२१ बैशाख २०८१, शुक्रबार

 

हामीमा ‘साइन्टिफिक टेम्परमेन्ट’ कति छ ?

आज ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइरहँदा मैले ‘नेपालका वैज्ञानिकहरू’ भनेर इन्टरनेटमा खोजेँ । इन्टरनेटले नाम देखायो — बिनिल अर्याल, विशालनाथ उप्रेती, दयानन्द बज्राचार्य, गेहेन्द्र शमशेर, लुजेन्द्र ओझा, मनोजकुमार यादव, मुनि शाक्य, निरञ्जन पराजुली, प्रकाश गौतम, राम आई। महतो, शङ्करप्रसाद श्रेष्ठ, सन्दुक रुइत, सुदीप ठकुरी, तेजकुमार श्रेष्ठ, उदयराज खनाल, यादव पण्डित आदि ।

उनीहरूले गरेको काम, पुर्याएको योगदान र पाएको सफलता र सम्मानबारे कमै मानिसलाई थाहा होला । ‘विज्ञान साक्षरता र उद्यमशीलतास् सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्यका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई दिवस मनाउन आग्रह गरिरहँदा देश र देशबाहिर रहेर आ–आफ्नो क्षेत्रमा योगदान दिइरहेका नेपाली वैज्ञानिकको के कति चर्चा–परिचर्चा तथा खोजी गरियो ? यो प्रश्न महत्त्वपूर्ण छ ।

नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पसले स्थापना दिवसको अवसरपारि २०७० सालदेखि हरेक वर्ष असोज १ लाई देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरेको हो ।

यस दिवसमा गरिने कार्यहरू सीमित गोष्ठी, सेमिनार र फोटो सुटमा मात्र सीमित नहोस् भन्नेमा पनि हाम्रो ध्यान जान आवश्यक छ । हाम्रा वैज्ञानिकले गरेका कामको, पाएको उपलब्धिको केही रेकर्डसम्म छ हाम्रो सरकारसँग ?

उनीहरूको ज्ञान, सीप र अनुभवलाई देशको शिक्षा प्रणालीसँग जोड्न अनि देशको अर्थतन्त्रमा योगदान हुने गरी काम गर्न कुनै नीति–नियम तथा कार्ययोजना छ राज्यसँग ? यो विषयमा पनि छलफल होस् ।

विज्ञान र प्रविधिको क्षेत्रमा हामी धेरैपछाडि छौँ भन्ने यथार्थलाई हामी नकार्न सक्दैनौँ । हाम्रा छिमेकी मुलुकले जुन गतिमा विज्ञान र प्रविधिमा एकपछि अर्को फड्को मार्दै छन्, उनीहरूको चालको तुलनामा हामी अलि धेरै नै पछाडि छौँ ।

कुनै पनि देशमा हुने नवीनतम खोज, अनुसन्धान र उच्च स्तरीय प्रविधिको विकास त्यस देशमा भएका युवा तथा बालबालिकामा वैज्ञानिक स्वभाव (साइन्टिफिक टेम्परमेन्ट) के कति छ भन्ने कुराले निर्धारण गर्छ ।

वैज्ञानिक स्वभावले व्यक्तिको तार्किक र तर्कसंगत सोचको मनोवृत्तिलाई बुझाउँछ । यदि कुनै व्यक्तिले दैनिक जीवनमा निर्णय गर्न वा आफ्नो नित्य काम सम्पन्न गर्न कुनै वैज्ञानिक विधि, प्रविधि वा तौर–तरिका अपनाउँछ भने उसमा वैज्ञानिक स्वभाव वा मनोवृत्ति (साइन्टिफिक टेम्परमेन्ट) भएको मानिन्छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो पुस्तक ‘द डिस्कभरी अफ इन्डिया’मा पहिलोपटक यो शब्दको प्रयोग गरेका थिए ।

भारतको संविधानको धारा ५१ ‘ज’मा वैज्ञानिक दृष्टिकोण (साइन्टिफिक टेम्पर), मानववाद र ज्ञानार्जन तथा सुधारको भावना विकास गर्ने उल्लेख छ । हरेक नागरिकमा हुने यस्तो वैज्ञानिक मनोवृत्तिले भारतमा धर्मनिरपेक्षता, मानवतावाद, अन्वेषण र सुधारको भावनाको विकास गर्न मद्दत गर्छ भन्ने उनीहरूको विश्वास छ ।

