२० बैशाख २०८१, बिहीबार

 

श्रेष्ठका दुई छोराले दिए दागबत्ती, पशुपति क्षेत्र शोकमग्न

काठमाडौं । समाजसेवी तथा उद्योगी पुष्पमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।​ सोल्टीमोडस्थित निवासबाट शवयात्रा गरी शनिवार दिउँसो पशुपति आर्यघाट अन्त्येष्टि गरिएको हो । श्रेष्ठलाई उनका दुई छोरा सुनिल श्रेष्ठ र अनुप श्रेष्ठले दागबत्ती दिएका छन् ।

श्रेष्ठको हिन्दु विधिअनुसार अन्त्येष्टि गरिएको हो।श्रेष्ठको सम्झना पशुपति क्षेत्र शोकमग्न देखिन्थ्यो ।

श्रेष्ठलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठ र सचिव किस्मत मणि श्रेष्ठले श्रेष्ठको पार्थिव शरीरमा बागलुङ समाजको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

अन्तिम श्रद्धाञ्जली दिन उद्योगी, व्यवसायी, शिक्षासेवी, समाजसेवी र राजनीतिक दलका नेताहरू पशुपति आर्यघाट पुगेका थिए । ​​

आर्यघाटमा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा, नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा थापाले पुष्पमान श्रेष्ठले देश र समाजको लागि पुर्याउनु भएको योगदानमाथि चर्चा गर्नु भएको थियो ।

श्रेष्ठको शुक्रबार अपरान्न ५ बजे निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका सचिव किस्मत मणि श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षासेवी, पत्रकार, राजनैतिक दलका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रमको संचालन बागलुङ कल्याण समाज काठमाडौंका सचिव किस्मत मणि श्रेष्ठले गर्नु भएको थियो । श्रेष्ठलाई भदौ २५ गते सोमबार डेङ्गी भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो । श्रेष्ठ २००६ पुष ६ गते पिता दिपबहादुर श्रेष्ठ र माता लालकुमारी श्रेष्ठको माइला छोराका रूपमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मनु भएको थियो ।

श्रेष्ठ नेपाल पश्मिना उद्योग संघको पूर्वअध्यक्ष, बागलुङ कल्याण समाज काठमाडौंका पूर्वअध्यक्ष, धवलागिरि बचत तथा ऋण सहकारीका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष, एविसि टिभीको संस्थापक अध्यक्ष तथा नयाँ विश्वका पूर्वअध्यक्ष हुनु हुन्थ्यो ।

श्रेष्ठले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, धार्मिक क्षेत्रमा योगदान दिनु भएको थियो । उहाँले पश्मिनाको उत्पादन, विदेशमा निर्यात र नेपाल पश्मिना उद्योग संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

उहाँले २०४० मा बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासको लागि २ लाखको अक्षय कोष निर्माणको लागि नेतृत्व गर्नु भएको थियो । श्रेष्ठ २०६० सालमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउनको लागि काठमाडौं उपत्यकाका आर्थिक संयोजक हुनु भएको थियो ।

ओमप्रसाद र मेघ कुमार वैघको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविका उहाँ सक्रिय विद्यार्थी हुनु हुन्थ्यो । त्यही विद्यालय २०७२ सालको भूकम्पले भत्काएपछि नयाँ भवन निर्माणको लागि विद्यामन्दिर माध्यमिक विद्यालय भवन निर्माण समितिले २०७३ सालमा उहाँलाई काठमाडौं उपत्यकाको आर्थिक संयोजक बनाएको थियो ।

श्रेष्ठले २०२३ सालमा विद्यामन्दिर माविबाट एसएलसी उर्तीण गर्नु भएको थियो । उहाँ कालिका कन्या माविमा २०२२ अनिवार्य निस्शुल्क प्राथमिक पाठशालाको प्रधानाध्यापक हुनु भएको थियो ।

उहाँले गलकोट, हटियाको गलकोट माध्यमिक विद्यालय र बुर्तिबाङ बजारमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा अग्रेजी विषय पढाउनु भएको थियो ।

उहाँ निर्मल लामा, बसन्त गौचन, टोपबहादुर विजुक्क्षे, चित्रबहादुर केसी, राधेश्याम कमारो, लालचन्द्र राजभण्डारी, हिक्मत गौचन, पद्यचन्द्र राजभण्डारीबाट वामपन्थी राजनीतिमा आकर्षित हुनु भएको थियो ।उहाँ २०६२ सालदेखि नेकपा माओवादी पार्टीसँग नजिक हुनु भएको थियो ।

पंचायत कालमा चित्रबहादुर केसी नेकपा मसाल, बागलुङको सेक्रेटरी भएको बेला पुष्पमान श्रेष्ठ र दीनानाथ शर्मा जिल्ला समितिको सदस्य भएर वामपन्थी राजनीतिमा सक्रिय थिए । उनीहरु पंचायती शासकको कडा निगरानीमा थिए ।

मैले २०६२ सालमा उद्योग व्यापार क्षेत्रको विकास र नीति निर्माणको लागि नेकपा माओवादीको तर्फबाट सांसद बन्नको लागि अनुरोध गर्दा पुष्प दाईले उदारता पूर्वक अस्वीकार गर्नु भएको थियो नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले बताउनु भयो । उहाँ पद प्रतिष्ठाको भन्दा पनि देशको विग्रदो राजनीतिक र आर्थिक अवस्थाबाट बढि चिन्तित हुनु हुन्थ्यो शाक्यले भन्नु भयो ।

बागलुङ बजार, गलकोट र बुर्तिवाङमा नेकपा मसालको संगठन निर्माण र वामपन्थी विचारधाराको प्रचारमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । पुष्पमान श्रेष्ठ र श्रीमती लालु श्रेष्ठले बागलुङ नगरपालिका वडा नं ६ पंचकोटमा गण्डकी माताको मन्दिर ६० लाखमा निर्माण गर्नु भएको थियो ।

नेपाली कांग्रेस बागलुङको पूर्वपार्टी सभापति तथा पुष्पमानका अनन्य मित्र हरि प्रसाद श्रेष्ठले श्रेष्ठलाई यसरी सम्झिनु भयो – ‘उहाँ काठमाडौं, बागलुङको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक खम्बा हुनुहुन्थ्यो ।

समाजलाई चाहिएको बेला उहाँ जहिले पनि अगाडि आउने गर्नुहुन्थ्यो । उहाँको मृत्युले देश र समाजलाई अपूरणीय क्षति भएको छ ।’

तस्वीर र भिडियो : किस्मत जंग राजभण्डारी

 

प्रतिक्रिया दिनुहोस्