२० बैशाख २०८१, बिहीबार

 

रहनु भएन समाजसेवी तथा उद्योगी पुष्पमान श्रेष्ठ

काठमाडौं । समाजसेवी, पूर्वशिक्षक तथा उद्योगी पुष्पमान श्रेष्ठको निधन भएको छ । शुक्रबार साँझ ५ बजे आफनै निवासमा ७४ वर्षको उमेरमा उहाँको निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठलाई भदौ २५ गते सोमबार डेङ्गी भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो । श्रेष्ठ २००६ पुष ६ गते पिता दिपबहादुर श्रेष्ठ र माता लालकुमारी श्रेष्ठको माइला छोराका रूपमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मनु भएको थियो ।

श्रेष्ठ नेपाल पश्मिना उद्योग संघको पूर्वअध्यक्ष, बागलुङ कल्याण समाज काठमाडौंका पूर्वअध्यक्ष, धवलागिरि बचत तथा ऋण सहकारीका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष, एविसि टिभीको संस्थापक अध्यक्ष तथा नयाँ विश्वका पूर्वअध्यक्ष हुनु हुन्थ्यो ।

श्रेष्ठलाई सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक र पश्मिनाको विषयमा पनि विशेष दक्खल थियो । उहाँले पश्मिनाको उत्पादन, विदेशमा निर्यात र नेपाल पश्मिना उद्योग संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

उहाँले २०४० मा बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासको लागि २ लाखको अक्षय कोष निर्माणको लागि नेतृत्व गर्नु भएको थियो । श्रेष्ठ २०६० सालमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउनको लागि काठमाडौं उपत्यकाका आर्थिक संयोजक हुनु भएको थियो ।

ओमप्रसाद र मेघ कुमार वैघको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविका उहाँ सक्रिय विद्यार्थी हुनु हुन्थ्यो । त्यही विद्यालय २०७२ सालको भूकम्पले भत्काएपछि नयाँ भवन निर्माणको लागि विद्यामन्दिर माध्यमिक विद्यालय भवन निर्माण समितिले २०७३ सालमा उहाँलाई काठमाडौं उपत्यकाको आर्थिक संयोजक बनाएको थियो ।

श्रेष्ठले २०२३ सालमा विद्यामन्दिर माविबाट एसएलसी उर्तीण गर्नु भएको थियो । उहाँ कालिका कन्या माविमा २०२२ अनिवार्य नि:शुल्क प्राथमिक पाठशालाको प्रधानाध्यापक हुनु भएको थियो ।

उहाँले गलकोट, हटियाको गलकोट माध्यमिक विद्यालय र बुर्तिबाङ बजारमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा अग्रेजी विषय पढाउनु भएको थियो ।

उहाँ निर्मल लामा, बसन्त गौचन, टोपबहादुर विजुक्क्षे, राधेश्याम कमारो, हिक्मत गौचन, लालचन्द्र राजभण्डारी, पद्यचन्द्र राजभण्डारीबाट वामपन्थी राजनीतिमा आकर्षित हुनु भएको थियो ।

बागलुङ बजार, गलकोट र बुर्तिवाङमा वामपन्थी विचारधाराको प्रचारमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । पुष्पमान श्रेष्ठ र श्रीमती लालु श्रेष्ठले बागलुङ नगरपालिका वडा नं ६ पंचकोटमा गण्डकी माताको मन्दिर ६० लाखमा निर्माण गर्नु भएको थियो ।

नेपाली कांग्रेस बागलुङको पूर्वपार्टी सभापति तथा पुष्पमानका अनन्य मित्र हरि प्रसाद श्रेष्ठले श्रेष्ठलाई यसरी सम्झिनु भयो – ‘उहाँ काठमाडौं, बागलुङको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक खम्बा हुनुहुन्थ्यो ।

समाजलाई चाहिएको बेला उहाँ जहिले पनि अगाडि आउने गर्नुहुन्थ्यो । उहाँको मृत्युले देश र समाजलाई अपूरणीय क्षति भएको छ ।’ श्रेष्ठका श्रीमती, दुई छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्