भारत सरकारको विज्ञान र प्रविधि विभागको एक विभाग छ, नेसनल काउन्सिल फर साइन्स एन्ड टेक्नोलोजी कम्युनिकेसन (एनसीएसटीसी), जसले विज्ञान र प्रविधिसम्बन्धी नयाँ कुरालाई संवद्र्धन र त्यसको प्रचार–प्रसार गरी आम नागरिकसम्म पुर्याउँछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकासमा विभिन्न लक्ष्य तथा उद्देश्यसहित स्थापित भएको संस्था हो, तर नास्टले गर्न सक्ने र गर्नुपर्ने अतिआवश्यक काम छाडेर कहिलेसम्म सेमिनार, विचार गोष्ठी र प्रदर्शनीमा मात्र राज्यको लगानी, समय र स्रोतको खर्च गरिरहने रु नास्टको बारेमा विद्यालय स्तरदेखि नै पढाइन्छ, तर यो संस्थाले अहिलेसम्म के कस्ता उपलब्धि हासिल ग¥यो र आगामी दिनमा कस्ता–कस्ता महत्त्वाकांक्षी योजना पूरा गर्ने लक्ष्य लिएको छ भन्ने विज्ञान र प्रविधिमा चासो तथा जिज्ञासा राख्ने न मजस्ता हजारौँलाई थाहा छैन, न त ती साना विद्यार्थी भाइबहिनीहरू र सामान्य आमनागरिकसम्म नै यो कुरा पुगेको छ ।

अहिले पनि काठमाडौँका अधिकांश स्कुल–कलेजले हरेक वर्ष विज्ञान प्रदर्शनी गर्छन्, जसमा हजारौँ अवलोकनकर्ताले भाग लिन्छन्, तर देखाइन्छ के ? तिनै सदियौँदेखि देखाउँदै आएका हाइड्रोलिक मेसिन, ब्रिज, इलेक्ट्रिक कार, ट्राफिक लाइट, ड्रोन, केवल कार र पहिल्यै निर्मित भएर आएका विभिन्न सेन्सरलाई जडान गरेर, फूलबुट्टा भरेर बनाइएका सामग्रीहरू १ के हामीले जानेको यति मात्रै हो ।

केही फरक खालका र नयाँ लाग्ने प्रविधि हेर्नुपर्यो भने पुल्चोक क्याम्पसले आयोजना गरेको प्रदर्शनीबाहेक अर्को विकल्प छैन । त्यहाँ पनि हरेक साल उही र उस्तै खालका प्रोजेक्ट मात्र दोहोरिरहेका छन् । यसले हाम्रो स्कुल, कलेज तथा विश्वविद्यालयमा कुन लेभलको साइन्टिफिक टेम्परमेन्ट छ भन्ने बुझाउँछ ।

हुन त काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही सामुदायिक विद्यालयमा रोबक्टिस, कोडिङ तथा मेसिन लर्निङका कक्षा सञ्चालन गरेको छ, यतिलाई मात्र हेरेर काम हँुदै छ भनेर मख्ख पर्ने कि राजधानी बाहिर दूरदराजमा रहेका अन्य विद्यालयसम्म यसलाई पुर्याउने ? अहिले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ ।

स्थानीय तहले पनि आफ्ना विद्यालयमा स्तरीय विज्ञान प्रयोगशाला स्थापना गर्ने, कक्षाकोठामा मल्टिमिडियाको प्रयोग गर्ने लगायत काम गर्न सक्छ ।विद्यार्थीमा वैज्ञानिक मनोवृत्ति यत्तिकै आउने होइन, न यो जन्मजात नै हो ।

यो त उनीहरूलाई कस्तो वातावरणमा हुर्काइएको छ, कस्तो सन्दर्भ सामग्रीको प्रयोग गरेर कुन विधि र प्रविधिबाट पढाइएको छ भन्नेले निर्धारण गर्छ ।

हामीले अहिले छिमेकी देशले चन्द्रमामा रकेट पठायो भनेर त्यहाँको वैज्ञानिक र प्रविधिको तारिफ गरिरहँदा आफ्नै देशमा पनि त्यो स्तरका वैज्ञानिक छन् भनेर कहिले गर्व गर्ने ? तिनको ज्ञान र ज्ञानको भोकलाई कहिले खोजी गर्ने ?

हरेक दिन बिहान उठ्नेबित्तिकै सामाजिक सञ्जालमा हरियो पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि फोटो हाल्नेलाई शुभयात्राको शुभकामना टक्र्याएर देशमा केही भएन, युवा शक्ति पलायन भयो भनेर सत्तोसराप गर्नेबाहेक हामीले अरू केही जानेनौँ ।

विदेश पलायन भइरहेका बौद्धिक जमातलाई रोक्न के के काम सरकार र सरोकारवाला निकायबाट भयो ? हामीले आफ्नो ठाउँबाट के कस्तो भूमिका निभायौँ ? अब यी सवालतिर सोच्ने बेला भएन र ?

 

प्रतिक्रिया दिनुहोस्