खेती सुरु गरेको उनको भनाइ छ ।

रोपेको करिब ३ वर्षदेखि ५० र ६० वर्षसम्मै किवीले आम्दानी दिने सुनेको कारण किवी खेती तर्फ लागेको भुवानीशंकर शर्माले बताए । किवीका बारेमा प्राविधिक ज्ञान आफुसँग नहुँदा व्यवस्थापनमा केही समस्या भएको बताए ।

पहिलो पटक रोपेको बिरुवाले फल राम्रो दिन थालिसकेको छ । विदेशमा जति मिहिनेत कृषिमा गर्दा विदेशमा कमाएको भन्दा बढी आम्दानी गर्न सकिने सोचाइका साथ किवी खेतीमा लागेको उनको भनाइ छ । राज्यले वर्षेनी अरबौं रकम कृषिमा लगानी गरेपनि आफूहरुले अहिलेसम्म केही नपाएको भानुभक्त शर्माले बताए । पछिल्लो समय अनुदानका नाममा आफ्ना कार्यकर्ता पोस्ने काम भएको तर आफूजस्ता वास्तविक किसानले अनुदान पाउन नसकेको बताए ।

५ वर्षदेखि उनीहरु किवी खेती गरिरहेका छन् । गत वर्ष फलेको किवीले राम्रो बजार पाएको र यो वर्ष पनि राम्रो फल लागेको कारण राम्रो उत्पादन हुने अनुमान छ । किवीसँगै उनीहरुले ओखर खेती पनि सुरु गरेका छन् । पहिलो चरण ३० वटा दाँते ओखर लगाएकोमा २७ वटा विरुवा हुर्किएका छन् ।

सुरुमा एक पटक लगानी गरेपछि ४० र ५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको वडा अध्यक्ष हरि प्रसाद शर्माले बताए । किवी तथा अन्य व्यवसायीक खेती गर्ने किसानहरुको अभिलेख तयार गरि कार्यक्रम बनाउने वडाले तयारी गरेको बताए ।

किवी खेती मौसमका अनुसार पनि मालिकाको उपल्लो क्षेत्र उपयुक्त रहेकोले मालिमा किवीको राम्रो सम्भावना रहेको क्षेत्र भएको बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए ।
उनका अनुसार किवी खेती समुद्री सतहबाट १ हजार ८ सय मिटरदेखि २ हजार ४ सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन ।

मालिका किवी खेतीको राम्रो सम्भावना भएको क्षेत्र भएको र वोटमा हेर्दा उत्पादन राम्रो रहेकोले नगरपालिकाले यसको बजारीकरण व्यवस्था मिलाउन आवश्यक देखिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए ।

किसानले उत्पादन गरेका किसानको किवीलाई कसरी वजार व्यवस्थापन गर्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको भन्दै बजारकरणको व्यवस्थापनको लागि आफूहरुले काम गर्ने योजना बनाएको बताए ।लहरे फल किवी लगाएको ३ वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर फल्ने गर्छ । किवी फल उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्त्वपूर्ण औषधिको रूपमा लिइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्