२० बैशाख २०८१, बिहीबार

 

पुष्पमान श्रेष्ठको अन्त्येष्टि गरिँदै, पशुपति आर्यघाटमा उद्योगी, समाजसेवी र नेताहरूले दिए श्रद्धाञ्जली

काठमाडौं । समाजसेवी तथा उद्योगी पुष्पमान श्रेष्ठको अन्त्येष्टि समारोह शुरु भएको छ ।​ सोल्टीमोडस्थित निवासबाट निकालिएको शवयात्रा पशुपति आर्यघाट पुगेपछि अन्त्येष्टि समारोह शुरु भएको हो । श्रेष्ठलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिन उद्योगी, व्यवसायी, शिक्षासेवी, समाजसेवी र राजनीतिक दलका नेताहरू पशुपति आर्यघाट पुगेका छन् । ​​

श्रेष्ठको शुक्रबार अपरान्न ५ बजे निधन भएको थियो । श्रेष्ठलाई ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जली दिने र १ बजे अन्त्येष्टि गरिने बागलुङ कल्याण समाज काठमाडौंका सचिव किस्मत मणि श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

श्रेष्ठको पार्थिव शरीरलाई उनका छोरा सुनिल श्रेष्ठ र अनुप श्रेष्ठले दागबत्ती दिने छन्। श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा उद्योगी, व्यवसायी, राजनैतिक दलका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ।

आर्यघाटमा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा, नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा थापा र बागलुङ कल्याण समाज काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले पुष्पमान श्रेष्ठले देश र समाजको लागि पुर्याउनु भएको योगदानमाथि चर्चा गर्नु भएको थियो ।

कार्यक्रमको संचालन बागलुङ कल्याण समाज काठमाडौंका सचिव किस्मत मणि श्रेष्ठले गर्नु भएको थियो ।श्रेष्ठलाई भदौ २५ गते सोमबार डेङ्गी भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो । श्रेष्ठ २००६ पुष ६ गते पिता दिपबहादुर श्रेष्ठ र माता लालकुमारी श्रेष्ठको माइला छोराका रूपमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मनु भएको थियो ।

श्रेष्ठ नेपाल पश्मिना उद्योग संघको पूर्वअध्यक्ष, बागलुङ कल्याण समाज काठमाडौंका पूर्वअध्यक्ष, धवलागिरि बचत तथा ऋण सहकारीका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष, एविसि टिभीको संस्थापक अध्यक्ष तथा नयाँ विश्वका पूर्वअध्यक्ष हुनु हुन्थ्यो ।

श्रेष्ठले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, धार्मिक क्षेत्रमा योगदान दिनु भएको थियो । उहाँले पश्मिनाको उत्पादन, विदेशमा निर्यात र नेपाल पश्मिना उद्योग संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

तस्वीर : किस्मत राजभण्डारी र सम्पूर्ण नारायण भारी

प्रतिक्रिया दिनुहोस्