१७ बैशाख २०८१, सोमबार

 

काठमाडौंमा दोस्रो दिन पनि शिक्षकहरूको प्रदर्शन जारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा देशैभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधबारबाट सुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।

विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए। सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्